आगामी ३ वर्षमा तेह्रथुम घरभित्रको धुँवा मुक्त हुने

तेह्रथुम ४ फागुन । तेह्रथुम जिल्ला आगामी तीन वर्षभित्रमा घरभित्रको धुँवामुक्त हुने भएको छ । सन् २०१७ भित्र नेपाललाई घरभित्रको धुँवामुक्त बनाउने सरकारको योजना बमोजिम सो अवधिमा जैविक ऊर्जा अन्तर्गत सुधारिएको चुलो कार्यक्रमले जिल्लालाई घरभित्रको धुँवा मुक्त बनाउने अभियान चलिरहेको छ । सुधारिएको चुलो कार्यक्रमले आगामी तीन वर्षभित्र जिल्लालाई घरभित्रको धुँवामुक्त घोषणा गर्ने महत्वाकांक्षी योजना लिएको हो । सो अवधिमा हरेक घरमा चुलो निर्माण गरी घरभित्रको धुवाँमुक्त घोषणा गर्ने अभियान चलिरहेको जैविक ऊर्जा सुधारिएको चुलो कार्यक्रम जिल्ला सेवा केन्द्र तेह्रथुमले जनाएको छ ।
एक घर एक चुलो भन्ने नारासहित जिल्लाभर सुधारिएको चुलो निर्माण कार्य भइरहेको छ । जिल्लाका ३२ गाविसमध्ये ६ वटा गाविस यसअघि नै घरभित्रको धुँवामुक्त घोषणा भइसकेका छन् । जिल्लाका पिप्ले, जिरीखिम्ती, सोल्मा, आम्बुङ, मोराहाङ र साब्ला गाविस यसअघि नै धुँवामुक्त घोषणा भइसकेका छन् । बाँकी २६ वटा गाविसमा धमाधम चुलो निर्माण कार्य भइरहेको सुधारिएको चुलो कार्यक्रम जिल्ला सेवा केन्द्र तेह्रथुमका कार्यक्रम संयोजक ज्योति आङवुङले बताए । आङ्वुङका अनुसार यस अािर्थक वर्षभित्रै जिल्लामा ३ हजार ७ सय ५० वटा चुलो निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
कार्यक्रमको अभियान अन्तर्गत गाउँगाउँमा चुलो निर्माणका लागि चुलो प्रोमोटरहरु नियुक्त गरी चुलो निर्माणसम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरिसकिएको छ । जिल्लाका धुँवामुक्त बनाउन बाँकी गाविसका ३० जनाको सहभागिता रहेको तालिममा विभिन्न १२ प्रकारका चुलो निर्माण गर्न सिकाइएको  थियो । एक साता सम्म चलेको तालिमबाट चुलो निर्माण गर्न सक्ने भएको र गाउँ गएर चुलो निर्माण गरी जिल्लालाई धुँवामुक्त बनाउने अभियानमा सहयोग गर्ने श्रीजुङकी गीता तामाङले बताइन् । सुधारिएको चुलो निर्माण भएपछि भान्सामा काम गर्ने महिलाको स्वास्थ्यमा पनि असर नपर्ने र इन्धनको बचत हुनेछ ।
‘सुधारिएको चुलो राम्रो, स्वास्थ्य जीवन हाम्रो’ भन्ने मूल नाराका साथ आयोजित नयाँ स्टोभ मास्टर तालिम पनि सञ्चालन गरिएको छ । जिल्लालाई नेपाल  सरकार बैकल्पिक ऊर्जा प्रवद्र्यन केन्द्र, राष्ट्रिय ग्रामीण तथा नवीकरण्ीय ऊर्जा कार्यक्रम तथा नाम्सालिङ सामुदायिक विकास केन्द्र ईलाम र धनकुटाको सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा घरभित्रको धुवाँमुक्त बनाउन लागिएको हो ।

प्रतिक्रिया