काठमाडौं, ३ वैशाख । दीप साउन र नविता श्रेष्ठले हुलास ३७ औं राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको सिनियर सिंगल्स उपाधि बुधबार जितेका छन् । शीर्ष बरियताका दुवै खेलाडी नेपाल प्रहरी क्लबका हुन् । विराटनगरस्थित शहीद रंगशालाको कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा करियरकै उत्कृष्ट फर्ममा रहेका दीपले दोस्रो बरियताका एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ११–९, ३–११, ११–४, १२–१०, २–११ र १५–१३ को सेटमा पराजित गर्दै दोस्रोपटक राष्ट्रिय च्याम्पियन बने । चौथो सेट १०–१० को बराबरीमा रहेको अवस्थामा दीपले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा
पारेका थिए । दीपका लागि निर्णायक मानिएको छैटौं सेटमा उनी लगातार तीन पटकसम्म ‘गेम प्वाइन्ट’ जोड्न चुकेका थिए । चौथो प्रयासमा दीप ‘गेम प्वाइन्ट’ जोड्न सफल भए ।
यसअघि २०६८ मा सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा दीपले पुरुषोत्तमलाई नै हराउँदै पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका थिए । बुधबारै भएको सेमिफाइनलमा दीपले तीनपटकका राष्ट्रिय च्याम्पियन एपीएफका शिवसुन्दर गोथेलाई ४–१ ले पाखा लगाएका थिए । पुरुषोत्तमले सेमिफाइनलमा प्रहरीका अमरलाल मल्लको चुनौती ४–२ ले समाप्त पारेका थिए । नेपाली टेबल टेनिसमा गोथे, बज्राचार्य र अजय सुवालबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको समयमा धनगढीमा भएको छैटौं राष्ट्रिय च्याम्पियनसीपबाट साउनको युग सुरु भएको थियो ।
महिला सिंगल्सको फाइनलमा नविताले आफ्नै नन्द र क्लबकी एलिना महर्जनलाई ११–४, ११–६, १२–१० र ११–४ को सोझो सेटमा पन्छाउँदै लगातार पाँचौंपटक राष्ट्रिय च्याम्पियन बन्न सफल भइन् । विराटनगरमा अहिले प्रतियोगिता भएकै कभर्डहलमा २०६७ सालमा भएको ३३ औं राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दै नविता पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । यस अघिका शीर्ष तीन खेलाडी मुना वासुकला, गीता थापा मगर र रिता प्रजापतीलाई एकैपटक टेबलटेनिसबाट हराएपछि नवीता हरेक प्रतियोगितामा च्याम्पियन हुँदै आएकी छन् । महिलामा सर्वाधिक आठ पटकसम्म राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सिजरिन शाहको नाममा छ । पुरुषमा भने अमन चित्रकार सबैभन्दा बढी ६ पकट राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान छ ।
दुई सिंगल्सको फाइनलअघि भएको पुरुष डबल्सको उपाधि भिडन्तमा प्रहरीका दीप साउन र अमरलाल मल्लको जोडी सफल रहे । फाइनलमा उक्त जोडीले एपीएफका शिवसुन्दर गोथे र चन्दन शाहीको जोडीलाई ११–४, १२–१०, ८–११ र ११–९ ले पन्छाए । दुवै सिनियर सिंगल्सका विजेताले समान २१–२१ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
दस स्पर्धा समावेश प्रतियोगिताअन्तर्गत यसअघि जुनियर एकलको पुरुषमा नेपाल आर्मीका कृष्ण थापा मगर र महिलामा ललितपुरकी दीक्षा तामाङ, टिम इभेन्टको पुरुषमा एपीएफ र महिलामा प्रहरी, महिला डबल्समा प्रहरीका रविना महर्जन र स्वेच्छा नेम्वाङ, मिक्स डबल्समा दीप र स्वेच्छा नेम्वाङ तथा पुरुष भेट्रान्स सिंगल्समा काठमाडौंका कपुर शर्माले स्वर्ण जितेका थिए ।
अखिल नेपाल टेबलटेनिस संघ र मोरङ जिल्ला टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा ३ विभागीय र २६ जिल्लाका २ सय ५० खेलाडीले सहभागिता जनाएका थिए । विराटनगरमा राष्ट्रिय टेबलटेनिस भएको यो तेस्रोपटक हो । २०३१ र २०६७ सालमा विराटनगरमा राष्ट्रिय टेबलटेनिस भएको थियो ।
प्रतिक्रिया