काठमाडौं, १९ वैशाख । नेपाली फुटबल टिमका पूर्वराष्ट्रिय खेलाडी, राष्ट्रिय खेलाडी र ललितपुर जिल्ला फुटबल संघलगायत शनिबार गएको भूकम्प पीडितको सहयोगार्थ लागिपरेका छन् ।
टोली काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भूकम्पको मारमा परेकाहरूको सहयोग लागि बिहीबारदेखि खटिएका छन् । थ्रिस्टारका प्रशिक्षकसमेत रहेका अञ्जन केसी सम्मिलित टोलीले सितापाइला, गोदावरी, कार्यविनायक नगरपालिकामा अवस्थित चुनिखेल भक्तपुर र ललितपुरका क्षेत्रलगायत ठाउँमा खानेपानी, टेन्ट, खाना र औषधिलगायत समग्री वितरण गरेका छन् ।
पूर्वराष्ट्रिय खेलाडीको टोलीमा विकाससिंह क्षेत्री, अञ्जन केसीलगायत रहेका थिए । नेपाली फुटबलका राष्ट्रिय खेलाडीहरूमा सागर थापा, सञ्जीव राई र ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, सदस्य महेश महतलगायत लगायत रहेका छन् । टोलीले काठमाडौं उपत्यकामा दैनिक ५० हजार बराबरको सामग्री भूकम्पपीडितका लागि प्रदान गर्दै आएको छ । भूकम्पपीडितका लागि आवश्यक बजेट टोलीका प्रत्येक सदस्यबाट संकलन गरिएको र केही रकम अन्य व्यक्तिहरूले सहयोग गरेको फुटबलका पूर्वराष्ट्रिय खेलाडी अञ्जन केसीले जानकारी गराए । उनले अबको दिनमा भूकम्पको बढी प्रभावित क्षेत्र काभ्रे र सिन्धुपाल्चोकमा सहयोग गर्ने योजना रहे पनि आवश्यक बजेट नपुगेकाले केही साथीलाई राहत कोष संकलनका लागि अनुरोध गरिएको बताए ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पपीडितहरूप्रति गहिरो संवेदना प्रकट गरेका छन् । साथै, एन्फाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । विज्ञप्तिमा एन्फाले नेपालको भूकम्पपीडितप्रति संवेदना प्रकट र सहयोग गर्ने विभिन्न देशका फुटबल संघ र क्लबप्रति धन्यवाद व्यक्त गरेको छ । त्यस्तै, एन्फाले भारतको फुटबल संघले भूकम्पपीडितका लागि १७ लाख ६० हजार दिने घोषणा गरेको र एएफसी तथा फिफाले पनि सहयोग आवश्यक परे उपलब्ध गराउने बताएको विज्ञप्तिमार्फत जानकारी
गराएको छ ।
एन्फाले भने भूकम्पपीडितका लागि आवश्यक राहत कोष कुनै कार्यक्रममार्फत छिट्टै जारी गर्ने र जिल्ला फुटबल संघ, क्लब तथा खेलाडीलाई भूकम्पपीडितको सहयोगमा लाग्ने अनुरोध गरेको बताएको छ ।
प्रतिक्रिया