भट्टराई पक्षलाई फकाउँदै प्रचण्ड

prachandaकाठमाडौं, २७ बैशाख । एकीकृत नेकपा माओवादीभित्रको विवाद चुलिदै गएपछि अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट पक्षलाई फकाउने र पार्टी फुट्न नदिने अभियानमा जुटेका छन् । डा.बाबुराम भट्टराई पक्षधरले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम पक्षधरलाई केन्द्रीय समितिमा ल्याउन पहल सुरु गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा एमाओवादी वरिष्ठ नेता भट्टराई केन्द्रीय समितिको कुनै पनि पदमा नबस्ने घोषणा गर्दै तिर्थाटनमा निस्केका छन् । भट्टराई मानसरोवर गएको मौकामा अध्यक्ष दाहालले भने भट्टराई पक्षीय नेताहरुसँग छलफल सुरु गरेका छन् । अध्यक्ष दाहालले शनिबार नेता देवेन्द्र पौडेलसँग छलफल गरेको स्रोतले बतायो । भट्टराई नेपालमा नभएको बेला पौडेलसँग भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
दाहाल निकट भनेर चिनिने नेता कृष्णबहादुर महराले पनि शनिवार पौडेलसँग छुट्टै छलफल गरेका छन् । दाहाल र महरा दुवैले पौडेललाई केन्द्रीय समितिमा आउन आग्रह गरेको स्रोतको दाबी छ । दाहाल निवास लाजिम्पाटमा भएको भेटमा उनले आफूले पार्टीमा कुनै भेदभाव नगर्ने दाबी गर्दै सबैलाई समेटेर अघि बढ्न आफू तयार रहेको भन्दै केन्द्रीय समितिमा बस्न पौडेललाई आग्रह गरेका थिए ।
भेटका क्रममा विराटनगर सम्मेलनमा भट्टराईले गरेको निर्णयले गलत सन्देश गएको भन्दै कमी–कमजोरी सच्याएर एकजुट भएर अघि बढ्नुपर्नेमा दाहालले जोड दिएका थिए । दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रोबीचमा भएका कमी–कमजोरी सच्याएर अघि बढौं, पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेर अघि बढौं, तपाईहरुले पनि केन्द्रीय समितिमा बसेर सहयोग गर्नुपर्‍यो ।’
जवाफमा पौडेलले बावुराम भट्टराई निकट कार्यकर्तालाई अपमान गर्न खोजेकाले पार्टीमा यस्तो अवस्था आएको भन्दै सबैको नेता बन्न दाहाललाई आग्रह गरेका थिए । उनले आफूहरु विशेष महाधिवेशनको पक्षमा रहेको भन्दै पार्टीमा रहेका बिबाद त्यसैले मात्रै हल गर्न सक्ने तर्कसमेत गरेका थिए । त्यसैले विशेष महाधिवेशन बोलाउन उनले अध्यक्ष दाहाललाई आग्रह गरेको पनि जानकारी दिए । पौडेलले छुट्टै पार्टी बनाउने पक्षमा आफू नरहेको भन्दै यही पार्टीलाई नै रुपान्तरण गरेर नयाँ बनाउनुपर्ने पक्षमा आफूहरु रहेको धारणा राखेका थिए ।
एमाओवादी नेता पौडेलले पनि आफूले अध्यक्ष दाहालसँग विराटनगर सम्मेलनपछि पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेको स्वीकार गरे । ‘पार्टीमा देखिएको समस्याबारे अध्यक्ष कमरेडसँग छलफल भएको हो, कमी–कमजोरी सच्याएर पार्टीलाई रुपान्तरण गरौं भन्ने छलफलको निष्कर्ष छ’, पौडेलले सौर्यसँग भने ।
दाहालले भट्टराई पक्षीय अर्का नेता टोपबहादुर रायामाझीसँग पनि भेटवार्ता गर्ने तयारी गरेको लाजिम्पाट स्रोतले जानकारी दियो । रायमाझीले नयाँ पार्टी छिट्टै बन्ने अभिव्यक्ति दिएपछि एमाओवादीभित्र त्यसले तरङ्ग पैदा गरेको छ । रायमाझीले बाबुरामको नेतृत्वमा छिट्टै नयाँ शक्ति बन्ने घोषणा गरेपछि पार्टीमा उनको चर्को विरोध भएको थियो । रायमाझीले भने तत्काल नयाँ पार्टी खोल्ने अभिव्यक्ति आफूले नदिएको दाबी गर्दै आएका छन् । भट्टराई निकट नेता रायमाझीले विशेष महाअधिवेशन नभएसम्म आफूहरुको अडान कायम रहेको भन्दै त्यसबेलासम्म आफूहरु कुनै पदमा नबस्ने दाबी गरे ।
दाहाल निकट एमाओवादी नेता तथा कार्यालय सदस्य पोष्टबहादुर बोगटीले बाबुराम भट्टराई निकट केन्द्रीय नेताहरुसँग छलफल चलेको स्वीकार्दै भट्टराई पक्षधरलाई पनि समेट्ने बताए । ‘हाम्रो उहाँहरुसँग छलफल चलिरहेको छ, हामीलाई पूर्णविश्वास छ उहाँहरु पार्टी छोड्ने निर्णय गर्नुहुन्न’, बोगटीले भने ।

प्रतिक्रिया