‘युनियनहरुका कारण अराजकता मौलाएको छ’

काठमाडौं, १० चैत । निजामती कर्मचारी संयन्त्रमा ट्रेड युनियनको कारण अनुशासनहीनता र अराजकता मौलाएकाले यथाशक्य यसलाई व्यवस्थित बनाउन नसके मुलुक नै असफल हुन सक्नेतर्फ सतर्क रहन संसद्ले सरकारलाई चेतावनी दिएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिका सदस्यहरूले भने, ‘निजामती सेवाभित्र ट्रेड युनियनको हालको भूमिका क्यान्सर जस्तो भइसकेको छ ।’

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरुवा र पदस्थापनमा वस्तुनिष्ठ मापदण्ड बनाउन कठिन भएको बताए । उनले कर्मचारी सेवाग्राह र सेवा प्रवाहतर्फ उदासीन देखिएको तथा आत्मकेन्द्रित प्रवृत्ति बढ्दै गएको जानकारी गराए ।

कर्मचारीको सरुवा र काजमा अत्यधिक दबाब रहेको र  युनियन पेसागत हकहितमा भन्दा सरुवामा केन्द्रित हुने गरेको पण्डितले स्वीकार गरे । मन्त्री पण्डितले भने, ‘जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारीको समेत छिटो सरुवा हुने गरेको र अन्तरमन्त्रालय सरुवा गर्न दबाब आउने गरेको छ, कर्मचारी काम छाडेर साउन र भदौ महिनामा सरुवाका लागि लाग्ने प्रवृतिले अप्ठेरो पारेको छ ।’

निजामती सेवामा अत्यधिक राजनीतिक प्रभाव बढ्दै गएर ट्रेड युनियनको मुख्य काम सरुवा बढुवामा केन्द्रित हुन थालेको बताउँदै सांसदहरूले अब यसलाई राज्य र जनताप्रति उत्तरदायी बनाउने हो भने छिटोभन्दा छिटो आधिकारिक निर्वाचन गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

उद्योगमा काम गर्ने श्रमिकको जस्तो नभएर निजामती कर्मचारी स्वयम् बुद्धिजीवी र राज्यको प्रनितिधि भएकाले मालिकसँग सौदाबाजी गर्न खोलिएका ट्रेड युनियन जस्तो भूमिका हुनै नसक्ने धारणा राख्दै सदस्यले पछिल्लो समय समग्र निजामती भनसुनमुखी हुँदै गएको उनले बताए ।

प्रतिक्रिया