सहयोगमा जुटे खेलाडीहरू

keshavकाठमाडौं, १६ वैशाख । शनिबार र आइतबारको महाभूकम्पको कारण हजारौँको धनजनको क्षति हुँदा यसले खेलक्षेत्रलाई पनि प्रभावित पार्‍यो । भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ रहेनन् भने खेल पत्रकार सुमन बम्जन अझैं हराइरहेका छन् । शनिबारको भूकम्पमा जाँदा जैशीदेवलमा आफ्नै घरमा रहेका श्रेष्ठ आत्तिर हामफाल्न खोज्दा टाउको ठोकीएको थियो । बरिष्ठ प्रशिक्षक श्रेष्ठ विगत तीन वर्षदेखि मुख्य प्रशिक्षकको रूपमा कार्यरत थिए ।
गोरखापत्र संस्थानमा कार्यरत बम्जन असनस्थित घरमा भाडामा बस्थे । उनी बसेको घर भत्किएको छ । उनको मोटरसाइकल भेट्टाइएको छ भने उनको पत्तो लागेको छैन । चेस खेलाडी महेश थापाका लागि भने यसपटकको घटना अनौठो रह्यो । भक्तपुरमा उनका साथीले बनाएको भूकम्प प्रतिरोधात्मक घर हेर्न बोलाएपछि थापा त्यहाँ पुगेका थिए । त्यही घरले उनलाई सुरक्षित बनायो । तर, उनको वरपरका घरहरू भत्किएको दृश्य उनले हेरिरहे । तथापि, उनले पनि दुई दिन पालमा नै बिताए । संगीना वैद्य, हिरा थापा र पदम राना आफू बस्ने ठाउँ नजिकै पाल टाँगेर बसेको जानकारी गराए । करातेका परशुराम बास्तोलाले काठमाडौंको वातावरण असहज लागेर झापास्थित घर फर्किएको जानकारी गराएका छन् ।
नेपाल लन टेनिस संघका अध्यक्ष मनोज राणा मुस्किलले बाचे । भूकम्पले धरहरा ढालेको उनले प्रत्यक्ष देखे । धरहरा चढेर उनी सडक तिर लागेका थिए । भाग्यवश उनी रहेको भन्दा धरहरा अर्कोतिर पल्टियो र उनी बाचे । ‘त्यो बाहेक अन्य कुनै पनि दिशामा ढलेको भए म रहने थिइनँ ।’ राणा भन्छन् ।
नेपालमा भएको यु–१४ क्षेत्रीय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल हुन सकेन । फाइनल खेल निर्धारित समयभन्दा केही घन्टाअघि भूकम्प गएको हो । नेपाल र बंगलादेश फाइनल प्रवेश गरेका थिए । त्यसैदिन हुँदै गरेको नेकोस कप तेक्वान्दो प्रतियोगिताको खेल भने सकिएको मात्र थियो ।
धेरै खेलकर्मी सामाजिक कार्यमै व्यस्त रहे । करातेका इश्वर थापा आइतबार नक्सालको नारायण चौरमा दिनभर रेडक्रसले वितरण गरेको पाल बाँडनमा व्यस्त रहे । तेक्वान्दोका अर्जुनभक्त राई पनि बानेश्वरमा यसै खाले काममा व्यस्त रहे । तेक्वान्दोकै अशोक खड्का साँखुमा सहयोग गर्नमा व्यस्त रहे । उनले नै दिउँसो आफ्नै आँखाले ७६ शव निकालेको जानकारी दिलाए ।
विदेशमा रहने खेलकर्मीले नेपालको अवस्था बारे बारम्बार चासो दिइरहे । खासमा जापानमा रहने श्री गुरुङ तीन दिन नै नेपालबारे अपडेट भइरहे । स्थानीय क्लब, डोजांग र डोजोले आपूm मातहतका खेलाडीलाई भूकम्पपीडित क्षेत्रमा सहयोगका लागि खटाइ नै रह्यो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले विज्ञप्ति जारी गरी सम्पूर्ण खेलकर्मीलाई सहयोगमा जुट्न आह्वान गरेका छन् ।

प्रतिक्रिया