काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टमा पहिलोपटक नेपाली फिल्म सहभागी हुने भएको छ । २१ वर्षदेखि फिल्म फेस्टिभल गर्दै आइरहेको फेडरेसन अफ इन्डो अमेरिकनले पहिलोपटक नेपाली कलाकार र फिल्मलाई सहभागी गर्न लागेको हो । फेस्टिभल आगामी अगस्ट ७ देखि १६ सम्म चल्नेछ ।
आयोजकले गोरखा इन्टरनेसनल गु्रप एलएलसी अमेरिका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई फेस्टिभलको ग्लोबल डाइरेक्टरमा मनोनीत गरेको छ । थापालाई फेडरेसन अफ इन्डो अमेरिकन सानफ्रान्सिस्कोका अध्यक्ष आरके झाप्राले सम्मान गर्दै गत महिना ग्लोबल डाइरेक्टरमा मनोनीत गरेका थिए ।
फेस्टिभलमा विश्वका ३० भन्दा बढी देशका छोटा, फिचर र डकुमेन्ट्री फिल्मले सहभागिता जनाउने आयोजकले जनाएको छ । नेपालबाट अहिलेसम्म ‘चकलेट’ र ‘टाटा बाइबाइ’ ले सहभागिता जनाउने निश्चित भएको निर्देशक थापाले जानकारी दिए । ‘अरू नेपाली फिल्मका विषयमा पनि कुराकानी भइरहेको छ । महोत्सवमा सुनिल थापा र पूजना प्रधान सहभागी हुने निश्चित भएको छ,’ उनले भने ।
आफू निर्देशक मनोनीत भइसकेपछि नेपाली फिल्मलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली फिल्म र कलाकारलाई सहभागिता गराउन लागेको उनले बताए । ‘दुई दशक पुरानो फेस्टिभलमा यो नेपालको उपस्थिति मात्र हो, पछि यसको निरन्तरता हुन्छ,’ उनले भने ।
१० दिनसम्म चल्ने महोत्सवमा तीन सयवटा फिल्म, सयवटा फिचर फिल्म प्रदर्शन हुनेछन् । १५ देशका जुरीहरूको निर्णयबाट उत्कृष्ट फिल्म छानिएर पुरस्कृत गर्ने थापाले बताए । (सौस)
प्रतिक्रिया