भारतलाई हराउँदै नेपाल फाइनलमा

Nepali-Girls-Football-Teamकाठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल काठमाडौंमा जारी एफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । अब नेपालले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्दै छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले बलियो छिमेकी प्रतिद्वन्द्वी भारतलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबारै भएको अर्काे सेमिफाइनलमा इरानलाई पराजित गर्दै बंगलादेशले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा नेपाललाई जिताउन खेलको ४४ औँ मिनेटमा निर्मला उपाध्ययले गरेको गोल निर्णयक बन्यो । निर्मलाले मञ्जली कुमारीको लामो पासमा २० यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । पहिलो हाफमा नेपाललाई दबाबमा राखे पनि भारतले गोल गर्न सकेन । दोस्रो हाफमा भने नेपालले भारतलाई दबाबमा राख्दै लगातार आक्रमण बुनिरह्यो । जसमा नै निर्मलाको गोल सम्भव भयो ।
ख्ेलको १२ औँ मिनेटमा रेखा पौडेलको फितलो प्रहार भारतीय गोलरक्षक केटाकी मांगलाको हातमा प¥यो । पहिलो हाफको अन्तिम समयमा सम्झना लावतीले गोल गर्ने मौका चुकाउँदा नेपालले पहिलो हाफमै अग्रता बनाउने मौका चुकाएको थियो । लगातार आक्रमण बुनिरहेको नेपालले ५२ औँ मिनेटमा निशा थोकरको फ्रिकिक प्रहार बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो ।
६५ औँ मिनेटमा निर्मला उपाध्ययको २० यार्ड टाढाको फ्रिकिक प्रहारलाई रेखा पौडेलले गोल गरे पनि त्यसलाई बंगलादेशकी सहायक रेफ्री मोनीले अफसाइड दिँदा गोलको खुसीयाली मनाउन पाएन । यस्तै, खेलको दोस्रो मिनेटमा नै करिश्माको प्रहार बारको केही माथिबाट बाहिरिँदा पाहुना टोलीले अग्रता लिने मौका चुकाएको थियो ।
५९ औँ मिनेटमा सोम्य गुगुलोथले दोस्रो बारमा प्रहार बललाई गोलरक्षक रविता कुमारीले उत्कृष्ट रूपमा बचाउ गर्दै सम्भावित बराबरी टारेका थिए । पछि नेपाली टोलीका प्रशिक्षक किशारे केसीले पहिलो हाफमा केही कमजोरी भए पनि दोस्रो हाफमा कमजोरीलाई सुधार्दै दोस्रो हाफमा गोल गर्न सफल हुँदा बलियो भारतविरुद्ध जित निकाल्न सकेको बताए । ‘भारतविरुद्धको खेल जितेपछि उपाधि जित्ने पक्का जस्तै छ ।’ प्रशिक्षक केसीले भने,‘अब उपाधि एक कदम मात्रै टाढा छ ।’
इता भारतीय टोलीकी प्रशिक्षक मेमोल रक्कीले घरेलु टोलीलाई भाग्यले साथ दिएको बताइन् । खेल बराबरी कै थियो । दुवै टोलीका गोलका अवसर सिर्जना गरेका थिए । तर, पानी परेपछि दोस्रो हाफमा खुलेर खेल्न नसक्दा पराजित हुन पुगेको उनले थपिन् ।
यस्तै शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा इरानलाई २–० ले पराजित गर्दै बंगालादेशले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । बंगालादेश यसअघि पहिलो संस्करणमा इरानसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । बंगलादेशलाई जिताउन कृष्णरानी र मार्जियाले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरिन् । इरानमाथि दबाब बनाएको बंगलादेशले खेलको २९ औँ मिनेटमा कप्तान कृष्णारानीको गोलबाट अग्रता बनायो ।
कृष्णारानीले अफसाइड विट ट्रयाप गर्दै सुन्दर गोल गरिन् । ६२ औँ मिनेटमा मार्जियाले रिवाउन्ड बलमा गोल गर्दै टोलीको जित पक्का गरिन् । मिर्जाको पहिलो प्रहार इरानी गोलरक्षकले रिवाउन्ड फालेपछि त्यसमै गोल गरिन् ।
इरानले पनि गोल गर्ने केही मौका पाएको थियो । तर, त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । जितपछि बंगलादेशका प्रशिक्षक घोला रोबनी छोटोनले नेपाली टोली उपाधिको दाबेदार तथा घरेलु दर्शकको पनि साथ हुने हुँदा घरेलु टोलीमाथि नेपालविरुद्ध जित निकाल्दै उपाधि जित्ने बताइन् ।
अब इरानले तेस्रो स्थानकाज्ञ लागि शनिबारै भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो एक बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताअन्तर्गत फाइनल तथा तेस्रो स्थानका लागि शनिबार प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल अपराह्न चार बजेपछि दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया