सेनामा सैनिक सहचारीको खोजी

काठमाडौं, ७ चैत्र । नेपाली सेनाले विभिन्न ६ मुलुकमा सैनिक सहचारी पठाउने तयारी गरेको छ । तिन वर्षे कार्यकाल रहने सैनिक सहचारी पद सुविधाका हिसावले सेनामा आकर्षक मानिन्छ । हाल भारत, चिन, पाकिस्तान, बंगलादेश, अमेरीका र बेलायतमा सैनिक सहचारीको दरबन्दी छ । सहचारीका रुपमा कार्यरत महासेनानीहरुको कार्यकाल आगामी असारमा सकिने हुँदा सेनाले छनौट प्रक्रिया सुरु गरेको हो ।
यसअघि सबै देशमा सैनिक सहचारीका रुपमा महासेनानीलाई पठाउने गरिएको भए पनि यसपटकबाट सहायकरथीलाई पनि सहचारीका रुपमा खटाउने तयारी सेनाले गरेको स्रोतको दावी छ ।
उपरथी हुन अनिवार्य रहेको नेशनल डिफेन्स कोर्स नगरेका दुई सहायकरथी र अन्य चार महासेनानीलाई प्रधानसेनापती गौरवशमशेर राणाले सहचारी सिफारीस गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार सहचारीका रुपमा जानेहरुको नाम टुङगो लागिसकेको छ । ‘सहचारीका रुपमा जानेहरुको लगभग टुङगो लागिसकेको छ, हायरकमाण्ड कोर्स गर्नेहरुको नाम टुङगो लागेसंगै सहचारीको पनि टुङगो लाग्छ । ’सेनापती निकट एक उपरथीले सौर्यसंग भने ।
हाल सहचारीका रुपमा भारतमा महासेनानी झंकर कठायत, चीनमा दिपक अधिकारी बङगलादेशमा शुदर्सन विक्रम राणा, पाकिस्तानमा खड्ग मल्ल, अमेरीकामा जशवन्त राणा र बेलायतमा विश्व घिमिरे कार्यरत छन् । सैनिक स्रोतका अनुसार एनडिसी कोर्स नगरेका सहायकरथीहरु कमलेश सिंह र अरुण घलेलाई सहचारीमा पठाउने तयारी भएको छ । महासेनानीहरु हिमांसु खड्का, विनयविक्रम राणा र योगराज शर्मालाई पनि सैनिक सहचारी बनाएर पठाउने तयारी भइसकेको छ ।
सैनिक ऐनमा महासेनानी र सहायकरथी दुवैलाई सहचारीका रुपमा पठाउन सकिने व्यवस्था छ । सैनिक ऐन् संसोधन हुनुअघि सहचारीका रुपमा प्रमुख सेनानी र सेनानी समेत खटिएको इतिहास छ ।
स्रोतकाअनुसार निकट भविष्यमा हुने हायर कमाण्ड कोर्सका लागी नाम सिफारीस भएपछि मात्र सहचारीको टुङगो लाग्ने छ । सहचारीको सेवा सुविधा परराष्ट्र मन्त्रालयको नियमअनुसार सह–सचिव सरहको हुन्छ । सैनिक सहचारी हुन महासेनानी भएको कम्तीमा तिन वर्ष भएको हुनुपर्ने, स्टाफ कलेज अंग्रेजीमा गरेको हुनुपर्ने, तिन वर्षको अवधीमा अवकास नहुने र अवजर्भर मिसनमा दुई पटक गएको नहुनुपर्ने लगायतको प्रावधान छ । सैनिक प्रवक्ता सहायकरथी जगदिशचन्द पोखरलले सहचारीको नियुक्ती प्रक्रियाबारे छलफल भइरहेको र टुङगीन अझै समय लाग्ने बताए ।

प्रतिक्रिया