“हेग”को त्रास

prachandaकाठमाडौं २१ चैत्र । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न आनाकानी गरेर सरकारले माओवादीका नेतालाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन खोजेको बताएका छन् । शुक्रबार अनेरास्ववियु क्रान्तिकारीको १९ औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप आयोग नबनाएर दुबै माओवादीका नेतालाई हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने प्रयास भइरहेको दाबी गरे । उनले भने ‘विगतमा हाम्रो टाउकाको मूल्य तोक्नेहरुले फेरि पनि हाम्रो टाउको खोजिरहेका छन् ।’
अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे सर्वोच्च अदालतले हालै गरेको फैसलाप्रति आपत्ती जनाउँदै सो फैसला विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानविरुद्ध भएको दाबी गरे । सर्वोच्च अदालतले आयोग नबन्दासम्म द्वन्द्वकालका गम्भिर प्रकृतीका घटनाको निरुपण प्रचलित कानुनअनुसार हुने निर्णय गरेको थियो ।
शुक्रवार आक्रोशित मुद्रामा देखिएका अध्यक्ष दाहालले शान्ति प्रकृया भाँड्ने षडयन्त्र भैरहेको ठोकुवासमेत गरे । उनले भने, ‘सत्य निरुपण आयोगम विस्तृत शान्ति सम्झौताअनुसार बन्नुपर्नेमा हाम्रा अदालतले देउताको अदालत जस्तो भएर काम गर्न थाल्यो भने देश फेरि द्वन्द्वमा जाने खतरा छ । कुनै पनि राजनैतिक नेतृत्व वा अदालतले वा कुनै तत्वले सुपर पावर प्रयोग गर्न खोज्यो भने नेपाली समाज निकै ठूलो द्वन्द्वमा जाने खतरा भएको दाबी उनको थियो । उनले सरकारले समेत माओवादी नेताहरुलाई अदालतमा उभ्याएर सिद्धयाउन खोजेको आरोपसमेत लगाए ।
अध्यक्ष दाहालले द्वन्द्वकालिन मुद्दा तत्काल समाधान गर्न आवश्यक भए पनि यसमाथि खेलेर शान्ति प्रक्रिया र संविधान निर्माणमाथि नै संकट उत्पन्न गराउने प्रयास भइरहेको जीकिर गरे । उनले १२ बुँदे सहमति, बृहद शान्ति सम्झौता, अन्तरिम संविधान तथा विगतका सम्झौताहरुको मर्मविपरित अगाडि बढ्न खोजे देश पुन:द्वन्द्वमा फस्ने चेतावनी पनि दिए ।
संविधानसभाको एजेन्डा एमाओवादीको भएको बताउँदै उनले प्रतिक्रियावादीहरुको संविधान नबनाउने षडयन्त्रका विरुद्ध डटेर लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । अध्यक्ष दाहालले नेपालमा एउटै कम्युनिष्ट केन्द्र हुनु पर्ने आवश्यकता पनि औल्याएका छन् । उनले नेकपा–माओवादी र एमालेसँग मिलेर यस्तै केन्द्र बनाउनु पर्नेतर्फ जोड दिदै त्यसका लागि प्रयास भइरहेको पनि बताए ।
अखिल क्रान्तिकारीको ५ दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । नयाँ नेतृत्व हत्याउनका लागि रमेश विष्ट, जागृत रायमाझी र विन्दामान विष्ट अगाडि देखिएका छन् ।

प्रतिक्रिया