जकार्ताबाट प्रधानमन्त्रीले भने– स्वाइन फ्लु नियन्त्रण गर्नुपर्यो

Sushil-Koirala

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले एसियाली–अफ्रिकी सम्मेलनस्थल इन्डोनेसियाको जकार्ताबाट बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई टेलिफोन गरी जाजरकोटलगायत मुलुकका विभिन्न भागमा देखापरेको स्वाइन फ्लुको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

जाजकोटमा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएका हुन् । यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षासचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।

यसपूर्व प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेती र इपिडियोमोलोजी महाशाखाका प्रमुख डा बाबुराम मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रकोप रोक्न युद्धस्तरमा काम गर्न निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

टेलिफोन वार्ताका क्रममा मन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासको जानकारी दिएका थिए । प्रकोप नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीको अवस्था बुझ्न मुख्य सचि पौड्याल र स्वास्थ्यसचिव श्रेष्ठ आज जाजरकोट जाँदै छन् ।

प्रतिक्रिया