हामी बाधक होइनौं : प्रचण्ड

prachandaकाठमाडौ, २८ बैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी संविधान निर्माण प्रक्रियाको विरोधी नभएको बताएका छन् । उनले आफ्नो पार्टी संविधान निर्माणको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।
विराटनगरमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनको विषयमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाको एउटा पक्षका हैसियतले संविधान निर्माण प्रक्रिया आफ्नो पार्टीको महत्वपूर्ण एजेन्डा भएको बताए ।
एमाओवादीलाई संविधान निर्माण प्रक्रियाको अवरोधका रूपमा चित्रण गर्न खोजिएकामा आपत्ति प्रकट गर्दै उनले त्यस्तो प्रचार गर्नेहरूले मुलुकको आवश्यकता र चाहनालाई आत्मसात गर्न नसकेको धारणा राखे । आफ्नो पार्टीमा कुनै पनि वैचारिक तथा सैद्धान्तिक विवाद नरहेको जिकिर गर्दै उनले राष्ट्रिय सम्मेलनले अगाडि सारेको नीति तथा कार्यक्रम सबैको सहमतिमा एकमतले पारित गरेको दाबी गरे ।
नेता डा. बाबुराम भट्टराईले केन्द्रीय समितिमा नबस्ने घोषणा गर्दा आफू आश्चर्यमा परेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘उहाँले त्यस्तो निर्णय गर्नु होला भन्ने लागेको थिएन, तर त्यस्तो भइहाल्यो, आगामी दिनमा उहाँको भावनालाई समेटेर केन्द्रीय समिति विस्तार गर्ने र समेटेर लैजान प्रतिवद्ध छु ।’
राजनीतिक तथा सैद्धान्तिक रूपमा पार्टीमा विवाद नभएका कारण पछिल्लो दिनमा देखिएको विवाद समाधान हुनेमा आफू आशावादी रहेको भन्दै उनले मुलुकको आवश्यकता र जनताको चाहना पनि कम्युनिस्ट पार्टी र घटकको बीचमा एकताको जरुरी रहेको जीकिर गरे ।
गत साल सम्पन्न साताौ महाधिवेशनको कार्यादेशअनुसार पार्टीको केन्द्रीय समिति १ सय ५१ नै बनाउन लागिएको भन्दै सबै पक्ष, क्षेत्रलाई समेट्न सम्भव रहेको उनको धारणा थियो ।
एकीकरणको प्रयास
आफ्नै पार्टीबाट विभाजित भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको भन्दै उनले राजनीतिक एजेन्डा र समयको मागले पनि दुई पार्टीलाई एक ठाउँमा उभ्याउने वातावरण बनेको दाबी गरे ।
‘तत्कालै पार्टी एकता त नहोला तर विस्तारै एकताको प्रक्रिया अगाडि बढ्ला भन्नेमा म विश्वस्त छु, त्यसका लागि राजनीतिक विचार र सिद्धान्तसमेत मिल्नुपर्छ,’ अध्यक्ष दाहालले भने, ‘दुई पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले शान्ति र संविधान निर्माण प्रक्रियाबाट बाहिर जाला की भन्ने आशङ्का पालेर नकारात्मक प्रचार गरेको उनको टिप्पणी थियो । उनले शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साका रूपमा रहेको आफ्नो पार्टी र नेकपा–माओवादीलाई माइनस गरेर अगाडि बढ्न खोजिए त्यो आफूहरूका लागि कुनै पनि हालतमा स्वीकार्य नरहेको बताए ।
बैठकमा जान्छौं : पौडेल
काठमाडौ : एकीकृत नेकपा माओवादीका नेता एवं डा. बाबुराम भट्टराई पक्षधर प्रभावशाली नेता देवेन्द्र पौडेलले पार्टीलाई सहमतिमा अघि बढाउन अध्यक्ष प्रचण्ड सकारात्मक देखिएकोले केन्द्रीय समितिको बैठकमा आफूहरू सहभागी हुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू र नेता टोपबहादुर रायमाझीले अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेको र उनीहरू १५१ सदस्यीय केन्द्रीय समिति बनाउनेलगायत मागमा सकारात्मक रहेकोले बैठकमा सहभागी हुने स्थिति पैदा भएको बताए ।
साक्षात्कारमा पौडेलले भने, ‘बाबुराम भट्टराई बैशाख ३० गते काठमाडौं आइपुग्नु हुने भएकोले जेठ १ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक सार्न आग्रह गरेका छौं । अध्यक्षले बैठक सार्नु भयो भने हामी आन्तरिक छलफल गरेर बैठकमा सहभागी हुन्छौं । बैठक सार्नु भयो भने पहिलो बैठकमै नभए दोस्रो बैठकमा सहभागी हुन्छौं ।’ उनले आफूहरूले पार्टी फुटाउन विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार नगरेको स्पष्ट पार्दै अध्यक्षले महानता देखाउँदै गुटबन्दीको राजनीति छाडे पार्टी एक भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
पौडेलले आफूहरूको मागको विषयमा अध्यक्ष प्रचण्डलाई स्पष्ट पारिसकिएको जानकारी दिदै अझै पनि मागलाई बेवास्ता गरेर पेलेरै अघि बढ्ने नीति लिए चुप लागेर नबस्ने विकल्प खोजेर अघि बढ्ने स्पष्ट पारे ।
संविधानका विवादित विषयहरूमा सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिदै सरकारले त्यसको लागि समन्वय गर्न नसकेको र अन्य काममा समेत सरकार असफल भएको निष्कर्षमा आफूहरू पुगेको बताए ।

प्रतिक्रिया