अस्तव्यस्त अस्पताल

mainकाठमाडौं । डिन नियुक्ती प्रकरणपछि आन्दोलित बनेको स्वास्थ्य क्षेत्र थप समस्याग्रस्त बन्दै गएको छ । एकातिर डिन नियुक्तीको विरोधमा डा. गोविन्द केसी आमरण अनशनमा बसेका छन् । उनकै समर्थनमा देशभरका डाक्टरहरू सेवा ठप्प पारेर आन्दोलमा उत्रेका छन् । अर्कोतर्फ नवनियुक्त विवादास्पद डिन डा. शशि शर्मा कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । तर आइतबार मात्रै शिक्षामन्त्री माधवप्रसाद पौडेलले डिन नियुक्तीको निर्णय फिर्ता लिन आदेश दिएका थिए ।
दुवै पक्षको अडानका कारण स्वास्थ्य सेवा विगत केही दिनदेखि अवरुद्ध छ । अनशनमा बसेका डा. केसीको अवस्था थप गम्भिर बन्दै गएपछि देशभर विभिन्न संघसंगठनले उनको जीवनरक्षाको अपिलसमेत गरेका छन् । सोमबार बिहानदेखि डाक्टरहरू आफ्नो काम काज छाडेर डा. केसीको आन्दोलनमा एक्येवद्धता जनाउँदै प्रदर्शनमा उत्रे । माइतीघर मण्डलामा उनीहरूले केही बेर विरोध प्रर्दशन पनि गरे । सो क्रममा प्रहरीसँग सामान्य झडप पनि भएको थियो । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका आकस्मिकबाहेक अन्य सबै सेवा अवरुद्ध छन् ।
चिकित्सकहरूको आन्दोलनका कारण सयौँ बिरामी उपचार सेवा पाउन सकेका छैनन् । दुई पक्षको अडानले विरामी र सर्वसाधारण चेपुवामा परेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न संघसंस्थालगायतले डाक्टरहरूले गरेको आन्दोलन मानवअधिकारविरुद्ध भएको बताएका छन् । तर पनि डाक्टरहरूले आन्दोलन जारी राखेका छन् । सोमबार पनि सयौँ सर्वसाधारण अस्पताल बन्दको सिकार हुन पुगे । डा. केसीले उठाएको माग जायज भए पनि यसरी सेवा नै ठप्प पारेर स्वास्थ्यको नाममा राजनीति गर्न नहुने भन्दै सर्वसाधारण आक्रोशित भएका छन् । उनीहरूले तत्काल अस्पतालको सेवा सुचारु गर्न माग पनि गरेका छन् ।
डा. केसीको अवस्था थप गम्भीर
प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप गम्भिर भएको छ । डा. केसीले झोल पदार्थसमेत खान छाडेका छन् । डा. केसीलाई अक्सिजन र स्लाइनले मात्र बचाइराखेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । रगतमा अक्सिजनको मात्रा कम, मुटुको धड्कन बढ्दो र पिसाब पनि अति कम भएको छ । त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई नियुक्त गरेपछि केसी आमरण अनशनमा बसेका हुन् । उनी अनशनमा बसेको सोमबार ९ दिन पुगेको छ ।

सर्वोच्च अदालतको आदेश मानेनन् डाक्टरले
काठमाडौं : बन्द रहेको अस्पताल सुचारु गर्न सोमबार अपराह्न सर्वोच्च अदालतले आदेश दिए पनि आन्दोलनरत डाक्टरहरूले अस्पताल खोल्न मानेनन् । डिन नियुक्तीको विषयमा विरोध जनाउँदै अनशनमा बसेका डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै आन्दोलन गरिरहेका डाक्टरहरूले सर्वोच्चको लिखित जानकारी नआएकाले सेवा सुचारु नगरेको जीकिर गरिरहेका छन्् ।
तर, सर्वोच्चले सूचना पाएको एक घन्टाभित्र बन्द अस्पताल सुचारु गर्न आदेश दिएको थियो । तर त्यसको दुई घन्टापछि नेपाल चिकित्सक संघले सेवा सुचारु गर्न सर्वोच्चले दिएको आदेशबारे लिखित जानकारी नआएको भन्दै आन्दोलन जारी रहेको जनाएको छ । चिकित्सक संघले विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेक अन्य सेवाहरू बन्द कार्यक्रम जारी रहेको जनाएको छ । चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले लिखित जानकारी नआएको र माग पूरा नभएकाले आन्दोलन जारी रहेको बताएका छन् । सर्वोच्च अदालतले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घन्टाभित्र सुचारु गर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । सात दिनदेखि बन्द रहेको शिक्षण अस्पताल तत्काल खुलाउन माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले र अधिवक्ता सुनीलरञ्जन सिंहले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया