श्रीमानको मृत्युपछि रेखालाई यस्तो झमेला

काठमाडौं, २५ चैत । एक दशकअघि अन्तरजातीय विवाह गरेकी सप्तरीकी रेखा परियारलाई श्रीमानको मृत्युपछि नागरिकता प्राप्त गर्न कठिन भएको छ ।

रेखाले २०६० असोज १२ गते सप्तरी धरमपुर–८ का राजनप्रसाद निरौलासँग प्रेम विवाह गरेकी थिइन् । निरौलाको २०७० जेठ ८ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।

‘माइतीतर्फको नागरिकता छैन, विवाह दर्ता पनि छैन, छोराछोरीको जन्म दर्ता नहुँदा विद्यालय भर्नामा पनि समस्या आएको छ,’ उनले भनिन्, ‘नागरिकताका लागि श्रीमान्का आफन्त चाहिँदोरहेछ, तर उहाँहरू नागरिकता दिन चाहनुहुन्न ।’ रेखाका १ छोरा र १ छोरी छन्् ।

उनलाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था उज्यालो जीवनका अध्यक्ष शर्मिलाकुमारी पन्तका अनुसार रेखालाई सप्तरी जान–आउन पनि श्रीमान्का आफ्न्तले रोक लगाउँदै आएका छन् । हाल काठमाडौंमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी रेखाका अनुसार २ कक्षा पढ्दै गरेकी छोरी करूणालाई वैशाख २ गतेभित्र विद्यालयले जन्म दर्ता लिएर आउन भनेको छ । यदि जन्म दर्ता नभएको अवस्थामा विद्यालय भर्नामा समस्या आउनेछ ।

विवाह दर्ता, छोराछोरीको जन्मदर्ता गराउनका साँथै पाउनुपर्ने अंश समेत दिलाई दिन राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालयलाई  निवेदनसमेत पेस गरिसकेको छ । ‘मसँग सबै प्रमाण छ, तर सम्पत्ति दिनुपर्छ भनेर उहाँहरूले विवाह दर्ता र नागरिकता दिन आलटाल गर्दै आउनुभएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया