भट्टराईको सुराही, कोइरालाको मोबाइल

sushil-koiralaकाठमाडौं ३० फागुन । केही वर्ष पहिले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिँदा एउटा सुराही, छाता र बाकस (टयांका) लिएर निस्केका थिए । त्यो समाचारले सबैलाई चकित बनाएको थियो । त्यसैले होला कांग्रेसका संस्थापक नेता भट्टराईको सरल जीवनको चर्चा नगर्ने सायदै भेटिन्थे । व्यक्तिगत सम्पत्ति केही नभएका भट्टराईको मृत्यु हुँदा पनि उनको सरल जीवनको चर्चा भएकै हो ।
मुलुकका ३७औँ प्रधानमन्त्री बनेका कांग्रेस सभापति सुशील कोइरालाको पनि सामान्य जीवन शैलीको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भइरहेको छ । प्रधानमन्त्री भएपछि उनले बुझाएको सम्पत्ति विवरणले मात्र होइन भ्रमण भत्तावापत नेपाल सरकारबाट पाएको रकमसमेत फिर्ता गरेर कोइरालाले चर्चा बटुल्न सफल भए । उनले बुझाएको सम्पत्ति विवरणमा तीनवटा मोबाइल फोन सेटमात्र सम्पत्ति रहेको उल्लेख छ । त्यति मात्र होइन हालै गरेको विदेश भ्रमणवापत पाउने भ्रमणभत्ता पनि उनले लिएनन् । प्रधानमन्त्री कोइरालाले म्यानमारमा भएको बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिएवापत नेपाल सरकारबाट पाएको ६३ हजार ४ सय २७ रुपियाँ शुक्रबार फिर्ता गरेका छन् ।
पाएको भ्रमणभत्ता ६ सय ५० अमेरिकी डलर उनले मुख्यसचिव लीलामणि पौडेलमार्फत परराष्ट्र मन्त्रालयलाई फिर्ता गरेका थिए । ‘भ्रमणभत्तावापत् नेपाल सरकारबाट पाएको ६३ हजार ४ सय २७ रुपियाँ शुक्रबार मुख्यसचिव लीलामणि पौडेलमार्फत उहाँले (प्रधानमन्त्रीज्यू) ले परराष्ट्रमन्त्रालयलाई फिर्ता गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले भने, ‘उहाँले फिर्ता गरेको भ्रमण भत्ता राज्यकोषमा दाखिला गरिने छ ।’
कोइरालाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । ‘उहाँको त्यस्तो निर्णयले पनि उहाँ कति सरल र मितव्ययी हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ,’ कोइरालाका एक सहयोगीले भने । बैठकको निर्णयबमोजिम बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग कुनै पनि चलअचल सम्पत्ति छैन । उनले लगाएको घडी र औँठी भने सम्पत्ति विवरणमा उल्लेख छैन । उनले बुझाएको विवरण हेरेपछि उनकै सहयोगी पनि अचम्ममा परेका थिए । कोइरालासँग रहेका तीनवटा मोबाइल फोन सेटमध्ये पनि एउटा निकै पुरानो र काम नलाग्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । त्यति मात्र होइन प्राप्त जानकारीअनुसार उनको नाममा बैंक खातासमेत छैन । प्रधानमन्त्रीले सेवा सुविधावापत् पाउने मासिक तलबका लागि अब बैंक खाता खोल्नुपर्ने अवस्था छ ।
पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु अघिसम्म पनि उनी भाडाको घरमा बस्दै आएका थिए । कोइरालाको मृत्युपछि मात्र उनी महाराजगन्जस्थित कोइराला बस्दै आएको घरमा बसेका हुन् । नेपालगञ्जका स्थायी वासिन्दा प्रधानमन्त्री कोइराला त्यहाँ जाँदा पनि भाइ अरुण कोइरालाको घरमा बस्ने गर्छन् ।

प्रतिक्रिया