विदेशमा युवतीहरू बेचबिखन गर्ने गिरोह पक्राउ

Nepali Police Logoकाठमाडौं, ३ चैत । अफ्रिकी र खाडी मुलुकहरूमा नेपाली युवती बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका सातजनाको गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

गिरोहसँग नेपाली युवतीलाई विदेश पठाउन प्रयोग गरिएका कागजात र नगदसहितका सामानपनि बरादम भएका छन् ।

यो गिरोहले नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुक ताञ्जानिया, केन्या, युगान्डाका साथै युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकहरूमा बेचबिखन तथा ओसार पसार गर्ने कार्यमा संलग्न रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर ईमाडोल–६ घर घई काठमाडौं–१४ कलंकी बस्ने ३४ वर्षीय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौं–७ वटु घर भई मैतीदेवी तथा कालोपुल बस्ने ३७ वर्षीय सविन श्रेष्ठ भन्ने सविनराजा मानन्धर रहेका छन् ।

त्यसै गरी, भारत नयाँदिल्ली घर भएका २७ वर्षीय रियान भन्ने तरुण रोजना खनगवाल, काठमाडौं ईचङगु–६ ठूलो भर्‍याङ्ग बस्ने ३२ वर्षीय ललितराज सिंह सुवाल, मोरङ्ग विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ वर्षीय सुनिल अधिकारी, संखुवासभा आखीभई–८ घर भई काठमाडौं सिनामंगल बस्ने ३४ वर्षीय केदारबहादुर खड्का र धनकुटा आखीसल्ला–६ घर भई काठमाडौं मैतिदेवी बस्ने ३४ वर्षीय नवीन दाहाल रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सविनराजा मानन्धरको घरबाट ८ लाख ५४ हजार ५ सय रुपियाँ र दुबई, केन्या, ताञ्जानियालगायतका देशहरूबाट विभिन्न रेमिटेन्समार्फत पठाएको नगद ७० लाख ५० हजारको रिसिप्ट विलहरूपनि बरामद गरेको छ ।

राजेन्द्र सुवेदीबाट ८० हजारका साथै अमेरिकी डलर १ सयको १ थान नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

सुनिल अधिकारीबाट ९९ हजार र अमेरिकी डलर १ सयको १ थान, विभिन्न युवतीहरूको राहदानी २४ थान, नागरिकता १२ थान, विभिन्न बिद्युतीय सञ्चार माध्यमहरूमार्फत तस्करीको कारोबर गर्न आदान प्रदान भएका तस्बिरहरू, पासपोर्ट, ई–टिकेट, ई–भिसालगायतका समान बरामद गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया