एमाओवादीलाई चटारो

काठमाडौ, १० बैशाख । दस्तावेज लेख्नका लागि गोप्य स्थान खोज्दै काभ्रे पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल राजधानी फर्किएका छन् । पार्टीको राजनीतिक दस्तावेज लेखेर बुधबार दाहाल काभ्रेबाट काठमाडौं फर्किएका हुन् । सांगठनिक तथा समसामयिक राजनीतिक विषयमा दिनभर लगाएर दाहालले दस्तावेज लेखेको उनको सचिवालयले जनाएको छ । दस्तावेज अन्तिम चरणमा पुगेको र त्यसलाई काठमाडौंमा बसेर पूर्णता दिने दाहालको तयारी रहेको छ ।
अध्यक्ष दाहाल मंगलबार काभ्रेको नमोबुद्ध रिसोर्ट गएका थिए । आगामी १८ बैशाखदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलनका लागि दाहाल राजनीतिक दस्तावेज लेख्न काभ्रे गएका हुन् । एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा पार्टीमा आफ्नो स्पेस खोजिरहेको अवस्थामा सबैलाई मिलाएर सम्मेलनमा दस्तावेज पास गराउनु दाहालका लागि निक्कै चुनौतीपूर्णसमेत छ । भट्टराई नजिक स्रोतका अनुसार अध्यक्ष दाहालको दस्तावेज हेरेर फरक दस्तावेज ल्याउने कि नल्याउने भनी दाहालको दस्तावेजको पखाईमा भट्टराई पक्षधर छन् ।
एमाओवादी राजनीतिक कार्यदिशामा खासै अलमल नभए पनि पार्टी नेतृत्वका विषयमा भने विवादित बन्दै गएको छ । भट्टराईले त सार्वजनिक रुपमै नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने भनेर उद्घोष गर्दै आएका छन् । दाहाल पक्षले यसको विरोध गर्दै आएको छ ।
पार्टी पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले औपचारिक रुपमै एमाओवादीभित्र नेतृत्वको विवाद र नेताहरु बीचको दुरी बढेको खुलासा गरेका छन् । ललितपुर एमाओवादीको आठौं जिल्ला सम्मेलन बुधबार उद्‌घाटन गर्दै उनले ठूलो नेता बन्ने घमण्डले जनइच्छाअनुसार काम नगर्दा पार्टी खुम्चिन पुगेको बताए । पार्टी नेतृत्वको विषयमा श्रेष्ठले जनताबाट अनुमोदन गरेर मात्रै नेतृत्व चयन गरिनुपर्ने तर्कसमेत गरेका थिए । एमाओवादीको महाधिवेशन नजिएको सन्दर्भमा श्रेष्ठले एमाओवादीका पुराना सबै रणनीति असफल भएको टिप्पणीसमेत गरेका छन् ।
एमाओवादीका अर्का नेता कृष्ण बहादुर महराले पार्टीको कार्यदिशा हेटौंडा महाधिवेशनले अघि सारेबमोजिम नै हुने स्पष्ट पारेका छन् । पार्टीको चौथो रोल्पा जिल्ला सम्मेलनका क्रममा रोल्पा पुगेका महराले पार्टीले हेटौंडा महाधिवेशनमार्फत् पारित गरेको कार्यदिशालाई अघि सार्दै कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर साम्यवादी व्यवस्था ल्याउन पहल गर्नु पर्ने अवस्था आएकोमा जोड दिएका थिए ।

प्रतिक्रिया