रिटको औचित्य समाप्त

काठमाडौ, ५ फागुन । लामो समयको राजनीतिक डेडलक अन्त्य हुन नसकेपछि १ चैत ०६९ मा दलहरूले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ताको बागडोर दिएका थिएका थिए ।
रेग्मीले आफ्नो ११ महिने कार्यकाल सकेर प्रधानन्यायाधीश र सरकार प्रमुखबाट बाहिरिसक्दा पनि उनीविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा फैसला हुन सकेको छैन । प्रधानन्यायाधीश पद कायम राखी कार्यकारी सरकार प्रमुख बनेका रेग्मीविरुद्ध संवैधानिक र राजनीतिक प्रश्न उठाउँदै पूर्ण र सहायक गरी सर्वाेच्च अदालतमा २४ रिट दायर भए । प्रधानन्यायाधीश या सरकार प्रमुखमध्ये एक पद छोड्नु पर्ने, लोकतान्त्रिक राज्य प्रणालीमा निर्दलीय व्यक्ति सरकार प्रमुख हुन नसक्ने, राष्ट्रपतिले व्यवस्थापिका संसदविना २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश जारी गर्न नसक्ने तर्क गर्दै रिट दायर भएका थिए ।
रेग्मीलाई पदमुक्त गर्न माग गर्दै दायर भएका रिटमा सर्वाेच्च अदालतले फैसला दिन सकेको छैन । सर्वोच्च अदालतले रिटमा सुनुवाइ गर्न नसकेका कारण परेका रिटको औचित्य पनि समाप्त भएको छ । ‘जुन व्यक्ति गैरकानुनी रूपमा राज्यको दुई निकायको प्रमुख थिए उनी दुवै निकायबाट बाहिरिएपछि रिटको औचित्य समाप्त भएको हो,’ संविधानविद् डा.चन्द्रकान्त ज्ञवालीले भने, ‘सर्वाेच्च अदालत रेग्मीको ठूलै प्रभावमा पर्‍यो र हाम्रा रिटले न्याय पाउन सकेनन् ।’
रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भएपछि कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सिंहदरबारको प्रभाव रामशाहपथमा पर्न नदिने बाचा कानुन व्यवसायीसँग गरेका थिए । आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुनै पनि मूल्यमा रेग्मीको प्रभाव न्यायलयमा पर्न नदिने बाचा गरेका थिए तर उनीविरुद्ध परेका रिटमा सुनुवाइ नै नगरी औचित्य समाप्त पारेपछि रेग्मीको प्रभावमा शर्माले काम गरेको आरोप कानुन व्यवसायी लगाउन थालेका छन् ।
बाबुराम महान्यायाधिवक्ता
नेपाल सरकारको कानुनी सल्लाहाकार (महान्यायाधिवक्ता)मा अधिवक्ता बाबुराम कुँवर नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले उनलाई सोमबार उक्त पदमा नियुक्त गरेका हुन् । सरकार परिवर्तन हुनेबित्तिकै महान्यायधिवक्ता परिवर्तन हुने गरेको छ ।
सोहीअनुरूप वर्तमान सरकारले अधिवक्ता कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको हो । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले राजीनामा दिएलगत्तै यसअघिका महान्यायाधिवक्ताले पनि राजीनामा दिएका थिए । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका कुँवर प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया