‘आमाको शिक्षा भएका छोराछोरीको पढाइ राम्रो’

child-television Nepalभक्तपुर, १९ चैत । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१३ को मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै परीक्षण केन्द्रका सहसचिव लेखनाथ पौडेलले नेपाली विषय सामान्य मात्र तथा गणित र विज्ञान विषयको सिकाइ उपलब्धि न्यून रहेको पाइएको बताए ।

औसत सिकाइ उपलब्धि नेपालीमा ४८ प्रतिशत, गणितमा ३५ प्रतिशत र विज्ञानमा ४१ प्रतिशत रहेको पाइएको छ । गणितमा शिक्षण सिकाइ उपलब्धी न्यून रहेको छ ।

नेपालीमा छात्र र छात्राको उपलब्धिमा खासै भिन्नता नरहे पनि गणितमा छात्राको ३३ र छात्रको ३८ तथा विज्ञानमा छात्राको ३९ र छात्रको ४३ प्रतिशत उपलब्धि रहेको पाइएको छ । सिकाइ उपलब्धि हासिल गर्नेमा छात्रभन्दा छात्रा कमजोर रहेको पौडेलले बताए ।

विद्यार्थी नेपालीमा शब्द भण्डार तथा व्याकरणमा भन्दा पढाइ र लेखाइमा कमजोर, गणितमा बीजगणित र ज्यामितिमा कमजोर तथा विज्ञानमा जीव विज्ञानमा कमजोर रहेको पाइएको छ ।

निरक्षर बाबुआमा र कृषिमा संलग्नका छोराछोरी सिकाइ उपलब्धिमा कमजोर छन् । बाबुभन्दा आमाको शिक्षा बढी भएका छोराछोरीको उपलब्धि बढी रहेको पाइएको छ ।

घरमा एक घन्टासम्म काम गर्ने, दिनमा दुई घन्टाभन्दा बढी टिभी नहेर्ने विद्यार्थीको उपलब्धि उच्च रहेको पाइएको छ ।

टिभी नहेर्ने विद्यार्थीको सिकाइ उपलब्धि ४६ प्रतिशत, दुई घन्टासम्म टिभी हेर्नेको उपलब्धि ५१ प्रतिशत र धेरै टिभी हेर्नेको उपलब्धि भने न्यून रहेको पाइएको छ ।

कक्षा ८ मा १४ वर्षभन्दा बढी उमेरको उपलब्धि कम भएको र गृहकार्य नदिने वा दिएर पनि नजाँच्ने विद्यालयका विद्यार्थीको उपलब्धि कम पाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विद्यार्थीले तीन वटै विषयमा उच्चतम उपलब्धि हासिल गरेको पाइएको छ ।

त्यसको दाँजामा नेपालीमा मुगु, सिरहा र सुनसरी, गणितमा डोल्पा, तेह्रथुम र मुगु तथा विज्ञानमा धनुषा, मुगु र बाजुरामा न्यून उपलब्धि हासिल गरेको पाइएको छ ।

पहाडभन्दा तराई र हिमाली क्षेत्रको उपलब्धि तथा पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको नतिजा कमजोर रहेको पाइएको छ ।

सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा उपलब्धि राम्रो भएको र सामुदायिक विद्यालयमा गणित विषय कमजोर रहेको पाइएको छ ।

नेपाली, गणित र विज्ञान गरी तीन विषयमा केन्द्रले शैक्षिक सत्र २०७० को अन्तमा देशभरका विद्यालयबाट छनोटमा परेका २८ जिल्लाका एक हजार १९९ विद्यालयको कक्षा ८ का ४४ हजार ६७ विद्यार्थीसंँग सिकाइ उपलब्धि मूल्याङ्कन परीक्षा लिएको केन्द्रका उपसचिव सुशीलबाबु खनालले बताए ।

नेपालीमा १५ हजार ३३६, गणितमा १४ हजार ५०० र विज्ञानमा १४ हजार २३१ विद्यार्थी सहभागी भएको सिकाइ उपलब्धी मूल्याङ्कन परीक्षामा ५२ प्रतिशत छात्रा र ८४ प्रतिशत छात्रको सहभागिता थियो ।

गत फागुन २९ गते लिएको परीक्षाको सिकाइ उपलब्धि नतिजा हेर्दा सन्तोष लिने ठाउँ नभएको र अन्तर्राष्ट्रियस्तरभन्दा तल रहेको खनालले बताए । विगत दुई वर्षभन्दा अहिले उपलब्धि घट्दै गएको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया