सरकारी रकममा भारतीय दूतको ‘जयजयकार’

1वीरगञ्ज, ५ वैशाख । पटकपटक विवादमा मुछिएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास अहिले पुनः चर्चामा आएको छ ।

विगत केही महिना अगाडि वीरगञ्जको भिष्वा होटलमा मधेसमा आगो बाल्नुपर्छ भन्दै रात्री भोजको आयोजना गरी विभिन्न राजनीतिक दलका नेतालाई बोलाएर दुतावास विवादमा मुछिएको थियो । महावाणिज्य दुत अन्जु रञ्जन आएदेखि पुनः मधेसी दलका नेताको प्रभाव बढेपछि पुनः दुतावास विवादमा परेको छ ।
संविधानसभाका सभासद्हरूले कुटनीतिक मर्यादाक्रमलाई बेवास्ता गर्दै वैदेशिक कुटनीतिज्ञलाई जथाभावी आफैंले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि महावाणिज्य दुत अन्जु रञ्जनलाई बनाउने गरेका छन् ।
बिहीवार नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालय श्रीपुरमा मधेसी जनअधिकार फोरम नेपालका सभासद् श्रवणकुमार अग्रवालले संसदीयकोषबाट विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण कार्यक्रममा भारतीय महावाणिज्य दुतावास वीरगञ्जकी महावाणिज्य दुत अन्जु रंजनलाई कार्यक्रममा प्रमुख अतिथि बनाएपछि फेरि विवाद उत्पन्न भएको छ । कार्यक्रममा उनको जयजयकार समेत गरिएको थियो ।
मधेसी जनअधिकार फोरम नेपालका जिल्ला सचिव उमेशलाल सहनीले उपस्थित २२ वटा सरकारी तथा समुदायिक विद्यालयका विद्यार्थीलाई महावाणिज्य दुतावासका महावाणिज्य दुत श्रीमती रंजनको जबरजस्ती जयजयकार गर्न लगाएका थिए ।
महावाणिज्य दुतावासका महावाणिज्य दुत भनेको नेपाल सरकारको दाँजोमा उपसचिव स्तरको कर्मचारी सरह हुन् । अझैं भनौँ प्रमुख जिल्ला अधिकारी स्तरभन्दा तल्लो दर्जाको कर्मचारी । तर, यहाँका विभिन्न राजनीतिक पार्टी तथा विभिन्न संघसंस्थाले अहिले उनलाई नेपालकै सर्वश्रेष्ठ व्यक्तिकै रूपमा हरेक कार्यक्रममा सम्मान दिनु र प्रमुख अतिथि बनाउनुले हाम्रो भाषा, संस्कृति र नेपालको राष्ट्रियता माथि ठाडो हस्तक्षेप भएको नेपाली कांग्रेसका नगर सभापति साबुदिन मिया बताउँछन् ।
उनले भने, ‘कुटनीतिज्ञ हिसाबले हेर्ने हो भने यहाँकै समाजसेवी, प्रहरी, प्रशासन वा पार्टी सभापतिहरूलाई राखी कार्यक्रम गर्नुपर्ने हो तर कहाँकहाँबाट भारतीय दुतावासलाई हालीमुहाली गर्न लगाउँछन् र स्वार्थको राजनीति गर्छन् ।’
यस दुतावास पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको पालामा खोलिएको हो । सुरुआतदेखि नै विवाद हुँदै आएको यस दुतावासले विशुद्ध रूपमा नेपाल र भारतको व्यापार गर्नका लागि खोल्न दिइएको हो । तर, राजनीतिक दलले त्यहाँका कर्मचारीलाई प्रमुख अतिथि बनाएर सम्मान दिनु राजनीतिक तवरले राम्रो नभएको फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्रलाल नेपालीले बताए ।
नेपाल सरकारको रकममा भारतीयको जयजयकार गरेकै कारण यहाँका राजनीतिक दलको विरोध भएको तरुण दलका जिल्ला सचिव सुधुर कर्ण बताउँछन् । नेपालको राजनीति धेरै सस्तो भयो यसले राजनीति गर्नेलाई उचाइमा ल्याउँदैन यसले भारतलाई पनि राम्रो नगर्ने फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्रलाल नेपाली बताउँछन् । उनले भने, यस प्रकारको गतिविधिले निश्चित रूपमा नेपालको राजनीति ह्रास भएको हो । यिनको चाकरी गरेर नै ठूलो नेता भइन्छ भन्ने जुन सोच विकसित भइरहेको छ यो कुनै पनि हालतमा स्वस्थ्यकर होइन ।
नेपालमा भौतिक पुर्वाधार निर्माणका लागि भारत सरकारले अनुदान दिँदा सिधै निवेदन संकलन गर्ने र परियोजना छनोट गर्न थालेपछि अनावश्यक रूपमा भारतीय महावाणिज्य दुतावासको प्रभाव बढ्दै गएको हो । परियोजना आफ्नो पक्षमा पारिदिने भनेर नेतादेखि समाजसेवीहरू महावाणिज्यदुतावासको कार्यक्रममा जाने र बोलाउने गर्न थालेका हुन् ।

प्रतिक्रिया