शिक्षक र प्रशिक्षकमा सफल

kumar-raiकाठमाडौं, ४ चैत । सानो कद, ढाका टोपी, खेलमा शतप्रतिशत ध्यान र विजयी आदत । लामोसमयको प्रतिबद्धता र समपर्णका प्रतिक कुमार राई अहिले नेपाली भलिबलमा परिचित छन् । न्यु डाइमन्ड स्पोट्र्स एकडेमीका भलिबल प्रशिक्षक कुमार पुरानो नैकापस्थित न्यु डाइमन्ड एकेडमीका प्रधानध्यापकसमेत हुन् । शिक्षा क्षेत्रका साथै खेलमा पनि उत्तिकै योगदान दिन सफल उनले चार राष्ट्रिय महिला भलिबल खेलाडी तयार गरे । जसमा दुई जना हाल उत्कृष्ट खेलाडीका रूपमा परिचित छन् ।

२०२४ सालमा संखुवासभामा जन्मेका राईको परिवार निकै मध्यम वर्ग भएकाले खेती किसानीमा आफ्नो जिविकोपार्जन गर्थे । उनको परिवारले उनलाई शिक्षा दीक्षा दिएर एक राम्रा व्यक्ति बनाउन निकै कठिनाइसमेत भोग्नुपरेको थियो । ती दुःख भोगाइका बीच हुर्किएका उनले अहिले भिन्न परिचय बनाएका छन् । दक्षिण एसियामा नेपाली महिला भलिबल हाबी हुनुपर्छ र भारतका खेलाडीको ब्लकभन्दा माथिबाट मेरा खेलाडीले स्पाइक गर्न सक्नुपर्छ भन्ने अहिले उनको लक्ष्य छ । न्यु डायमन्ड एकेडेमी प्रशिक्षक कुमार राईले बोलिरहँदा उनको अफिस कोठामा देखिएको ट्रफीले समेत प्रस्टै बताउँथ्यो कि भलिबलमा उनले धेरै प्रतियोगिता जितिसकेका छन् । जुन ट्रफी उनका प्रशिक्षणमा रहेका महिला टिमले हासिल गरेको उपलब्धि हो ।
ती ट्रफी नै उनको पृथक् परिचय दिन पर्याप्त पनि छन् । उनको चतुर प्रशिक्षण क्षमताकै कारण न्यु डायमन्ड एकेडेमीले ससाना खेलाडीलाई मैदानमा उतार्दै ठूला टिमलाई पराजित गर्ने गरेको छ ।
नेपालमे स्टारडमको छवि बनाएका खेलाडी उत्पादनका बाबजुद उनी सन्तुष्ट भने छैनन् । उनी थप प्रतिभावान खेलाडी उत्पादन गर्ने सपनामा अहिले पनि सक्रिय छन् । यसकारण उनका शिष्यका लागि आदरणीय पनि छन् । ‘यो प्रगतिको सम्पूर्ण श्रेय कुमार गुरुलाई जान्छ । किनकि, उहाँले मलाई भलिबल खेल्न र मलाई यहाँसम्म ल्याउन ठूलो भूमिका रहेको छ’ पुसमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि १३ वर्षकै उमेरमा सफल ओपन स्पाइकर बनेकी प्रतिभा मालीले प्रशिक्षक कुमार राईबारे यस्तो प्रतिक्रिया थिइन् । बाल्यकालमा परिवारको सहयोग नहुँदा पनि लुकीलुकी भलिबल खेलेका राई त्यो बेला जुत्ताको मोजाको बल बनाएर खेल्ने गर्थे । बुबा लाहुरे भए पनि कठिनताका साथ बाल्यकाल बिताएका राईले स्कुल पढ्न दुई घन्टाको पैदल हिँड्नुपरेको सुनाए । त्यति हुँदाहुँदै पनि अध्ययन र खेललाई उनले सँगै लगेका थिए । वीरेन्द्र सिल्डसम्मकोे खेल खेलेका उनी राष्ट्रिय टिमको छनोटमा भने होचो कदका कारण टिममा परेनन् । संखुवासभामै एसएलसीसम्म अध्ययन गरेर उच्च शिक्षाका लागि ०४५ सालमा काठमाडौं छिरेका राईले रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिको पनि केही स्वाद चाखेका थिए । उनी त्यो बेलाको याद गर्दै भन्छन्, ‘ढुंगामुढा, इँटा त कति हानियो र खाइयो ?’ तर, उनी राजनीतिबाट टाढा हुँदै शिक्षण पेसामा आबद्ध भए ।
आइए सकेपछि उनी ०४७ बाट शिक्षण पेसा सुरु गरेका थिए । उनले ०६१ सम्म ब्राइट फ्युचर बोर्डिङ स्कुलमा अध्यापन गराए । शिक्षण पेसामा आबद्ध भएपछि उनको बाटो भलिबलतर्पm मोडियो । सुरुमा खेलप्रतिको मोह भएका उनले स्कुलमा पनि शिक्षकको टिम बनाएर प्रतियोगितामा सहभागी जनाउँथे । उनी भन्छन्, ‘त्यतिबेला भलिबल एकदमै बढी खेलिने खेलमा पर्दथ्यो ।’ ब्राइट फ्युचरमा रहँदा उनले पुरुषलाई भलिबल खेलाउन सुरु गरे । तर, नतिजा राम्रो नआएपछि उनले प्रशिक्षण गराउन छाडे ।
०६२ सालबाट नयाँ व्यवस्थापनका साथमा उनले न्यु डायमन्ड एकेडेमी स्कुलको स्थापना गरे । स्कुलका व्यवस्थापन सम्हालेका उनले ०६४ सालबाट पुनः आफ्नै स्कुलको ग्राउन्डमा विद्यार्थीलाई भलिबल सिकाउन सुरु गरे । सुरुमा उनले केटाहरूलाई भलिबल सिकाए पनि पुरुषको स्तर नसुध्रेपछि केटीहरूमा केही गर्न सकिन्छ कि भनेर महिलातर्पm प्रशिक्षण गराउन सुरु गरे । सुरुमा उनले ०६३ सालमा भर्ना हुन आएकी रमिला तण्डुकारलाई भलिबल खेल्न सिकाएका थिए । रमिला एक समयमा नेपाली महिला भलिबलकी सफल स्पाइकर समेत हुन् । त्यसपछि उनले अनेक अवरोध झेल्दै भलिबललाई प्राथमिकता दिँदै टिमको प्रशिक्षणतर्पm मोडिए ।
उनलाई भलिबलबाट अहिले राम्रो प्रतिफल निस्किएकोमा आपूmलाई आत्मसन्तुष्टि मिलेको बताउँछन् । ‘कुमारले भलिबल मात्रै खेलाउँछ, खेलाडीको भविष्य छैन भन्नेहरू पनि निस्किए’ । कुमार भन्छन्, ‘तर पछिल्लो समय भलिबल खेलेर पनि केही गर्न सकिँदो रहेछ भन्ने देखाएपछि उनीहरूको मुख टाल्ने काम भएको छ ।’ उनै कुमारले जन्माएका खेलाडी नै अहिले राष्ट्रिय टिममा स्थान बनाइसकेका छन् । भर्खरै सम्पन्न भएको प्रथम दक्षिण एसियाली खेलकुदमा दोस्रो स्थान हात पारेको नेपाली टिमको सदस्यमा उनैले जन्माएका प्रतिभा माली, रमिला तण्डुकार र एपिएफबाट खेल्ने रेश्मा भण्डारी रहेका थिए ।
सुरुमा केही नजानी भलिबल सिकाउन थालेका उनले भलिबलको ए लेभल कोर्स गरेका छन् । उनलाई सफल प्रशिक्षक बनाउने प्रेरणा भने चिनियाँ प्रशिक्षक झाउ गुरूबाट पाएका थिए । उनले नेपाली भलिबलमा नयाँ प्रयोग समेत गर्दै आएका छन् । उनले टिमका लागि सर्ट क्विक स्पाइके प्रयोगमा ल्याएका थिए । आपूmलाई भलिबलले मात्र चिनाएको उल्लेख गर्दै होचा कदका कुमार भन्छन्, ‘भलिबलले नै मलाई कुमार गुरु भनेर चिनायो, साथै असल शिक्षक पनि ।’ भलिबल खेलकै लागि मरिमेटेका उनले विदेशमा जान पाउने सुनौलो मौकालाई समेत लत्याउँदै भलिबलमै केही गरेर देखाए ।

प्रतिक्रिया