चार वर्षमा फेरिए समीकरण

Khelकाठमाडौ, ८ वैशाख । नेपालमा सक्रिय रहेका थुप्रै राष्ट्रिय संघहरूको पदावधि अर्को वर्ष सकिँदै छ । राष्ट्रिय खेलकुद परिषद्मा युवराज लामा सदस्यसचिव भएपछि सबै संघको साधारणसभा गर्र्न सर्कुलर गरेपछि थुप्रै संघको साधारणसभा ०६८ मा भएको थियो । ती संघको पदावधि ०७२ मा सकिँदै छ ।

यसअघि भएका साधारणसभा बक्सिङ, भलिबल, चेस र टेबलटेनिसको साधारणसभा चर्चामा रहेका थिए । चार वर्षअघि भएका साधारणसभाका पराजित शक्ति अहिले के गर्दैछन् ? ती संघको शक्ति सन्तुलन फेरिएको छ या छैन ? अबको साधारणसभामा कस्ता समीकरण बन्नेछन् । यी धेरैका लागि चासोका विषय हुन् । थुप्रै खेल संघका अधिकारी अहिलेदेखि नै साधारणसभामा आफ्नो अनुकूल प्रतिनिधि तयार पार्ने अभ्यासमा जुटेका छन् ।
लगातर दुईपटक निर्वाचनबाट नेतृत्व चयन गरेको नेपाल भलिबल संघको साधारणसभा सधैँ चासोको विषय हुने गरेको छ । यसअघि साधारणसभामा गजेन्द्र ताम्लीलाई पराजित गर्दै दानबहादुर तामाङ अध्यक्ष भएका थिए भने त्योभन्दा अघि हंशराज वाग्लेलाई हराउँदै गंगाबहादुर थापा अध्यक्ष भएका थिए ।
नेपाली भलिबललाई नजिकबाट नियाल्नेहरू संघभित्रका सबै गुट र उपगुट साधारणसभामा केन्द्रित भएको बताउँछन् । गत साधारणसभामा अन्तिम समयसम्म तामाङ र ताम्लीले चुनावी तयारी गरे पनि अन्त्यमा त्रिपक्षीय राजनीतिक संयन्त्र बन्दै तामाङको नेतृत्वमा बुद्धी कटुवाल महासचिव भएको प्यानल तयारी भएको थियो । अस्वाभाविक ढंगले जितेन्द्र चन्दले महासचिव तथा संयुक्त प्यानलबाहिरकै निरोज मास्केले कोषाध्यक्षमा चुनाव जितेकी थिइन् ।
हाल ताम्ली भलिबलको दुनियाँबाट टाढा रहेका छन् भने त्यसै प्यानलबाट चुनावको तयारी गरेर अन्त्यमा तामाङ प्यानलमा पुगेकाहरू अहिले एक भएका छन् । संघभित्र यो समूहको नेतृत्व टंकसिंह ठकुरी र मदन खड्काले गरिरहेका छन् । वर्तमान अध्यक्ष तामाङ, महासचिव चन्द र ठकुरी– खड्काको समूह अहिले भलिबलमा प्रस्ट देखिएको छ । यसको असर दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा पनि देखिएको थियो । सचिव ठकुरी र खड्काको भूमिकालाई गौण बनाइएको एकथरी बताउँछन् । यसो त एसियाली भलिबल महासंघले नेपाललाई एसिया प्यासिफिक बिच भलबिल आयोजनाको अवसर आए पनि गुमायो । समाचार स्रोत अध्यक्ष तामाङ र महासचिव चन्दबीचको गुटबन्दीले त्यो गुमिसकेको बताउँछ । भलिबल संघका अध्यक्ष तामाङ परिषद् सदस्यसचिव लामाका विश्वास पात्र मानिन्छन् ।
सचिव खड्का संघ अध्यक्ष र महासचिवको व्यवहारबाट आजित भएको बताउँदै भन्छन्, ‘हामीले दिएको जिम्मेवारी पूरा गरेका छौँ । तैपनि गुटबन्दी गर्दै हामीमाथि विश्वास नगरे भैmँ गरिन्छ ।’ उनले अध्यक्ष र महासचिवले संस्थागतभन्दा व्यक्तिगत तवरले संघ चलाएको बताए ।
गत साधारणसभाभन्दा फरक अवस्था बक्सिङमा पनि देखिएको छ । गत साधारणसभामा राजीव श्रेष्ठ र राम अवाले प्यानल चुनावी मैदानमा थिए । अहिले बक्सिङको क्षेत्रमा अवालको उपस्थिति कमै देखिन्छ । अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अर्जुन केसी र महासचिव दीपक गुरुङबीच एकै समूह बन्ने वा नयाँ समीकरण बन्ने भन्ने विषय धेरैको चासो बनेको छ ।
टेबलटेनिसमा चतुरानन्द वैद्यसँग चुनाव लडेका सुदिल शाहीको भूमिका अहिले देखिएको छैन । वैद्य नेतृत्वको विरुद्धमा प्रभावशाली प्राविधिकको समीकरण बनेको थियो । प्राविधिकहरूको यो समीकरण भत्काउनकै लागि सदस्य सचिव लामाले कर्मचारी अध्यक्ष, महासचिव र कोषाध्यक्ष हुन नपाउने नियम बनाएका थिए ।
त्यसै समयमा स्थगित हक्की संघको अधिवेशन अभैm भएको छैन । बक्सिङ र टेबलटेनिसको निर्वाचन एकपटक स्थगित पनि भएको थियो । बक्सिङ संघको निर्वाचनको असर परिषद् बोर्डमा समेत परेको थियो । बक्सिङ संघलाई हेर्ने सवालमा बोर्ड पनि दुई चिरामा विभाजित थियो ।

आयोजनाको  अवसर गुम्यो 

एसियाली भलिबल महासंघले नेपालाई बिच भलिबलको आयोजनाको अवसर दिएपछि बैठकमा यसबारे छलफल भएको थियो । अध्यक्ष तामाङले बैठकमा यसको प्रस्ताव राख्नेबित्तिकै तीन चिरा रहेको भलिबल संघमा अध्यक्ष पक्षका अन्य मौन रहे भने सचिव खड्कालगायतले राष्ट्रिय खेलकुद परिषद्ले दिएको सहयोगबाट दक्षिण एसियाली महिला च्याम्पियनसिप आयोजना गर्ने तथा एसियाली भलिबल महासंघको सहयोगमा बिच भलिबल आयोजना गर्न सकिने प्रस्ताव राखेको थियो ।

महासचिव चन्द पक्षले तत्काल दुई प्रतियोगिता व्यवस्थापनमा समस्या हुने भएकाले बिच भलिबल आयोजना नगर्ने अडान लियो । अध्यक्ष तामाङ समूह पनि महासचिव चन्दपक्ष हावी भएको थाहा पाएपछि मौन रहेको थियो ।

प्रतिक्रिया