जाजरकोटमा थप क्षति हुन नपाओस् : प्रधानमन्त्री

sushil-koiralaकाठमाडौं, ३ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रालयलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखा प्रमुख डा बाबुराम मरासिनीसहितको टोलीलाई प्रधानमन्त्री कार्यालय बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

‘महामारी रोक्न राजधानीबाट पनि विशेषज्ञहरुको टोली पठाउनुहोस्,” प्रधानमन्त्री कोइरालाले भने, ‘थप क्षति हुन नपाओस् ।’
प्रधानमन्त्रीले स्वास्थ्यकर्मीहरु खटाइएको स्थानमा नजाने प्रवृत्तिले दुर्गम स्थानका नेपालीले सामान्य उपचारयोग्य रोगबाटै असामयिक रुपमा जीवन गुमाउनुपरेको उल्लेख गर्दै मन्त्रीसहितको टोलीलाई स्वास्थ्य जनशक्तिलाई खटाएको स्थानमा कार्यरत राख्ने उपयुक्त प्रबन्ध गर्न पनि निर्देशन दिए ।

जाजरकोटको रोग फैलिएको क्षेत्रमा स्थलगत भ्रमण गरी बिरामीको परीक्षण र खकार, रगत, दिसा पिसाबको नमुना लिई फर्केका टोलीको नेतृत्व गरेका मन्त्री अधिकारीले सो क्षेत्रमा फैलिएको रोग र नियन्त्रणका प्रयासबारे जानकारी दिएका थिए।

सो अवसरमा विभागका महानिर्देशक डा उप्रेतीले सो क्षेत्रमा फैलिएको रोग स्वाइन फ्लु भएको प्रमाणित भएपछि काठमाडौँबाट विशेषज्ञको दुई टोली पठाइसकिएको पनि बताए । उनका अनुसार अहिले क्षेत्रीय जनस्वास्थ्य निर्देशकको नेतृत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । नेपाली सेना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक÷एक स्वास्थ्य टोली खटिइसकेको छ ।

जिल्ला अस्पतालको दरबन्दीमा रहेका चार जना एमबिबीएस डाक्टरहरु पनि खटिएका छन् । आजै चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक टोली पनि जाजरकोट पुगेको छ ।

स्वाइन फ्लुको रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनको एक टोली पनि जाजरकोटमा खटिएको छ । सो अवसरमा स्वाइन फ्लुको रोकथाम र नियन्त्रणका लागि उपयोग हुने एक लाख ट्याब्लेट आजै आइपुग्ने भएको छ ।

प्रतिक्रिया