उनासी जनामा स्वाइनफ्लु प्रमाणित

Swine Fluचितवन, १० चैत । चितवन जिल्लामा स्वाइनफ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेर गएको छ । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या पनि बढेर गएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालबाट नमुना सङ्कलन गरी पठाइएका २ सय ६१ वटा नमुनामध्ये ७९ मा स्वाइनफ्लु प्रमाणित भएको छ ।

जसमध्ये चितवनका मात्रै ६८ छन् । नवलपरासीका सात, तनहुँ, रुपन्देही, गोर्खा र पर्साका एक–एकजना भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

स्वाइनफ्लु प्रमाणित भएकामध्ये ४२ महिला र ३७ पुरुष रहेका छन् ।

हालसम्म ३ सय ६७ को नमुना परीक्षणका लागि पठाइएकामा १ सय ६ को नतिजा आउन बाँकी रहेको केसीले बताए ।

यसअघि २ सय ४ को नमुना परीक्षण गर्दा ५३ मा स्वाइनफ्लु प्रमाणित भएकामा सोमबार आएको नतिजामा थप ५७ मध्ये २६ मा स्वाइनफ्लु प्रमाणित भएको हो ।

चितवनमा गत वर्ष ११ र अघिल्लो वर्ष १० मा स्वाइनफ्लु प्रमाणित भएको थियो ।

रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया