सर्वोच्चको फैसलाबाट नआत्तिन ६ माओवादीलाई प्रधानमन्त्रीको आग्रह

6-moist-in-Baluwatar

काठमाडौं, २० चैत । एमाओवादीसहित ६  माओवादीले सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको खारेजीलगायत माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी शुक्रबार उनीहरुले विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानका साथै बाह्रबुँदे सहमतिको मर्म र भावनाविपरीत सर्वोच्चले फैसला गरेको भन्दै तत्काल फैसला सच्याउन माग गरेका हुन् । राजनीतिक सहमतिका आधारमा गठन भएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगका केही प्रावधान खारेज गर्नुपर्ने भन्दै सर्वोच्चले गत फागुन १४ गते आदेश दिएको थियो ।

सर्वोच्चले अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दालाई आयोगले हेर्न नमिल्ने र आममाफी दिने विषय स्वीकार्य नभएको भन्दै आयोगको गठन आदेश नै सच्याउन दिएको विषय शान्ति सम्झौताको मर्मविपरीत रहेको उनीहरुको भनाइ छ ।

माओवादीले द्वन्द्वकालीन सबै मुद्दा फिर्ता गर्न, न्यायिक छानबिनमा रहेका मुद्दा सङ्क्रमणकालीन न्यायिक निरुपणका लागि गठित विशेष संरचना आयोग वा विशेष अदालतको क्षेत्राधिकारभित्र रहने व्यवस्था गर्न, छानबिनबाट राजनीतिक प्रकृतिका देखिएका मुद्दाको सन्दर्भमा मेलमिलापको कानुनी व्यवस्था गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंगका रूपमा अस्वीकार गरिएको सर्वोच्चको आदेशलाई खारेज गरी उक्त सम्झौतालाई संविधानकै बाध्यकारी अंगका रूपमा स्थापित गर्न, राजनीतिक द्वन्द्वका कारणले सिर्जना भएको सङ्क्रमणकालीन व्यवस्थाका लागि निर्माण गरिएका कानुनलाई गैरराजनीतिक अपराधको सन्दर्भमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सन्धिसम्झौताको नाममा खण्डित हुने व्यवस्था गर्न, जनयुद्धकालीन सहिद तथा बेपत्ता परिवारलाई समुचित रुपमा राहतको व्यवस्था गर्न तथा घाइते अपाङ्गको सन्दर्भमा उपचार तथा संरक्षणको व्यवस्था गर्न माग गरिएको छ ।

तत्कालीन प्रमुख दल र माओवादीबीच भएको बाह्रबुँदे सम्झौता, ‘विस्तृत शान्ति सम्झौताको अंगका रूपमा रहेको अन्तरिम संविधानको भावनाविपरीत सर्वोच्चबाट आएको फैसला’ले दिगो शान्ति स्थापना हुन नसक्ने छ माओवादीको ठहर छ ।

प्रधानमन्त्रीले अदालतको फैसलाबाट नआत्तिन आग्रह गरेका थिए । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकार प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विस्तृत शान्ति सम्झौताको मूलमर्मलाई आत्मसात् गरेर अगाडि बढ्न सरकार तयार रहेको विश्वास दिलाए ।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले विगतका सहमति तथा सम्झौतालाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले फैसलाबाट नआत्तिन माओवादीलाई आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी)का संयोजक मातृका यादव, नेकपा (एकीकृत)का महासचिव परी थापा, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया