१ सयको ठाउँमा झन्डै ४ सय

धनगढी, ७ वैशाख । कैलाली जिल्ला कारागार धनगढीमा क्षमताभन्दा बढी कैदी भएका कारण कैदीले निकै सास्ती खेप्नु परिरहेको छ । राणाकालीन अवधि १९९७ सालमा निर्मित उक्त कारगार एक सय जनाको मात्र क्षमता भए पनि हाल तीन सय ८० जना कैदी ठेलमठेल गरी राख्नु परिरहेको कैलाली कारागारका जेलर पुष्कर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार कारागारमा ३५ महिला र नौ जना आश्रित बालबालिकासमेत छन् । कारागारमा कैदी राख्ने ठाउँ नभएका कारण पुस्तकालयमा समेत १८ जना कैदी सुत्ने गरेको जेलर खड्काले बताए । गतवर्ष मात्रै ४० जना कैदीलाई बस्न मिल्नेगरी टिनले छाएको एक टहरा निर्माण गरिएको भएता पनि त्यसबाट समस्या समाधान हुन नसकेको उनले बताए ।
कारागारमा क्षमताभन्दा बढी कैदी भएका कारण शौचालय, धाराको प्रयोग जस्ता कुरामा निकै समस्या भइरहेको छ । बर्र्साैंदेखि राणाकालीन जेल घरमा कैदीहरू ठेलमठेल गर्दै आएका थिए । समस्याले विकराल रूप लिन खोजेपछि मात्रै चार नम्बर र पाँच नम्बर भवन निर्माण गरिएको थियो ।
उक्त भवनले केही राहत दिए पनि त्यो प्रयाप्त नभएको जेलर खड्का बताउँछन् ।
उनका अनुसार जेल जीवन व्यतित गरिरहेका मानिसले बस्ने, खाने, खेल्ने र सुत्ने व्यवस्था नपाउँदा पटकपटक गुनासो पोख्ने गरेका छन् । बस्ने ठाउँको अभाव भएका कारण महिलाका लागि भनेर छुट्टयाइएको स्थानमा पनि पुरुषलाई राख्नु परेको छ । जसका कारण महिलाका लागि गतवर्ष छुट्टै कोठाको निर्माण गर्नुपरेको थियो ।
विगतमा महिलाका लागि भनेर प्रयोग हुँदै आएको भवनमा हाल ठाउँ अभाव भएपछि पुरुषलाई राखिएको जेलर खड्काले बताए । कैलाली कारागारमा बर्सौंदेखि उक्त समस्या रहेको र उचित व्यवस्थापनका लागि सरकारले कुनै पहल नगरेको कैदीको गुनासो छ ।
शौचालय जानका लागि लामो समयसम्म लाइन लाग्नुपर्ने र दैनिक रूपमा कष्ट बेहोर्नु परिरहेको पनि जेलर खड्काले बताए । यस सम्बन्धमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँग सम्पर्क गर्न खोज्दा उनी जिल्ला बाहिर भएका कारण सम्पर्क हुन सकेन ।

प्रतिक्रिया