काठमाडौं, १२ वैशाख । ‘तिमी फरकपन देऊ तर असफल भयौ भने दुनियाँले तिमीलाई पागलको संज्ञा दिनेछ । सफलतामा तिम्रो नाम ट्रेडमार्क बन्नेछ ।’ फरकपनको बारेमा धेरैले गर्ने चर्चा हो यो । पागलपनको व्याख्या यसरी पनि गरिन्छ । ‘यदि संसारमा टाउकाले टेकेर हिँड्ने चलन थियो भने गोडाले टेकेर हिँड्नेहरूलाई पागल भनिन्थ्यो ।’ तर, कसैले टाउकाले टेकेर हिँड्ने चलनलाई स्थापित गर्यो भने उ इतिहास निमार्ता मानिन्छ । दशरथ रंगशालाको खेलकुद परिसर जहाँ अनेकौँ व्यक्ति भेटिन्छन् । दिनभर राजनीतिक नेताको दायाँबायाँ रहने र त्यहाँ रहने माथि शासन गर्ने चाहनासहितको एउटा जत्था त्यहाँ भेटिन्छ ।
सामान्य रूपमा खेल्ने र खेलेपछि प्रशिक्षकका रूपमा जागिरे जिन्दगी बिताउनेहरू भेटिन्छन् । कोही फरक देखिएका छन् । अन्यले जे ग¥यो, त्योभन्दा फरक गर्न चाहन्छन् र सफलताको पाइला चुम्दै जान्छन् । यी भिन्न र पृथक् चरित्रमध्ये यसपटकको चर्चा ती पात्रहरूको जसले हिम्मत गरे, चुनौती स्वीकार गरे र अरूभन्दा फरक हिँडेर सफलता उन्मुख भए ।
न्यु डाइमन्ड स्कुलका प्रिन्सिपल कुमार राई होचो कदका । भलिबलमा आबद्ध हुनेको उचाइ एकदमै हुनु पर्छ भन्ने मान्यता राख्नेहरूले उनलाई भलिबलमा संलग्न भन्न पनि अप्ठेरो मान्न सक्छन् । तर, संखुवासभाका यी व्यक्तित्व अलि फरक नै भए । सुरुमा भलिबल खेले । खेलाडी जीवन सकिएपछि प्रशिक्षक हुने चाहना राखे । अनुकूल भएन ।
उनमा दुनियाँलाई देखाइदिने जाँगर चल्यो । न्यु डाइमन्ड स्कुलमा भलिबल सिकाउन थाले । एक दहक लामो संघर्ष गरे । एक दशकपछिको संघर्षमा उनको प्रशिक्षणमा रहेको महिला टोलीले पहिलोपटक राष्ट्रिय स्तरको उपाधि जित्यो । उनको खुसियाली मनाउने स्टाइलमा एउटा कुरा प्रस्ट देखिन्थ्यो, ‘देख्यौ एकहोरो लाग्दा के सम्भव छैन ?’ त्यसपछि उनको प्रशिक्षणमा रहेको न्यु डाइमन्ड टोली लगातार नेपाली भलिबलमा एक प्रभावशाली टोली रहेको छ । ‘स्कुलको हेडमास्टर भलिबल सिकाएर हिँड्ने ?’ धेरैले ओलो ठडाउने यो विषयलाई उनले दिलाएको नतिजाले नै जवाफ दिएको छ, ‘न्यु डाइमन्ड न भलिबलमा कम न त पढाइमा ।’
धनुषाका राजेश कर्माचार्य अेहिले अमेरिकामा रहेका छन् । न्युयोर्कमा जुडो क्लब छ । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा निर्णायक राजेशलाई भ्याइनभ्याई नै छ । एउटा नेपाली अमेरिकी जुडो वृत्तमा प्रतिभाशाली प्राविधिकको छवि छाड्न सफल भएको छ ।
धनुषाका राजेश खेलाडीको रूपमा सामान्य थिए । खेलाडी जीवनपछि साहयक प्रशिक्षक थिए । उनी पर्सा पुगे । पर्सामै अन्य मार्सल आर्ट खेल्नेहरूलाई घरबाट खोजेर खेलाउने काम गरे । विस्तारै पर्सा जुडोले एउटा प्रभाव छाड्न थाल्यो । राष्ट्रिय च्याम्पियनसिपमा ५० भन्दा बढी स्पर्धामा स्वर्ण पदक । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने ५० प्रतिशतभन्दा बढी खेलाडी पर्साका । पछिल्लो समयको जुडोको राष्ट्रिय छनोटमा समेत पर्सामा उनैले उत्पादन गरेको खेलाडीको प्रभाव रह्यो ।
उत्कृष्ट प्राविधिक राजेश भित्रिए काठमाडौं । जुडो सचिवालयको प्रभावकारी व्यक्ति थिए । साँचो तथ्य के हो भने उनको क्षमता र नेपाली खेलकुदको परिस्थिति एकदम फरक । उनको पुरै क्षमता देखाउन नेपाल अनकूल भूमिकै थिएन । उनी हुइकिए, अमेरिकामा । उनी अहिले त्यो देशमा छन्, जुन देश सम्पूर्ण किसिमको संकीर्णताबाट मुक्त छ । क्षमतावान् व्यक्तिलाई क्षमतको पूर्ण उपयोग गर्न दिने अमेरिकामा उनी व्यस्त छन्, राम्रो जुडो प्राविधिकका रूपमा । नेपालको हकमा भने यो वर्ष खेलकुदको उत्कृष्ट प्राविधिक बिदेसिनु पीडादायक हो । उनी बिदेसिनुलाई युवराज लामा दुखद बताउँदै भन्छन्, ‘कुनै राम्रो प्रशिक्षक बिदेसिनुले पीडा त हुन्छ नै । ब्रेन ड्रेन र ट्यालेन्ट ड्रेन तेस्रो विश्वकै समस्या हो । हाम्रो आर्थिक समस्याकै कारण तेस्रो विश्वका स्तरीय व्यक्ति बिदेसिएका छन् ।
पूर्वीपहाडी जिल्ला भोजपुर । सामान्य जीवनयापनै कठिन । त्यसै भोजपुरका दानबहादुर तामाङले आफैँले कार्ट निर्माण गरे । सुरुमा राज शाह र त्यसपछि काठमाडौं अनि यदाकदा सुदूरपश्चिमको प्रभाव थियो । त्यो प्रभाव एकैपटक भत्कियो । दानबहादुर तामाङले आफैँले कोर्ट निर्माण गरे । ब्याडमिन्टन सिकाउन सुरु गरे । अहिले त्यसको प्रभाव देखिएको छ । उनका तीन छोराछोरी सरादेवी तामाङ, नङसलदेवी तामाङ र रत्नजित तामाङ अहिले उत्कृष्ट ब्याडमिन्टन खेलाडीका भएका छन् । उनीहरूलाई चुनौती दिने काम गर्ने दीपेश धामी पनि उनको बाबु हर्क सिंह धामीको यसै खाले अस्वाभाविक मिहेनत र समर्पणका कारण स्तरीय भएका हुन् ।
त्यसो त बाजालु कराते एकडेमीका प्रमुख ब्रधविक्रम मल्ल त्यसै कोटिका व्यक्ति हुन् । विद्यार्थीलाई जम्मा गर्नु, पढाइमा सहयोग गर्नु र खेलकुदको स्टारका रूपमा स्थापित गर्नु चानचुने काम होइन तर भ्याएका छन् । यी सबैका खातिर परिणाम पनि देखिएको छ । सुनील लामा, अनु अधिकारी, विमला तामाङ, मल्लिका थापा र लक्ष्मी भट्ट जस्ता नेपाली करातेमा चिनिएका नामको खेल जीवनमा ध्रुवको भूमिका महत्वपूर्ण छ ।
नेपाली तेक्वान्दोको स्तर खस्कँदो छ । विगतको भन्दा परिणाम त्यत्ति राम्रो छैन । यसैबिचमा गत वर्ष नयाँ खेलाडी उत्पादन गर्ने सोचका साथ थुप्रै जुनियर प्रतियोगिता सम्पन्न भए । यस खाले जुनियर प्रतियोगितामा सीतापाइला तेक्वान्दो डोजाङको प्रभाव रह्यो । यसभन्दा अघि प्रभावकारी कहलाइएका दुई डोजाङ, कोटेश्वर र स्युचाटार दुबैलाई पछि छाड्न सफल भए, सीतापाइलाका उत्पादनले । हेर्दा आफैँ खेलाडी जस्तो लाग्ने उमेरले ३० पनि नकाटेका बब्ले सिबाकोटीको प्रशिक्षणले सीतापाइलाले यो छलाङ मा¥यो । उनी पनि फरक स्वभावका छन् । आफैँ खेलाडी जम्मा गर्ने र अध्ययनमा समेत सहयोगी भूमिका राख्दै स्तरीय खेलाडी उत्पादनको उनको अभियानले विस्तारै सार्थकता पाएको छ । उनको सक्रियतालाई नियालिरहेका तेक्वान्दो प्रशिक्षक गोविन्द उपाध्याय भन्छन्, ‘साच्चै राम्रो गरेको छ । उसको मिहेनतको प्रतिफल देखिँदै छ ।’
प्रतिक्रिया