२० वर्षसम्म पनि कर्मचारी आएनन्

pairoडोटी, २६ चैत । राष्ट्रिय वनको संरक्षणको जिम्मेवारी पाएको जिल्ला वन कार्यालयका सरकारी कर्मचारीहरु २० वर्षसम्म पनि वनको संरक्षणका लागि जिल्ला आएका छैनन् ।
डोटीमा घासका लागि प्रति जग्गा बिक्री हुने गरेको छ । त्यस्तै जिल्लाकै दुर्गम मानिने गिरिचौका गाविसमा घासका लागि सरकारी वन फडाँनी गरेर बिक्री हुने गरेको छ । देशव्यापी रुपमा सामुदायिक वनको चर्चा भईरहेको भएपनि यस गाविसमा भने अहिलेसम्म एउटा पनि सामुदायिक वन छैन । सरकारी वन क्षेत्रभित्र रहेका ठुला रुखहरु फडाँनी गर्दै घासका लागि स्थानीयवासीहरुले जग्गा अधिकरण गर्ने गरेका छन ।
स्थानीय गिरिचौका माबिका प्रधानाध्यापक नरबहादुर खडायतका अनुसार यस गाविसमा वन कार्यालय कर्मचारीहरु नआएको करीव २० वर्ष भईसक्यो । चार घण्टाको पैदल दुरीमा रहेको वन कार्यालयको कालिकास्थान रेञ्जपोष्ट रहेको छ । ‘रेञ्जपोष्टबाट र जिल्ला वन कार्यालयबाट पनि मैले कर्मचारी आएको देखेको छैन’ प्रअ खडायतले भने ‘गाविस भरीमै वन विनास भईसकेको छ ।’ वन विनास भएपछि स्थानीयवासीहरुले घर बनाउनका लागि काठ ल्याउन समेत छिमेकी लामिखाल गाविस–७ को तलारामा रहेको सामुदायिक वनलाई गुहार्नु पर्ने वाध्यता रहेको प्रअ खडायतको भनाई छ ।
स्थानीय भाषामा गाजो भनिने घाँसका लागि सरकारी वनलाई व्यक्ति व्यक्तिले अतिक्रमण गरेका छन् । अतिक्रमित वन क्षेत्रलाई पाँच हजार देखि २० हजारसम्ममा एक व्यक्तिले अर्को व्यक्तिलाई बेच्ने गरेको प्रअ खडायत बताउँछन । ‘गाजो काटेर वनमा आगो लगाई दिन्छन, भएका सबै बोटहरु आगोले जलाउँछ’ खडायतले भने ‘केही गरी रुखहरु बचेछन भने पनि काटेर फाल्ने गरिएको छ ।’
जंगल विनास हुन थालेपछि वस्तुभाउहरुका लागि चरन समेत नभएको र पानीका मुहान पनि सुख्दै गएको स्थानीयवासीहरु बताउँछन । स्थानीयवासीहरुका अनुसार सुख्खा डाँडा भएपछि वाढी पहिरो पनि वढी जान थालेको छ । सुख्खाकै कारण पहिरो आएर गाविसको सिल्ल गाउँ जोखिमका रहेको छ ।

प्रतिक्रिया