काठमाडौं, २८ फागुन । गरिबी निवारण कोषका निलम्बित कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्म व्यापकरुपमा अनियमितता भएको भनी परेको निवेदन उपर छानबिन हुँदा आव २०६६/६७ मा रु ५५ लाख नौ हजार २२८, आव २०६७/६८ मा एक करोड २१ लाख ५४ हजार २०७४ र आव २०६८/६९ मा एक करोड एक लाख ९८ हजार ५९ समेत गरी तीन आर्थिक वर्षको अवधिमा दुई करोड ७८ लाख ६१ हजार ३६१ हिनामिना भएको देखिन आएको आयोगले जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठसहित कार्यप्रबन्धक धनराज साह, लालबहादुर सिवा, सन्दीपनाथ उप्रेती अजयकुमार पटेल, जयराज पन्त, सञ्जयकुमार झा, अखिलेशचन्द्र दास, हरेराम वाग्ले, दुर्गाबहादुर गान्धारी, लेखा अधिकृत दीलिपराज जोशी, प्रविन घिमिरे, मनोज चिपालु, सतिशकुमार चौधरीविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।
कोषका कार्यप्रवन्धकले फिल्डमा कार्यक्रम सम्पन्न गरेको भनी पेस्की फछ्र्यौटका लागि पेस गरेका कागजातमा सहभागी भएका भनिएका व्यक्तिको सहभागिता पुष्टी हुने कुनै आधार तथा प्रमाण नदेखिएको, तालिमलगायतका अन्य कार्यक्रम सञ्चालन गर्दासमेत प्रशिक्षकको योग्यता तथा छनोट विधि, कार्यक्रम सञ्चालन समय तालिका, तालिमको विषयवस्तु, प्रशिक्षकले पेस गरेको कार्यपत्र आदि संलग्न गरेको नभेटिएको आयोगले जनाएको छ ।
सामान्य बैठक र छलफलमा सहभागीको झुठो उपस्थिति तयार गरी त्यसबापत भएको खर्च भनी बिल पेस गरेर भुक्तानी लिने गरेको, प्रमाण गरी सहभागीलाई दैनिक भ्रमण भत्ता भुक्तानी दिनुपर्नेमा सो संलग्न नगरिएको, हल नै नभएको स्थानमा कार्यक्रम सञ्चालन गरेको भनी देखाइएको समेतका तथ्यबाट हुँदै नभएको कार्यक्रमको नाममा झुठा बिल भरपाइ पेस गरी भुक्तानी लिएदिएको देखिएको आयोगले जनाएको छ ।
कार्यप्रबन्धकहरूको कोषसँग भएको करार सम्झौताको सर्त तथा कोषको कार्यविधि अनुरुप कुल कार्य दिनको ६० प्रतिशत समय फिल्डमा नै बसेर कार्य गर्नुपर्ने दायित्व तथा जिम्मेवारी भएका कार्यप्रबन्धकले सो सर्त बमोजिमको कार्य दिन फिल्डमा नबसी काम नै नगरी फिल्डमा गई कार्यक्रम सञ्चालन गरेको भनी झुठा कागजात तयार गरी पेस गरेको देखिएको आयोगले जनाएको छ ।
पेस्की फछ्र्यौटका लागि पेस भएका झुठा बिल भरपाइसमेतका कागजातलाई लेखा सहायक सतिशकुमार चौधरीसमेतको मिलेमतोमा, बदनियतपूर्वक कागजात तयार गरी वित्त तथा प्रशासन प्रमुख मनोज चिपालुबाट रुजु भई कार्यकारी निर्देशक राजबाबु श्रेष्ठ समक्ष पेस गरी स्वीकृत गर्ने कार्यमा संलग्न १४ जनाविरुद्ध आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय निरीक्षक घुस लिदालिदै पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, भक्तपुरका विद्यालय निरीक्षक कोमलनाथ घिमिरेले घुस लिदेलिदै पक्राउ गरेको छ ।
भक्तपुरको पलासेस्थित बालगणेश इङ्लीस स्कुलको कक्षा स्तरोन्नती गर्नका लागि घिमिरेले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले ३० हजारसहित मध्यपुर ठिमीको एक चियापसलबाट नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया