अभिनेत्री योहोको नेपाली खेलकुद र सडक सुरक्षामा चासो

Michelle_Yeoh_TIFF_2011_croकाठमाडौं, ६ वैशाख । अटोमोबाइल स्पोट्र्स एसोसिएसन (नासा) स्थापना भएको सात वर्ष भएको छ । यो सात वर्षको अवधिमा नासा खेलकुदका साथै सडक सुरक्षाको सवालमा उत्तिकै सक्रिय भयो । यसै नासाले सडक सुरक्षाका सवालमा सारेको कदमले ठूलो प्रभाव पारेको छ । नासाको यो गतिविधिलाई निरन्तरता दिने क्रममा दुई विश्वस्तरीय व्यक्तित्वलाई नेपालमा ल्याउने भएको छ ।

मोटर स्पोट्र्सको विश्वव्यापी संगठन फेडेरेसन इन्टरनेनसल डे अटोमोबाइल (एफआइए) का अध्यक्ष जियन ट्रट र विश्व चलचित्रकी चर्चित व्यक्तित्व मिचेल योहोे २३ अप्रिलका दिन नेपाल आउने भएका छन् । उनीहरू एफआइएको एसिया प्यासिफिक कांग्रेसका लागि नेपाल आउन थालेका हुन् ।
सानैमा मार्सल आर्ट तथा नृत्य सँगै सिकेकी योहोे विश्व चलचित्रकी विख्यात एक्सन नायिकाको रूपमा परिचित छिन् । सन् १९८५ को ‘एस म्याडम’, १९९३ को ‘द हिरोइक ट्राय’, ‘तायची मास्टर’, ‘विंग चुन’ र सन् २००५ मा प्रदर्शित ‘मेमोरिज अफ द गेइसा’ले उनलाई संसारकै लोकप्रिय एक्सन नायिकाको रूपमा स्थापित गरायो । चलचित्र समीक्षकले जसरी ब्रुस ली र ज्याकी च्यांग जीवन्त एक्सन अभिनेताको रूपमा चिन्छन् त्यसैगरी एउटा फरक शैलीकी एक्सन स्टारको रूपमा चित्रण गर्न थाले ।
एसियाको जन्म, हलिउड कर्मथलो र संसारभरको प्रसिद्धी योहोको जीवनको यथार्थ बनेको छ । मलेसियाका परिचित अधिवत्ता तथा राजनीतिज्ञ यो कियान टेक र ज्योनट योहोको छोरी योहोको कला जीवनको सुरुआत युरोपबाट भयो । १५ वर्षको उमेरमा आफ्ना अभिभावकसँगै इग्ल्यान्ड पुगेकी उनी क्रियटिभ आट्र्समा स्नातक गर्नुका साथै नाटकको अध्ययन पनि गरिन् ।
सन् १९८३ मा उनी फेरि मलेसियाको सांस्कृतिक दुनियाँमा फिर्ता भइन् । २१ वर्षको उमेरमा उनी लन्डनमै भएको कन्टेस्टमा सहभागी भई मिस मलेसिया हुन सफल भइन् । वेभ डिजाइनमा उत्तिकै राम्री, अभिनयमा सक्रीय, नृत्य जानेकी र मार्सल आर्ट बुझेकी यी होनहार अभिनेत्री ९० को दशकको सुरुआततिर नै संसारमा चम्कन थालिन् । जेम्स बन्डको श्रृंखलाको रूपमा रहेको ‘टुमरो नेभर डाइज’ १९९७ मा प्रदर्शन भएको थियो । यो चलचित्रले त उनलाई अझ माथिल्लो उचाइमा पु¥यायो । बाफ्टाबाट उनी ‘क्रचिङ टाइगरका लागि उत्कृष्ट नायिकाको अवार्ड पाउन सफल भइन् । सन् २००८ मा उनी हिडन ड्रागनका लागि बेस्ट एक्सन मुभी एक्ट्रेसको अवार्ड पाउन सफल भइन् ।
सुरुमा उनी ज्याकी चांगसँगै टेलिभिजनमा मोडलको रूपमा देखिन थालिन् । त्यसपछि उनी ‘एस म्याडम’, ‘द लेडी’ र ‘कराते किड’मा सफल भएपछि एक्सन फिल्ममा नयाँ ब्रान्डको रूपमा स्थापित भइन् ।
यी अभिनेत्री सन् २००७ मा अफ्रिकामा ‘मेक रोड सेफ’ कार्यक्रमका लागि सद्भावना राजदुत नियुक्त भइन् । यसक्रममा उनी थुप्रै डकुमेन्ट्रीमा संलग्न भइन् । त्यसको एक वर्षपछि विश्वस्तरमै यो जिम्मेवारी पाएपछि उनी भियतनाम र थाइल्यान्डमा हेल्मेट लगाएर सडकमा उपस्थित हुन थालिन् । उनले अफ्रिका एसिया र दक्षिण अमेरिकामा सडक सुरक्षाका सवालमा उत्तिकै सक्रियता जगाइन् । यसपछि संयुक्त राष्ट्र संघले सन् २००८ मा भियतनाममा सडक सुरक्षासम्बन्धी कार्यक्रमको तय ग¥यो । सन् २००९ मा उनले सडक सुरक्षासम्बन्धी डकुमेन्ट्री ‘द टर्निङ प्वाइन्ट’ निर्माण गरिन् । उनले सडक दुर्घटना अन्तर्राष्ट्रिय स्तरमै व्यक्तिगत स्वास्थ्य र विकासको सवालमा प्राथमिकताका विषय बन्नुपर्ने कुरामा वकालत गरिरहिन् ।
सन् २००९ देखि उनले सडक सुरक्षा दशकका लागि अभियान नै चलाइन् । फलस्वरूप राष्ट्र संघले सन् २०१० को दशकलाई सडक सुरक्षा दशकका रूपमा लागू गर्ने निर्णय ग¥यो ।
सडक दुर्घटनाका कारण संसारमा हरेक ६ सेकेन्डमा एक व्यक्ति गम्भीर घाइते हुने गरेका छन् । वार्षिक १३ लाख व्यक्तिले सडक दुर्घटनाकै कारण ज्यान गुमाउने गरेका छन् ।
नेपालमा आउने अर्का व्यक्तित्व टोड सन् १९८१ सम्मका परिचित ड्राइभर हुन् । थुप्रै मोटर रेसमा उपाधि जितेका उनले अहिले मोटर स्पोट्र्समा चर्चामा रहेको पाउगेट टेलबोट स्पोर्टको डिजाइन गरे । हाल मोटर स्पोट्र्समा प्रभाव रहेको छ । उनको कम्पनीको सबैभन्दा महत्वपूर्ण सफलता भनेको चार पटकको पेरस डकार ¥यालीको उपाधि हो ।
सन् १९९२ मा उनी माउगेन्ट स्पोर्ट ग्रुपका मोटर स्पोर्टका निर्देशक भए । उनको कम्पनीले तत्कालै विश्व स्पोट्स कार च्याम्पियनसिपको उपाधि जित्यो । यसपछि उनी फरारे रेसिङ डिभिजनका टिम प्रिन्सिपल पनि भए । उनकै नेतृत्वमा फरारेले १४ पटक फर्मुला वान, एक विश्व च्याम्पियनसिप र १०६ ग्रान्डप्रिक्सको उपाधि जितेपछि टोडको नेतृत्व संसारभर चर्चामा रहन थाल्यो ।
यी दुई विश्व स्तरीयहस्ती तीन दिन नेपालमा रहनेछन् । तीन दिनको अन्तरालमा रोड सेफ्टी स्टेक होल्डरको बैठकमा सहभागिता जनाउने छन् । नायिका योहोको हकमा भने नेपाल बसाइको दोस्रो दिन सक्रिय रहने ‘सेप किड लाइफ’ कार्यक्रम नै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यो कार्यक्रमले नेपाली जनस्तरमा सडक सुरक्षासम्बन्धी थप सचेतना वृद्धी हुनेमा नाका महासचिव गोविन्द भट्टराई विश्वस्त छन् । ‘हाम्रो अभियान आम व्यक्तिमा जागरण पैदा गराउनु पनि हो । उनको उपस्थितिले धेरै नै अर्थ लाग्छ भन्ने हामीलाई लागेको छ ।’ यसै क्रममा नेपालका चलचित्रकर्मीसँगको उनको भेटघाटले नेपाली रंगमञ्चमा रहेकालाई पनि सडक सुरक्षाको अभियानमा तान्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया