कसले सुन्ने ज्येष्ठ नागरिकको माग !

काठमाडौं, १३ चैत । वृद्धाभत्ता वृद्धि गर्नुपर्नेलगायत ८ सूत्रीय माग राखेर २५ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन ।

२५ महिना धर्ना बस्दा पनि आफ्ना मागप्रति सरकार गम्भीर नभएको ज्येष्ठ नागरिकको गुनासो छ । २५ महिना धर्ना बस्दाबस्दै ११ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।

ज्येष्ठ नागरिक संघर्ष समितिको नेतृत्वमा २०६९ फागुन २४ गतेदेखि निरन्तर धर्ना दिँदै आएका उनीहरुले सर्वोच्च अदालतबाट २०६७ सालमा सरकारको नाममा जारी गरिएको परमादेश तत्काल लागू गर्नुलगायतका माग राखेका छन् । ज्येष्ठ नागरिकले हाल पाउँदै आएको मासिक रु पाँच सयलाई बढाएर कम्तीमा तीन हजार पु¥याउनुपर्ने उनीहरूको माग छ ।

मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडि  धर्ना दिने ज्येष्ठ नागरिक ६० देखि ९८ वर्षसम्मका छन् ।

‘हामीले राखेका मागमध्ये काठमाडौं र भक्तपुर जिल्लामा मात्र यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था र मुलुकभरी सबै मठमन्दिरमा ज्येष्ठ नागरिक लाइन बस्नुनपर्ने व्यवस्था मात्रै सरकारले गरेको छ, अन्य मागका बारेमा सरकार गम्भीर भएको छैन,’ संघर्ष समितिका महासचिव सरस्वती रिजालले भनिन् ।

विभाग अगाडि धर्ना बसेका ज्येष्ठ नागरिकालाई केही महिना अगाडि अन्यत्र सारिए पनि पुनः सोही स्थानमा धर्ना बस्न दिइएको छ । आफ्ना माग पूरा नभएसम्म धर्ना बस्न नछोड्ने महासचिव रिजालको भनाइ छ ।

लामो समयदेखि ज्येष्ठ नागरिकले पैतृक सम्पतिमा छोरा÷छोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोरा÷छोरीको नाममा नामसारी गर्न नपाइने मागसमेत गर्दै आएका छन् । पछिल्लो समय आमाबाबु वृद्धवृद्धा हुँदै गएपछि सम्पूर्ण सम्पत्ति आफ्नो नाममा गराएर उनीहरूलाई वृद्धाश्रम वा सडकमै छोड्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ ।

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २६ लाख  छ ।

प्रतिक्रिया