‘हत्केलामा आगो’ राख्ने बज्रको साहस

Hatkelama-agoआगो राखेर हत्केलामा मुठी कस्न सक्छौ ?
या आफैंले आफ्नो पेटमा छुरा धस्न सक्छौ ?
उल्लिखित प्रश्नहरू गजलका सेर भएर हाम्राअगाडि सहज उभिए पनि वर्तमानको गम्भीर सत्य ओकलिएका सिर्जना हुन् यी । समस्याग्रस्त वर्तमान, उत्पीडन, पक्षपात र अन्योलबीच दुनियाँलाई गरिएको यो प्रश्न स्रष्टा बज्रकुमार थुलुङ राईले आफ्नो कृति ‘हत्केलामा आगो’भित्र प्रस्तुत गरेका छन् । शृंगारिकताको पृष्ठभूमिमा सुरु भएको गजलको विकास हाल समसामयिक वस्तुतामा हिँड्न थालिसकेको पाइन्छ । गजलकार बज्रकुमारका गजल सेरहरूले पनि त्यही फराकिलो यात्रा अघि बढाएको पाइन्छ, उनको कृति पढ्दा ।
खोटाङमा जन्मिएर भोजपुर हुँदै हाल आएर हङकङमा आफ्नो सिर्जनात्मक दिनहरू बिताइरहेका गजलकार बज्रकुमारले सत्य–विजय, चाहना–कामना, प्रेम–प्रणय–बिछोड, राजनीतिक विकृति आदिलाई आफ्नो विषय बनाएका छन् । कृतिको पहिलो गजलमै उनले लेखेका छन् –
सबैको जीवन सुखमय होस् त्यहाँ
स्वर्णिम समयको उदय होस् त्यहाँ
स्रष्टाका गजलहरू हेर्दा कहीँ विकृतिलाई व्यंग्य त कतै यथार्थको चित्रण पाइन्छ । वर्गीय असमानताको यथार्थ उनले यसरी लेखेका छन् –
धनीमानी झन्–झन् धनी बन्दै गा’को रै’छन्
गरिब चाहिँ अझै गरिब भा’को देखें गाउँमा
दुई दशकअघि नेपालका पूर्वी पहाडी ग्रामीण भेगहरूमा सिर्जनात्मक गतिविधिमा सहभागी हुने गरेका स्रष्टा बज्रले एक सय सातवटा गजल यस कृतिमा समावेश गरेका छन् । हाल आएर देशबाहिर रहे पनि स्वदेशप्रति गम्भीर चासो र भावना राख्ने उनले नेपालीलाई यथार्थबाट सचेत गराउन एक सेर यसरी लेखेका छन् –
नयाँ नेपालको दल पनि बिक्रीमा छ
बलिदानको प्रतिफल पनि बिक्रीमा छ
सुख–दुःख, मिलन–बिछोड, जाँगर–नीरसताजस्ता मिश्रित भावना उनको सिर्जनामा पाउन सकिन्छ । यथार्थता, सचेतता ओकल्दै उनले केही नीरसतालाई समेत सम्बोधन गर्न भ्याएका छन् । उनी भन्छन् –
जिन्दगीका सारा युद्ध हारेर बाँच्दै छु
बाँकी रहेका केही आँसु झारेर बाँच्दै छु
अर्को गजलमा नेपालीको तितो सत्य यसरी उल्लेख छ–
गाउँबाट सहर पस्ने लहर भोको भेटें
विवशताको दीर्घ रोगी सहर भोको भेटें
खासमा भन्ने हो भने हाम्रा भोगाइ पनि स्रष्टाले गजलमा व्यक्त गरेजस्तै छ ।
विविधताको गहकिलो प्रस्तुति रहेको गजल–कृति ‘हत्केलामा आगो’भित्रका रचना स्वादिष्ट र पाठकका मन छुने खालका छन् । स्रष्टाको पहिलो कृति भए पनि यो कृतिलाई उत्कृष्टको लहरमा राख्न सकिन्छ । बगैंचा पब्लिकेसन हङकङले वि.सं. २०७१ मा बजारमा ल्याएको यो कृति साहित्य जगतमा एउटा दह्रो उपस्थिति बनेको छ ।
सिर्जनात्मक गजल उत्पादनका लागि काफिया र रदिफमा अझ ध्यान पु¥याउन सके र कहीँ–कहीँ आभास हुने ठाडो भाषा–शैलीबाहेक पुस्तक हरेक तवरले गहन छ र साजसज्जामा पनि उत्कृष्ट छ ।

प्रतिक्रिया