नयाँ संविधानपछि आर्थिक विकास: प्रधानमन्त्री

नेपालगन्ज, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी भएपछि मुलुक आर्थिक रूपमा अगाडि बढ्ने बताएका छन् । प्रेस यूनियनले शनिबार विहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री कोइरालाले आपसी खिचातानी, राजनीतिक अस्थिरता र अशान्तिले देश संकटमा परेको बताउँदै त्यस्तो अवस्थाको अन्त्य हुनु पर्ने बताए ।
संविधानका धेरैजसो विषयमा सहमति भइसकेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले बाँकी विषयमा दलहरूबीच सहमति हुन नसके प्रक्रियामार्फत् संविधान बनाएरै छाड्ने बताए । ‘सरकारको चाहना यही वैशाख जेठमा स्थानीय निकायको निर्वाचन गर्ने छ,’ प्रधानमन्त्री कोइरालाले भने, ‘छिटोभन्दा छिटो निर्वाचनका लागि निर्वाचन आयोग र राजनीतिक दलसँग समन्वय गरिनेछ ।’
स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा वर्षेनी अर्बौं रूपैयाँ भ्रष्टाचार भइरहेको दावी गर्दै प्रधानमन्त्री कोइरालाले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचन हुनु पर्ने बताए । उनले संविधानसभामा मनोनित गर्न बाँकी २६ सदस्यहरू छिट्टै मनोनित गरिने पनि बताए । उनले विकास निर्माणमा सबै पक्षबीच सहमति आवश्यक भएको धारणा राखे ।

प्रतिक्रिया