थ्री एक्स फिल्म अस्वीकार

Shahid-Kapoorमुम्बई । फिल्म ‘हैदर’ दमदार भूमिकामा अभिनय गरेर चर्चित बनेका बलिउड अभिनेता शाहिद कपुरले केन घोषले निर्देशन गर्न लागेको फिल्म ‘एक्सएक्सएक्स (थ्री एक्स)’ मा अभिनयका लागि आएको प्रस्तावलाई अस्वीकार गरेका छन् । फिल्मलाई एकता कपुरले बनाउन लागेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सेक्सको विषयमा निर्माण गरिएका कुनै पनि फिल्ममा काम नगर्ने उनको पूर्वयोजना अनुरूप ‘थ्री एक्स’ लाई अस्वीकार गरेका हुन् ।
शाहिदले अस्वीकार गरेपछि निर्देशक घोष निकै चिन्तित बनेका छन् । ‘फिल्मका निर्देशक र कलाकारबीचको सम्बन्ध राम्रो छ, तर शाहिदले एरोटिक किसिमको फिल्ममा अभिनय नगर्ने बताएपछि निर्देशक निराश बनेका छन्,’ स्रोतले भनेको छ । फिल्मले पाँच अलग–अलग शारीरिक सम्बन्ध राखिएको विषयलाई कथात्मक रूपमा प्रस्तुत गर्नेछ ।
केही समयअघि सार्वजनिक भएको नयाँ खबरअनुसार एकताले कलाकारहरूसँग कामको सम्झौता गर्दा सम्झौता पत्रमा फिल्ममा नग्न हुनुपर्ने शर्त पनि राखेकी थिइन् । फिल्मको सुटिङ भइरहँदा फिल्ममा नग्न दृश्य दिन या अश्लील संवाद बोल्नबाट कलाकार पछि सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनले सुटिङअघि नै कलाकारसँग कडा शर्त राखेकी हुन् ।
स्मरण रहोस्, एकताको प्रोडक्सन हाउसले ‘रागिनी एमएमएस २’ बनाउँदा फिल्मका केही सेक्समा आधारित सिनको सुटिङका क्रममा सन्नी लियोनले उक्त काम गर्न अस्वीकार गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया