दस्तावेजमाथि छलफल सुरु

balkhu copyकाठमाडौं, १४ बैशाख । नवौं महाधिवेशन नजिकिदै गर्दा नेकपा एमालेले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजबारेको छलफललाई तीब्रता दिएको छ । दस्तावेज लेखनको जिम्मा पाएका अध्यक्ष झलनाथ खनालले तयार गरेको दस्तावेजबारे आइतबारबाट मस्यौदा समितिमा छलफल सुरु भएको छ । दस्तावेजमाथिको छलफल सुस्त भएपछि महाधिवशेनबारे विभिन्न खालका टिका–टिप्पणी भइरहेको बेला एमालेले दस्तावेज माथिको छलफललाई तीब्रता दिएको हो ।
‘महाधिवेशनमा एउटै दस्तावेज ल्याउँने गरी छलफललाई केन्द्रित गरेका छौं,’ पोलिट्व्युरो सदस्य पृथ्वी सुव्वा गुरुङले भने, ‘राज्य पुनर्संरचना, शासकीय स्वरुप, नेपाली समाजको चरित्रलगायत विषयमा केही मतभिन्नता रहेको छ, यसलाई छलफलबाटै टुङ्ग्याउँछौं ।’ केन्द्र बलियो र स्थानीय विषेशताका आधारमा स्वायत्ततासहितको स्थानीय सरकारसहितको प्रणाली दस्तावेजमा राख्न आफूले सुझाव दिएको उनले बताए । दस्तावेज माथिको छलफलमा केही ढिलाई भए पनि त्यसले महाधिवेशनमा असर नगर्ने गुरुङको भनाई छ । आइतबार पार्टी मुख्यालय बल्खुमा बसेको दस्तावेज मस्यौदा समितिमा सदस्यहरुले दस्तावेजमा धेरै कुरा छुटेको भन्दै समेटेर जानुपर्ने सुझाव दिएका थिए ।
आइतबारको बैठकमा समितिका सदस्य विष्णु रिमाल, परशुराम मेघी गुरुङ, वामदेव गौतम, रघुबीर महासेठ, केशवलाल श्रेष्ठ पृथ्वी सुब्बा गुरुङसहितले आफ्नो धारणा राखेका थिए । जवजलाई संवृद्ध पार्ने विषय र सामाजिक चरित्रबारे गहिरो बहस हुनुपर्नेमा ती सदस्यहरुको जोड थियो । उनीहरुले दस्तावेजमा छुटेका विषयलाई समावेश गर्दै अघि बढ्नुपर्ने सुझावसमेत दिए ।
चैत मसान्तसम्म राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने, ५ देखि १० बैशाखसम्म केन्द्रीय कमिटीमा छलफल गर्ने र १५ बैशाखबाट तल्लो कमिटीमा छलफल सुरु गर्ने कार्यतालिका भए पनि सोअनुरुप काम हुन सकेको छैन । नेपाली समाजको चरित्र, २०६२–६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण, मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको परिमार्जन, मित्र शक्ति र शत्रु शक्तिको पहिचान, आगामी कार्यदिशालगायत विषयमा एमालेभित्रको एउटा पंति अझै अस्पष्ट रहेको आरोप लाग्दै आएको छ । परिवर्तित सन्दर्भलाई अस्वीकार गर्ने यो पंतिकै कारण पार्टीमा अनावश्यक विवाद रहँदै आएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।
खनाल चीन जाँदै
नवौं महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल केही नेता सहितको टोली लिएर आगामी साता चीन जाने भएका छन् । महाधिवेशनको तयारी तीब्र भइरहेका बेला एमाले अध्यक्ष खनाल १० दिन लामो भ्रमणमा चीन जाने भएका हुन् ।
केही नेताले भने महाधिवेशनका मुखमा अध्यक्षको भ्रमणले तयारी प्रभावित हुने आशंका गरे । पार्टीको निर्धारित कार्यक्रमअनुसार नै अध्यक्षसहितको टोली आउँदो २३ बैशाखमा डेढ साताका लागि चीन भ्रमणमा जान लागेको एमालेले जनाएको छ ।
एमाले सचिव सचिव विष्ण्ुा पौडेलले अध्यक्षको भ्रमणले महाधिवेशनमा प्रभाव नपर्ने दाबी गरे । ‘अध्यक्षको कामको व्यवस्थापन गरेर नै भ्रमणको कार्यक्रम तय भएको हो’, उनले भने । चीनमा कुन तहका अधिकारीलाई भेट्ने भन्ने विस्तृत कार्यतालिका अझै आइसकेको छैन । अध्यक्ष खनालसहितको टोलीले युनान, सान्दुङ, बेइजिङलगायत स्थानको भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया