लाचार बनेर फर्किए रेग्मी

काठमाडौं ७, माघ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा. शशी शर्माको नियुक्ति निष्क्रिय गर्न निर्देशन दिएका छन् । उनले गत शनिबार नै उक्त समस्या तत्काल समाधान गर्न शिक्षा मन्त्रीलाई निर्देशन दिएका थिए । मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको नामबाट जारी गरिएको विज्ञप्तिमा शर्मालाई नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयबाट भएको निर्णय कार्यान्वयनको जे जस्तो चरण र अवस्थामा रहेको भए पनि सो निर्णयलाई निष्क्रिय गरी निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देशन दिइएको छ ।

‘२४ घन्टाभित्र सो को जानकारी विश्वविद्यालयका कुलपति एवं मन्त्रिपरिषद्का अध्यक्षलाई गराउन कुलपति एवं मन्त्रिपरिषद्का अध्यक्षज्यूबाट आजै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमार्फत रेग्मीले डिन नियुक्तिको विरोधमा अनशनमा बसेका प्रा.डा. केसीलाई समेत अनशन अन्त्य गर्न आग्रह गरेका छन् । त्यसैगरी विज्ञप्तिमा प्रा.डा. केसीले उठाएका अन्य मागहरूका सम्बन्धमा वार्ता र छलफलबाट सम्बोधन गर्न नेपाल सरकार सदैव तत्पर रहेकोसमेत उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सेवा नियमित रूपमा सुचारू गर्न र सेवा प्राप्त गर्ने आमनागरिकको हकको सम्मान गर्नसमेत अनुरोध गरिएको छ । विज्ञप्तिमा सर्वोच्च अदालतवाट सोमबार जारी भएको आदेशको मर्म र भावनाअनुरूप अघि बढ्न पनि आग्रह गरिएको छ । सर्वोच्चले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घन्टभित्र सुचारू गर्न अन्तरिम आदेश दिएको थियो । नेपाल चिकित्सक संघको आह्वानमा केही दिनदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पार्दै डाक्टरहरू आन्दोलनमा उत्रेपछि सर्वोच्च अदालतले सबै सेवा सुचारू गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो ।
रेग्मी टिचिङमा
डा. गोविन्द केसीलाई आमरण अनशन फिर्ता लिन आग्रह गर्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी मंगलवार शिक्षण अस्पताल पुगेका थिए । डिनमा डा. शशी शर्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न निर्देशन दिएलगत्तै रेग्मी शिक्षण अस्पताल पुगेका हुन् । डा. केसीले भने डिन नियुक्तीको निर्णय बदरलगायत आफ्ना माग पूरा नभएसम्म अनसन फिर्ता नलिने अडान दोहोर्‍याए ।
अध्यक्ष रेग्मीले भने अनशन फिर्ता लिएर वार्ताबाट अगाडि बढ्न डा. केसीलाई आग्रह गरेका थिए । डा. केसीले सरकारले देखाएको चासोप्रति धन्यवाद व्यक्त गर्दै माग पूरा गरे मात्रै अनशन तोड्ने अडान राखेपछि अध्यक्ष रेग्मीसहितको टोली फर्किएको थियो ।
चिकित्सकहरूको सामूहिक राजीनामा
आमरण अनशनमा बसेका डा. केसीले उठाएका माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै मंगलवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।
नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले संघको आग्रहबमोजिम टिचिङ अस्पतालका १ सय ५ जना चिकित्सकले राजीनामापत्रमा सामूहिक हस्ताक्षर गरेको दाबी गरे । चिकित्सकहरूले त्रिविका उपकुलपति र डिनलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । महासचिव श्रेष्ठले बुधवारसम्ममा माग पूरा नभए देशभरीका सबै चिकित्सकले सामूहिक राजीनामा दिने बताए ।
संघले मंलवार पत्रकार सम्मेलन गरी सरकारले माग पूरा गर्न चासो नेदेखाएको भन्दै सामूहिक राजीनामाको चेतावनी दिएको हो । समस्या समाधानमा तत्परता देखाउनुको सट्टा सरकारले बल प्रयोग गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।
डा. भगवानको पनि राजीनामा
डिन नियुक्तिको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएपछि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले पनि राजीनामा दिएका छन् । यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारको बेला पनि कोइरालाले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका थिए । तर, सरकारी प्रतिबद्धतापछि उनले राजीनामा फिर्ता लिएका थिए ।

प्रतिक्रिया