काठमाडौं, १० वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीले १९ वर्ष उपाधिहीन यात्रा गरे पनि उमेर समूहमा भने स्तरीय प्रदर्शनले निरन्तरता पाएको छ । साविक विजेता नेपाल काठमाडौंमा जारी एफसी यु–१४ क्षेत्रीय महिला च्याम्पियनसिपको ‘समूह ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले ‘समूह बी’को उपविजेता भारतसँग खेल्नेछ । अर्को सेमिफाइनल इरान र बंगलादेशबीच हुनेछ ।
समूहमा अपराजित रहने क्रममा नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंकालाई ८–० को भारी अन्तरले पराजित गर्यो ।
नेपालको जितमा रेखा पौडेल, मनीषा राउत र सरु लिम्बूले समान दुई–दुई गोल गरे । रज्जु खड्का र निशा थोकरले एक–एक गोल गरे । खेल सुरु भएको पहिलो मिनेटदेखि नै आक्रमण बन्न थालेको नेपालले खेलको १३औँ मिनेटमा गोलको खाता खोल्यो । मनीषा राउतको लामो पासमा रेखाले मैदानको मध्यभागबाट एक्लै बल अघि लगेर गोल गरिन् । श्रीलंकाकी गोलरक्षक देशानीलाई जिल्याउँदै उनले उत्कृष्ट गोल गरिन् । २१औँ मिनेटमा मनीषाले गोल गरिन् । २६औँ मिनेटमा मनीषाले नै टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । हुलमुलका बीच रेखाले उपलब्ध गराएको बललाई मनीषाले सिधै गोलमा परिणत गरिन् । २८औँ मिनेटमा सरुले थप गोल गरिन् ।
दोस्रो हाफमा नेपालले थप चार गोल गर्यो । ३९औँ मिनेटमा डिफेन्डर निशाले गोल गर्दे अग्रता ५–० मा पुर्याइन् । ४५औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् भने सरुले दुई मिनेटपछि नै अर्काे गोल थपिन् । ६४औँ मिनेटमा वैकल्पिक खेलाडी रज्जु खड्काले गोल गर्दै टोलीलाई ८–० को फराकिलो जित दिलाइन् । खेलमा नेपालले एक दर्जनभन्दा बढी गोल गर्ने मौका चुकाएको थियो । नेपालकी निर्मला उपाध्यायको अधिकांश प्रहार श्रीलंकाली गोलरक्षकले विफल पारेकी थिइन् । श्रीलंकाले कुनै पनि समय नेपाललको पोस्टमा आक्रमण गर्न सकेनन् । जितपछि नेपाली टोलीका प्रशिक्षक किशोर केसीले शक्ति सन्तुलनमा राख्दै नेपालले श्रीलंकाविरुद्व उत्कृष्ट खेलको नमुना पस्केको बताए । यस्तै श्रीलंकाली टोलीका प्रशिक्षक मेनका दिशानामयकेले खेलमा पराजित भए पनि टोलीले जारी प्रतियोगिताबाट अनुभव सँगालेको बताइन् ।
बुधबारमै भुटानलाई १६–० ले पराजित गर्दै बंगलादेश ‘समूह बी’को विजेता बन्यो । अर्को खेलमा माल्दिभ्सलाई १८–० ले हराउँदै इरान नेपालभन्दा पछि रहँदै समूह उपविजेता भएको हो । इरानले पहिलो हाफमा नौ र दोस्रो हाफमा नौ गोल ग¥यो । इरानकी फातेमी घाँसेनीले पाँचौँ, ११औँ, २६औँ, ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित पाँच गोल गरिन् । गोलनोस कोसरभीले आठौँ, १३औँ, ३५औँ र ४३औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित चार गोल गरिन् । हानिस खोदापारहस्तीले पनि खेलमा १४औँ, ५४औँ र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै साभा जाभादीले २९औँ र ५९औँ मिनेटमा गोल गरिन् । फातेमा तामासेवी, कियना काफियावादी, मार्यम मोहमादी र मोविना इतेमादाले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
सेमिफाइनलका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुनेछन् । प्रतियोगितामा सात टोलीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया