काठमाडौं, २१ माघ । प्रहरीले प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी चन्द्रकुमार खापुङलाई मुख्यालयमा सरुवा गरेको छ । प्रहरी स्रोतका अनुसार खापुङलाई कार्यशैली सुधार्न पटक–पटक सचेत गराए पनि नसुध्रिएपछि उनलाई मुख्यालय तानिएको हो ।
‘खापुङले व्यवसायीबाट पैसा असुलेको गुनासो आउने गरेको थियो, कार्यशैली सच्याउँन पटक–पटक भने पनि उनले नसुधारेकोले मुख्यालय तानिएको हो ।’ अर्याल निकट स्रोतले सौर्यसँग भन्यो ।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले खापुङलाई कार्यशैली सुधार्न भने पनि काम सन्तोषजनक नदेखिएपछि सरुवा गरिएको दाबी गरे । आर्थिक रूपमा पनि बढी चलखेल हुने भएकाले पनि प्रहरीमा दरबारमार्ग पोस्टिङ हुन चर्को प्रतिस्पर्धा हुने गर्छ । उनको स्थानमा डिएसपी राजकुमार सिलवाललाई ल्याइएको छ । सिलवाल यसअघि मुख्यालयमा कार्यरत थिए ।
प्रहरी महानिरीक्षकमा अर्यालले उपत्यकामा कार्यरत केही प्रहरी अधिकारीको कार्यशैली ठीक नभएको भन्दै कारवाहीस्वरूप यसअघि नै मुख्यालयमा तानिसकेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रमेश भट्टराई, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेश चन्द यसअघि नै हेडक्वार्टर तानिइसकेका छन् । । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले पनि प्रभावकारी काम गर्न नसकेको भन्दै महानिरीक्षक अर्यालले गत साता मात्रै उनको सरुवा गरे । घिमिरेको ठाउँमा एसएसपी रमेश खरेललाई ल्याइएको छ । नयाँ महानिरीक्षक नियुक्त भएसँगै सबै किसिमले महत्वपूर्ण मानिने परिसर, वृत्तलगायतका प्रमुख परिवर्तन हुने चलन नेपाल प्रहरीमा नौलो विषय होइन ।
प्रतिक्रिया