मागबमोजिम आपूर्ति गर्न सक्दैन टिम्बर कर्पोरेसन

Daura Nepali Mahilaकाठमाडौं, १६ चैत । टिम्बर कर्पोरेसनले पर्याप्त काठ दाउराको मौज्दात गर्न नसक्दा मागअनुसारको आपूर्ति हुन सकेको छैन ।

वन व्यवस्थापनबाट प्राप्त हुने काठ, दाउरा व्यवस्थापन तथा व्यवसाय गर्दै आएको सो संस्थाले गोलिया काठ उत्पादनका लागि समयमै वनक्षेत्रको कार्य गर्न नसकेकाले समस्या आएको हो ।

दैवीप्रकोप पीडित परिवारको राहत, कृषि औजार, दाहसंस्कारका कार्यलगायतलाई सहुलियत एवम् निश्चित मूल्यमा र औद्योगिक–व्यापारिक प्रयोजनका लागि कर्पोरेसनले सरल र सुलभ मूल्यमा वस्तु उपलब्ध गराउने गरेको छ । तर मागअनुसारको आपूर्ति हुन सकेको छैन ।

गत आर्थिक वर्षमा करिब दश लाख ५० हजार क्युफिट गोलिया तथा दुई लाख क्युफिट चिरान उत्पादन गर्ने लक्ष्य राखिएकामा तीन लाख १३ हजार क्युफिट गोलिया तथा एक लाख ७५ हजार क्युफिट चिरान मात्र बिक्री भएको कर्पोरेसनका महाप्रबन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

संस्थासँग अहिले विभिन्न बैंकमा मौज्दात २५ करोड छ भने २०७० असार मसान्तसम्म कर्मचारीको दायित्व २० करोड छ । यस्तै स्वेच्छिक अवकाशका लागि अर्थ मन्त्रालयबाट लिइएको १५ करोड ऋणमध्ये छ करोड तिर्न बाँकी छ ।

जिल्ला वन कार्यालयबाट प्रायः आर्थिक वर्षको अन्तिममा मात्र कर्पोरेसनलाई ‘वन क्षेत्र’ प्राप्त हुँदा सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्कापट्टाको व्यवस्था मिलाउन समयको अभाव हुने समस्या पनि सो संस्थाले झेल्दै आएको छ ।

त्यसैले कर्पोरेसनको काठजन्य वन पैदावारको व्यवस्थित सङ्कलन, सदुपयोग र विक्री वितरणमा ढिलाइ तथा व्यापार कम हुँदै आएको छ ।

कर्पोरेसनले अहिले तराई, भित्री मधेस तथा पहाडी जिल्ला गरी विभिन्न ३४ जिल्लाबाट काठ, दाउराको स्रोत विकास गरेको छ । उनले राष्ट्रिय सामुदायिक तथा साझेदारी वनबाट प्राप्त वनक्षेत्रमा काठ दाउरा सङ्कलन एवम् चिरान गरी बिक्री बितरण समेत गरेको बताए ।

काठ, दाउराको कारोबार गर्न प्राधिकरण गठन गर्न भएको नीतिगत निर्णयअनुसार प्राधिकरण हालसम्म गठन भई नसकेकाले कर्पोरेसन लामो समयदेखि काम चलाउको अवस्थामा देखिन्छ । संस्थामा २४७ दरबन्दी रहेकामा हाल ११४ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया