काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव धीरेन्द्र प्रधान दोस्रो शरद चन्द्र स्मृति पुरस्कार–०७१ बाट सम्मानित भएका छन् ।
पहिलो संस्करणको अवार्ड लोकबहादुर शाही र कृष्ण थापाले प्राप्त गरेका थिए । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली फुटबलमा लामो समयसम्म विभिन्न तहमा रहेर योगदान गरेको भन्दै एन्फाले पाँच लाख रुपियाँसहित सम्मानित गरेको हो । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्मान गरे ।
सम्मानित भएपछि महासचिव प्रधानले निकै खुसी लागेको बताए । ‘करिव ४५ वर्ष नेपाली फुटबलमा गरेको योगदानको कदर भएको छ ।’ उनले भने, ‘यसरी नै नेपाली खेलकुदमा योगदान पु¥याउनेहरू सम्मानित हुने हो भने पछिल्लो पुस्तामा पनि सकरात्मक सन्देश जान सक्छ ।’ उनीहरूमा उत्प्रेरणा बढ्न सक्छ ।’
शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव हुन् । नेपाली खेलकुदमा सदस्य सचिवको रूपमा शरदचन्द्र शाहको पृथक परिचय छ । अनुदार छवी भएका शरदचन्द्रलाई कडा अनुशासनको पर्याय मान्नेको पनि कमी छैन । उनी सदस्य सचिव भएको समयमा नेपाली खेलकुदको भौतिक संरचनाहरूमा सुधार भएको पनि पुराना खेलकर्मी बताउँछन् । प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा एन्फाको पूर्व अध्यक्ष कमल थापाले शरदचन्द्र शाह नेपाली खेलकुदको बहुआयमिक व्यक्तित्व भएको बताए । ‘एकदमै कठिन परिस्थितिमा पनि उनले नेपाली खेलकुदलाई माथि उठाउने काम गरेको छ ।’ थापाले पुरस्कारबाट सम्मानित भएका महासचिव धीरेन्द्र प्रधानको योगदानको बारे चर्चा गरे । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले शरदचन्द्र शाह नेपाली खेलकुदको उदाहरणीय व्यक्तित्व भएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले पनि पूर्व सदस्य–सचिव शरदचन्द्र शाहको कार्यकालको प्रशंसा गरे । उनले खेलकुदलाई कसरी सपार्नेभन्दा पनि कसरी विवादमा पार्ने भन्नेमै केन्द्रित हुने प्रवृत्ती बढेका कारण नेपाली खेलकुदको विकास हुन नसकेको टिप्पणी गरे ।
प्रधानले सन् १९७९ मा बंगलादेशमा भएको अगाखान अन्तर्राष्ट्रिय गल्फ फुटबल प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए । उनले करिब एक दशक नेपाली फुटबलको टोलीमा रहेर विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएका थिए । यस क्रममा २३औँ एसियन युथ फुटबल(१९८२), नवौँ एसियन गेम १९८२ भारत, क्युएसटी दक्षिण एसियन खेलकुद र १९८४ को पदक जित्दाका टोलीका महत्वपूर्ण सदस्य थिए । यस्तै प्रधानले दोस्रो, तेस्रो र चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेल्दाका टोलीको महत्वपूर्ण सदस्य थिए ।
प्रधानले वि.स. ०३१ सालमा नेपाली लिगमा डेब्यू गरेका थिए । उनले घरेलु लिग दौरान महेन्द्र पुलिस क्लब, झापा–११, महावीर क्लब, ब्वाइज युनियन, पे्रmेन्डस क्लब, आरसिटी क्लब, न्युरोड टिम(एनआरटी) र सुनाखरी क्लब सानेपाबाट व्यवसायिक फुटबल खेलेका थिए । आफ्नो सक्रिय खेलजीवन पश्चात उनले महेन्द्र पुलिस क्लब, नेपाल एपिएफ क्लबको मुख्य प्रशिक्षकको जिम्वेवारी पनि सम्हालेका थिए । अहिले उनी एन्फाको महासचिव पदमा रहेर कार्य गरिरहेका छन् । (सौस)
प्रतिक्रिया