घट्दो विद्यार्थी सङ्ख्या चुनौती बन्दै

Student-Nepalकाठमाडौं, ३ वैशाख । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बर्सेनि प्रयास गरे पनि घट्दो विद्यार्थी सङ्ख्या गम्भीर चुनौतीका रूपमा देखिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याको घट्दो क्रमले त्यहाँ गरिएको लगानी उपलब्धिपूर्ण नबनेको देखिँदैछ ।

विद्यार्थीको घट्दो सङ्ख्यालगायतका कारण देखाएर पछिल्ला वर्षमा राजधानीसहित देशका विभिन्न जिल्लामा विद्यालयहरू एकापसमा गाभ्न क्रम सुरु भएको छ ।

सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको विकर्षणलाई न्यून गर्न शिक्षा मन्त्रालयले सामुदायिक विद्यालय लक्ष्यित विभिन्न कार्यक्रम ल्याए पनि अपेक्षित सफलता हासिल हुन सकेको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्दै विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन मन्त्रालय निरन्तर प्रयासरत रहेको बताए ।

उनले भने, “सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षणका लागि समग्र शैक्षिक गुणस्तरीयता बढाउने कुरालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । सरकारी विद्यालयमा भर्ना अभियान, बालमैत्री शिक्षा कार्यक्रमजस्ता धेरै कार्यक्रम जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालनमा आएका छन् ।”

शैक्षिक गुणस्तरीयता प्रश्न उठाएर ग्रामीण भेगका अभिभावक पनि नजिकको सरकारी विद्यालय छोडेर टाढाका निजी विद्यालय रोज्ने प्रवृत्ति देखिएको छ ।

केही सरकारी विद्यालयको लापर्बाहीले पनि सम्पूर्ण विद्यालयलाई अभिभावक तथा विद्यार्थीले गलत ढङ्गले बुझ्ने गरेको काठमाडौं पश्चिम भेगस्थित विद्या मन्दिर मावि नैकापका प्रधानाध्यापक माधव गौतमको भनाइ छ ।

सरकारी विद्यालय छाड्ने र निजी विद्यालयतर्फ ओइरिने प्रवृत्तिका कारण विगत केही वर्षअघिसम्म १८५ जना मात्रै विद्यार्थी रहेको उक्त विद्यालयमा पछिल्लो समयमा विद्यार्थी तथा अभिभावक आकर्षित बन्दै गएका छन् । उक्त माविमा हाल ३१२ सङ्ख्यामा विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक गुणस्तरीयतालाई उच्च प्राथमिकतामा राख्दै त्यसका लागि विगत केही वर्षयता विद्यालयले विभिन्न किसिमले आफ्नो सक्रियता बढाउँदै गएका कारण विद्यार्थी सङ्ख्या बढेको हो ।

“सरकारी विद्यालयप्रतिको नकारात्मक दृष्टिकोण, विद्यालयमा अङ्ग्रेजी माध्यमको कम प्रयोग, सरकारी विद्यालयमा पढाउँदा प्रतिष्ठा नै घट्ने नकारात्मक सोच आदिले विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयप्रतिको विकर्षण बढेको गौतमले बताए ।

सरकारी विद्यालयमा बढ्दो अनाकर्षणलाई कम गर्न विगत दुई वर्षयता सरकारले विभिन्न विद्यालयमा प्राविधिक विषयका कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
प्राविधिक विषय अध्यापन गराइने विद्यालयमा भने ती विषयका कारण विद्यार्थी आकर्षित बनेका छन् ।

कीर्तिपुरस्थित जनसेवा उच्च माविमा सुरु गरिएको इलेक्ट्रोनिक्स इन्जिनियर विषय पढ्न निर्धारित कोटामा भर्ना हुन विद्यार्थी तथा अभिभावक निकै लालयित हुने गरेको उक्त विद्यालयका शिक्षक राजेन महर्जनले बताए ।

प्रतिक्रिया