काठमाडौं, २ वैशाख । नेपालले यो वर्ष थुपै्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनायो । नेपाली खेलकुद संरचनाकै सापेक्षमा हेर्दा राम्रो परिणामको अपेक्षा गर्न भने सकिँदैन । परन्तु बहादुरीे भनेकै असहज परिस्थिति र संरचनालाई पार गर्दै सफलता पाउँदै जानु नै हो । वर्ष ०७१ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा आंशिक सफलता पायो । ती सफलतामध्ये सम्बन्धित खेलको अन्तर्राष्ट्रिय व्यापकता तथा नेपालको अवस्थालाई आधार मान्दै सौर्य खेलकुद टिमले छनोट गरेका वर्ष खेल व्यक्तित्वको चर्चा ।
संरक्षक भूषण बज्राचार्य
सात वर्षअघि सुरु भएको जुनियर टेनिस इन्सेटिभ (जेटिआई) परियोजनाको परिणाम नेपाली टेनिसमा यसै वर्ष देखिन थाल्यो । नेपाली जुनियर टेनिस खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भ्याइ न भ्याइ भयो भने थुप्रै उत्साहजनक नतिजा देखिए । नेपाली टेनिसलाई उत्साहजनक नतिजा देखाउने सवालमा अग्रपंक्तिमा संरक्षक भूषण बज्राचार्य देखिए ।
कतारमा भएको एसियन जुनियर टेनिस प्रतियोगितामा नेपालले तेस्रो स्थान पाउँदा संरक्षकले खेलेका एकल खेलमा ६ मा जित हात पारे भने एकमा पराजयको सामना गरे । युगलमा रेन्जन लामासँगको उनको जोडी त्यत्तिकै जमेको थियो ।
त्यसको लगत्तै एटिपी जुनियर टुमा प्रवेश गरेका उनी एक पछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै डिभिजन वानमा प्रवेश गर्न सफल भए । नेपाली टेनिसलाई नजिकबाट नियालेका एटिएफका दक्षिण पूर्वी एसिया हेर्ने प्राविधिक निर्देशक सुरेस मेननसहितको सहयोगमा उनले थाइल्यान्डमा डिभिजन वान खेल्ने र विशेष प्रशिक्षण गर्ने अवसर समेत प्राप्त गरे ।
विमला तामाङ
इन्चोनमा सम्पन्न सत्राँ एसियाली खेलकुदमा नेपाललाई काश्य पदक दिलाउन सफल विमला तामाङ वर्ष ०७१ मा सबैभन्दा सफल नेपाली खेलाडीको रूपमा रहिन् । करातेमा भएको राजनीतिक हस्तक्षेपलाई विश्व कराते महासंघ (डब्लुकेएफ) ले अस्वीकार गरेपछि नेपाली कराते अहिले पनि दुई चिरामा विभक्त छ । राज्यले तयार गरेको सूचीभन्दा बाहिरकी खेलाडी हुनुका बाबजुद पदक जितेको कारण त्यो पदक नेपाली खेलकुदकै अन्यभन्दा पृथक भयो ।
नेपाल ओलम्पिक कमिटी र डब्लुकेएफबाट मान्यता प्राप्त नेपाल कराते महासंघको पहलमा सहभागिता जनाएकी विमलाले महिला एकल कातामा पदक जितेकी हुन् । त्यसै एसियाडमा राज्यको सूचीमा रहेका खेलाडीले भने कुनै पदक जित्न सकेनन् ।
ध्रुवविक्रम मल्ल
बालाजु कराते एकडेमीका प्रमुख ध्रुवविक्रम मल्ल यस वर्षको सफल खेल व्यक्तित्व मध्ये रहे । नेपाली कराते दुई चिरामा विभाजित भए पछि डब्लुकेएफबाट मान्यताप्राप्त कराते महासंघको कित्तामा उनको उपस्थिति वर्ष भरी नै महत्त्वपूर्ण रह्यो ।
यसअघि उनको एकडेमीका उत्पादन सुनील लामा, लक्ष्मी भट्ट्, अनु अधिकारी र मल्लिका थापालगायत खेलाडीले आफूलाई नेपाली करातेको बेजोड प्रतिभाको रूपमा अघि सारे पनि ध्रुव छायामै परेका थिए ।
करातेसँग सम्बन्धित हरेक विषयको राम्रो अध्ययन गर्ने आदतकै कारण पृथक व्यक्तित्वको छवी बनाएका ध्रुवले उनको एकडेमीकी विमलालाई राज्य पक्षले एसियाडमा सहभागिता नजनाउने भएपछि आफ्नै खर्चमा एसियाडमा सहभागी गराएका थिए ।
पारस खड्का
नेपाली क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर पारस खड्काका लागि यो वर्ष महत्त्वपूर्ण रह्यो । उनकै कप्तानीमा नेपालले यसैवर्ष नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेटअन्तर्गत ‘डिभिजन टु’ को खेलमा चार पटकको विश्वकप खेलिसकेको नेदरल्यान्डलाई २ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
‘डिभिजन टु’ मा नै गरेको प्रदर्शनका कारण नेपालले दुई वर्षको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने अवसरसमेत प्राप्त गरेको छ ।
कुशल नेतृत्व क्षमताका धनी २७ वर्षीय पारसले यस वर्ष बेलायतको पुरानो क्लब मेलबर्न क्रिकेट क्लबबाट ‘टी ट्वान्टी’ खेल्ने अवसरसमेत प्राप्त गरे । उनले भारतका पूर्व राष्ट्रिय खेलाडी युवराज सिंह इग्ल्यान्डका एलेस्टर कुकसँग संयुक्त अरब इमिरेट्स (दुबई) मा ‘टी ट्वान्टी’ क्रिकेट खेल्न पाउनु उनकै प्रतिभाका कारण नै सम्भव भएको हो ।
विमल घर्ती मगर
सबै तहका उमेर समूह तथा राष्ट्रिय टोलीमा रहनु विमलको विशेषता बन्यो । साथै बेल्जियमको रोयल स्पोटिङ एन्डरलक क्लबको जुनियर टोलीबाट खेल्ने अवसर पनि उनले पाए ।
हाल उनले राष्ट्रिय टोलीमा पहिलो रोजाइका स्ट्राइकरको रूपमा जिम्मेवारी पूरा गरिरहेका छन् ।
कमला पुन
यसवर्ष नेपाली भलिबल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफल भयो । काठमाडौंमा भएको भलिबलको महिला दक्षिण च्याम्पियनसिपमा नेपालले दोस्रो स्थान पायो भने माल्दिभ्समा भएको बिच भलिबलमा सफलता पाउँदै नेपाली महिला टोलीले अघिल्लो चरणको यात्रा तय गर्यो । यी दुवै सफलतामा कमलासहित, कोपिला उप्रेती र सुशीला थापा सरिक थिए ।
बिच भलिबलमा उनको खेल त्यत्तिकै स्तरीय थियो भने लिबरोको रूपमा राष्ट्रिय टोलीमा रहेकी कमलाले साफ च्याम्पियनसिपमा बिरलै बेन्चमा बस्नुपर्यो । यसका अलावा घरेलु प्रतियोगितामा प्राय: उनी बेस्ट लिबरो पनि भइन् ।
रुपेस जयसवाल
नेपाली चेसमा नयाँ नायकको रूपमा उदाएका जयसवालले काठमाडौंमा भएको एसियन जोनल ‘थ्री प्वाइन्ट टु’ चेस प्रतियोगितामा नौ चरणमा ६ स्कोर गर्दै फिडे मास्टरको उपाधी पाए । लगातार उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले झापाबाट सुरु भएको चौथो ध्रुव तारा कपबाट लय पक्रिएका थिए । आयोजक र नेपाल वुद्धिचाल संघबीच फिडेको रेटिङ शुल्कमा भएको विवादको कारण उनको रेटिङ अपडेट नभए पनि उनमा यसै प्रतियोगितामा आत्मविश्वास पलायो ।
काठमाडौंमा भएको चेस मास्टर राउन्डरोबीनका उपविजेता उनले ढाकामा भएको ग्रान्डमास्टर प्रतियोगितामा पनि शानदार प्रदर्शन गरे । त्यसपछि कोलाकातामा भएको ग्रान्डमास्टर प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेका रुपेसले एसियन जोनलमा अर्को उत्कृष्ट प्रदर्शन गरे ।
यादव कुँवर
कुँवरले यो वर्ष स्विट्जरल्यान्डमा भएको ‘पारा तेक्वान्दो च्याम्पियनसिप’मा रजत पदक जिते । यसभन्दा अघि उनले पारा तेक्वान्दोकै विश्व च्याम्पियनसिपमा काश्य पदक जितेका थिए ।
यसका अलावा बक्सिङकी सरस्वती रानामगर, पौडीकी गौरीका सिंह, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, भलिबलका कुलबहादुर थापा र सरस्वती चौधरी यो वर्ष छाइरहे । एथलेटिक्समा आशीष चौधरी, सरस्वती भट्टराई र सरस्वती चौधरीको उपस्थिति त्यत्तिकै प्रभावकारी रह्यो । दिलमाया कार्की र केशरी चौधरीको प्रभाव त्यत्तिकै रहँदा कान्छीमाया कोजुले सदावाहर धाविकाको रूपमा आफ्नो साख कायम राखिन् । उसुका विशाल सिन्जाली मगर पनि यो वर्ष सफल भए ।
प्रतिक्रिया