चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय नरहने

Rautahat Chandranigahapurकाठमाडौं, २१ चैत । सरकारले विगत केही दिनदेखि रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापनासम्बन्धी विषयलाई लिएर उत्पन्न भएको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गरी जनतालाई सहजरुपमा नजिकबाट ती सेवा, सुविधा उपलब्ध गराउने उद्देश्य राखेकाले सम्बन्धित क्षेत्रका जनताका मागलाई समेत ध्यानमा राखी हाल भएको कार्यालय स्थानान्तरण नगरी थप नयाँ कार्यालयहरू स्थापना गरी सेवा सहज र छिटो उपलब्ध गराउन जिल्लाको चन्द्रनिगाहपुरलगायत देशका विभिन्न स्थानमा ती कार्यालय स्थापना गर्ने निर्णय गरिएको जनाएको छ ।

विज्ञप्तिमा जनतालाई नजिकबाट सेवा उपलब्ध गराउने सरकारको नीति अनुरुपनै कार्यालय स्थापना गरिएको भए पनि रौतहटको गौरमा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी सरकारको गत असोज ३० मा गरिएको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको स्थापना गर्ने निर्णय फिर्ता लिएको जानकारी गराइएको छ ।

प्रधानमन्त्री कार्यालयले मालपोत र नापीसँग सम्बन्धित कार्यहरू मालपोत र नापी कार्यालय गौरबाटै पूर्ववतरुपमा सञ्चालन हुने जानकारी पनि गराएको छ ।

स्थानीयले चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयहरू नसार्न अग्रह गर्दै आन्दोलन चर्काका थिए । आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार झडपसमेत भएका थिए ।

प्रतिक्रिया