सातामै बलात्कारका तीन घटना

गौशाला, २२ चैत । महोत्तरीका विभिन्न ठाउँमा सातादिनमा बलात्कारसम्बन्धी ३ घटना भएका छन् ।

सोमबार जिल्ला सदरमुकाम जलेश्वर–४ स्थित न्यू परदेशी एसी होटलमा केटा साथीसँग खाजा खान आएकी सोनामाई–१ की १८ वर्षीया युवती बलात्कृत भएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार वृजकिशोर यादवले केटा साथीलाई होटलमा कुटपिट गरी भगाएर ती युवतीलाई बलात्कार गरेका थिए । पीडित युवतीको जाहेरीका आधारमा अहिले यादवमाथि जबर्जस्ती करणी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै, उक्त घटनाको भोलिपल्टै हरिहरपुर हरिणमरी–५ का ५५ वर्षीय भोगेन्द्र चौधरीले बाराका एक १५ वर्षीया किशोरीलाई महिनौंदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको घटना सार्वजनिक भएको थियो । पीडित किशोरीकी आमाले छोरीलाई भारतको पञ्जाव राज्यबाट जेठमै ललाइफकाई ल्याएर चौधरीले यौन शोषण गर्दै आएको जाहेरी दिएपछि मंगलबारै जिल्ला प्रहरीबाट खटिएको टोलीले पीडितलाई उद्धार गरेको थियो । सो घटनामा संलग्न अभियुक्त भोगेन्द्रलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।

बथनाहा–८ बस्ने सत्रुघन साहले सर्लाही खैरबा–५ की १४ वर्षीया बालिकालाई भारतीय सीमापारिको सहर भिठ्ठामोडमा चैतदेखि अपहरण गरी लगेर बलात्कार गर्दै आएको पाइएको जिल्ला प्रहरीले जनाएको छ । अपहरित बालिकाका बुबाले जिल्ला प्रहरीमा अपहरणकारी साहमाथि अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएपछि प्रहरीले बुधबार सीमापारि भिठ्ठामोडका प्रहरीसँग समन्वय गरी पीडित बालिकालाई उद्धार गरेको थियो । अपहरणकारी भने भारतकै अन्य सहरमा भागेका छन् ।

प्रतिक्रिया