बैंकिङ सेवा सुचारु

nepali-curncyकाठमाडौंं, १६ वैशाख । बैंक तथा वित्तीय संस्थाको सेवा मंगलबारदेखि सुचारु भएको छ । महाभूकम्पका दुई दिन बैंकिङ सेवा बन्द भएका थिए । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेवा बन्द नगर्न निर्देशन दिइसकेको छ । भूकम्पबाट देशभर पारेको प्रभावका कारण ग्राहक तथा कर्मचारीको सुरक्षालार्ई मध्यनजर गर्दै आइतबार सबै निजी बैंक बन्द गरिएको नेपाल बैंकर्स एसोसियसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार पनि भूकम्पसँगै बैंकिङ गतिविधि बन्द भएका थिए । सोमबार भने केही बैंकले सेवा दिएका थिए ।

बैंक तथा वित्तीय संस्था बन्द भएपछि आर्थिक कारोबार नै ठप्प भएका कारण केन्द्रीय बैंकले बैंक खोल्न निर्देशन दिएको हो । सबै वित्तीय संस्थालार्ई सेवा बन्द नगर्न निर्देशन दिइसकेका र सबै संस्थाले सेवा सुचारु गरिसकेको पनि राष्टबैंकले जनाएको छ । निरन्तर भूकम्पको पराकम्पनका कारण समस्या भए पनि अत्यावश्यक भुक्तानीको ठूलो सञ्जाल भएका ‘क’ वर्गका बैंकले आफ्ना सेवालार्ई खुला स्थानबाटै सञ्चालनमा ल्याएका हुन् ।
भौतिक संरचना ध्वस्त भएका स्थानबाट सेवा दिन नसकेपछि बैंकले वैकल्पिक उपाय अपनाएर भए पनि भुक्तानीलार्ई सहज बनाउँदै लगेका हुन् । ठूला सञ्जाल भएका सरकारी बैंक वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले सेवालार्ई सहज अवस्थामा जस्तै सेवा दिन नसके पनि आपत्कालीन अवस्थालार्ई ध्यानमा राखेर वैकल्पिक व्यवस्था गरेको जनाएको छ । भुक्तानी लिन आएका ग्राहकलार्ई नफर्काएको दाबी ती बैंकले गरेकत छन् । बैंकले इन्टरनेट सेवामा वैकल्पिक व्यवस्था इ–बैंकिङ तथा एटिएममार्फत पनि मंगलबार भुक्तानी दिइरहेका छन् ।
विशेष गरी भौतिक संरचना ध्वस्त भएका जिल्ला तथा कार्यालयबाट पूर्णरूपमा सेवा दिन नसके पनि आंशिक रूपमा सेवा उपलब्ध गराएको र भुक्तानीका लागि आउने ग्राहकलार्ई विकल्पको व्यवस्था गरेको उनीहरूले उल्लेख गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले अति आवश्यक भुक्तानीलार्ई सहज बनाएको जानकारी दिए । उनले कुनै शाखा तथा कार्यालयको भवन ध्वस्त भएकाले त्यस्ता शाखा तथा कार्यालयमा पुग्ने ग्राहकलार्ई अर्को वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए ।
त्यसैगरी कृषि विकास बैंकले पनि आफ्ना सेवालार्ई सहज बनाएको छ । उसले आफ्ना ग्राहकले मागेको अवस्थामा वैकल्पिक उपाय प्रयोग गरेर भए पनि भुक्तानी उपलब्ध गराएको जनाएको छ । बैंकको केही जिल्लामा सम्पर्क गर्न नसकिएको जनाएको छ ।
तैपनि, कृषि विकास बैंकले आफ्ना ग्राहकहरू जुनसुकै शाखा तथा कार्यालयका ग्राहक भए पनि भुक्तानीलार्ई सहज बनाएको जनाएको छ । भौतिक संरचना ध्वस्त भएका शाखा तथा कार्यालयको विकल्प प्रयोग गरिएको बैंकका उप महाप्रबन्धक विजया स्वारले बताए । उनले पुतलीसडक, कालिमाटी, जनकपुर कार्यालय, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायतका कार्यालयमा केही समस्या देखिएको बताए ।
त्यसैगरी निजी क्षेत्रका बैंकले पनि आफ्ना ग्राहकलार्ई सहज रूपमा भुक्तानी उपलब्ध गराएको दाबी बैंकर्स एसोसिएसनको छ । बैंकर्स एसोसिएसनका उपाध्यक्ष अनिलकेशरी शाहले निजी क्षेत्रबाट सञ्चालन भएका सबै बैंकले आफ्ना सेवालार्ई सहज गरिएको बताए ।
बैंकको कार्यालय ध्वस्त भएको स्थानबाट सेवा दिन नसक्ने अवस्थामा नजिकमा जुन बैंक छ त्यही बैंकबाट सेवा उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए । उनले कुनै पनि सर्वसाधारण बैंकबाट रित्तो हात फर्कन नपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया