जिडिपी रेमिट्यान्समा नेपाल विश्वमै तेस्रो

moneyकाठमाडौं, ३ वैशाख । वैदेशिक रोजगारीमा जाने कामदारहरूले पठाएको रकम (रेमिट्यान्स) ले देशको कुल ग्रार्हस्थ उत्पादनमा सहयोग पु¥याउने विश्वको तेस्रो नम्बरमा नेपाल परेको छ । नेपाल विश्वमै रेमिट्यान्सले देशको जीडीपीमा बढी योगदान गर्नेहरूको सूचीमा तेस्रो स्थानमा परेपछि देश रेमिट्यान्सले धानेको प्रस्ट भएको छ ।

सन् २०१३ मा विश्वमा भएको रेमिट्यान्स आप्रवाहलाई आधार मानेर विभिन्न देशको जीडीपीमा त्यस देशमा भित्रिने रेमिट्यान्सको हिस्साको अध्ययन गर्दा यो तथ्यांक सार्वजनिक भएको हो । नेपालको जीडीपीमा रेमिट्यान्सको योगदान २८ दशमलव ८ प्रतिशत रहेको छ । सन् २०१३ मा नेपालको जीडीपीको आकार १५ खर्ब रुपैयाँको थियो भने यस वर्ष चार खर्ब रुपैयाँ वृद्धि भई १९ अर्ब रुपैयाँ पुगेको छ ।
ताजकिस्तानको जीडीपीमा रेमिट्यान्सको योगदान सबैभन्दा धेरै रहेको छ । ताजकिस्तानको जीडीपीमा रेमिट्यान्सको ४८ दशमलव ८ प्रतिशतको योगदान रहेको छ । दोस्रोमा किर्किज रिपब्लिक छ । किर्किजको जीडीपीमा रेमिट्यान्सको ३१ दशमलव ५ प्रतिशत योगदान रहेको तथ्यांक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले उल्लेख गरेको छ ।
त्यसैगरी, माल्दोवाको जीडीपीमा २४ दशमलव ९ प्रतिशत, टोङ्गाको २४ दशमलव ५ प्रतिशत, हैटीको २१ दशमलव १ प्रतिशत, अरमानियाको २१ दशमलव १ प्रतिशत, गाम्बियाको २० प्रतिशत, लेथोसोको १९ दशमलव ८ प्रतिशत र सामोयाको अर्थतन्त्रमा रेमिट्यान्सको १९ दशमलव ७ प्रतिशत योगदान रहेको छ ।
श्रीलंकाको जीडीपीमा रेमिट्यान्सको योगदान ९ दशमलव ६ प्रतिशत, बंगलादेशको रेमिट्यान्सको योगदान ९ दशमलव २ प्रतिशत, पाकिस्तानको रेमिट्यान्सको योगदान ६ दशमलव २ प्रतिशत रहेको छ । त्यसैगरी, अफगानिस्तानको जीडीपीमा २ दशमलव ६ प्रतिशत, भुटानको शून्य दशमलव ७ प्रतिशत र माल्दिभ्सको जीडीपीमा रेमिट्यान्सको शून्य दशमलव १ प्रतिशत योगदान छ । आर्थिक वर्ष ०७०/७१ मा विभिन्न मुलुकबाट नेपालमा चार खर्ब २८ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा मलेसियाबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ९ अर्ब ९२ करोड ७२ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो देशभित्र भित्रिएको कूल रेमिट्यान्सको २५ प्रतिशत हो । त्यस्तै, रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा साउदी अरब रहेको छ । साउदीमा रहेका नेपाली कामदारले गत वर्ष ८५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ नेपाल पठाएको तथ्यांक बैंकले सार्वजनिक गरेको छ । कतारबाट गत वर्ष ७२ अर्ब दुई करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
संयुक्त अरब इमिरेट्स (दुबई) बाट ५३ अर्ब ५५ करोड दुई लाख र अमेरिकाबाट ४५ अर्ब २९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जापानबाट १६ अर्ब ३४ करोड १२ लाख, बहराइनबाट १० अर्ब ८० करोड ५९ लाख, कुबेतबाट ७ अर्ब २४ करोड ६० लाख, बेलायतबाट पाँच अर्ब ८० करोड ८४ लाख, क्यानडाबाट १ अर्ब ६७ करोड २४ लाख, कोरियाबाट १ अर्ब ४६ करोड ३१ लाख, अष्ट्रेलियाबाट ९८ करोड ५० लाख, लेबनानबाट ७४ करोड ७१ लाख, इजरायलबाट ५० करोड ४७ लाख र अन्य मुलुकबाट १६ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल भित्रिएको कूल रेमिट्यान्समध्ये रेमिट्यान्स कम्पनीहरूबाट दुई खर्ब ६५ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ र वाणिज्य बैंकहरूबाट एक खर्ब ६२ अर्ब ८७ करोड २७ लाख रुपैयाँ भित्रिएको छ । त्यसैगरी, मनी चेञ्जर कम्पनीबाट ११ अर्ब ६४ करोड, ट्रेकिङ एजेन्सीबाट ७ अर्ब ५ करोड, होटलमार्फत तीन अर्ब ६४ करोड ७७ लाख, ट्राभल एजेन्सीमार्फत एक अर्ब ८१ करोड ४४ लाख र अन्यबाट तीन अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
सरकारले वैदेशिक रोजगारीका लागि एक सय १० मुलुक खुला गरेको छ । जसमध्ये मलेसिया, कतार, साउदी अरब, यूएई र कुबेतलगायतका मुलुकमा अधिकांश कामदार तल्लो तहको काममा जाने गरेका छन् । यसका अलवा विदेशिएका कामदारहरूले अधिकांश रकम हुन्डीमार्फत पठाउनेसमेत गरेका छन् । सो प्रणालीमार्फत रकम पठाउँदा त्यसको विवरण सार्वजनिक हुन सक्दैन । यो प्रक्रिया अवैध हो । सरकारले सो प्रणालीलाई रोक्न विभिन्न निर्देशन दिए पनि हुन्डी कारोबार नियन्त्रण हुनुको सट्टा झन् मौलाउँदै गएको छ ।

प्रतिक्रिया