मेरो नेल्सन मैले तिमीलाई सगरमाथा दिएँ

Ajambar-Rai-Kangmang

मेरो तेन्जिङ
मैले तिमीलाई सगरमाथा दिएँ
मेरो पहरा
मैले तिमीलाई लालीगुराँस दिएँ ।

मान्छेका मनहरुलाई
छालाको रङले जोख्ने
काला हुनुको अभिशापमा
सेताहरूले केपटाउनको जेलमा ठोक्ने
सत्ताइस वर्षका रंगीन वसन्तहरूमा
चाँदीको पिँजडामा कैदी बनाइएर पनि
स्वतन्त्रताको गीत गाउँदै
रंगभेदको पर्खाल ढाल्ने
मेरो मुक्तियोद्धा
मैले तिमीलाई विजयको अजम्बरी माला लगाइदिएँ,
मेरो सम्राट
मैले तिमीलाई श्रद्धाको कञ्चन मुकुट पहिर्‍याइदिएँ ।

आफ्नै आँगनमा
परदेशीझैं पीडा भोग्ने
परदेशी गोराहरूले
बाइबल दिँदै जमिन साट्दा
कुन हब्सीले सक्ने रोक्न ?
जमिनपति भएपछि
कालो घोडा लगाम खैंची
सेतो राजा सवार हाँक्ने
बारुदको गन्ध सुँघ्दै
छातीले तोपको मोहरी ढाक्ने
अनवरत संघर्षको कठिन इतिहासबाट
पशुबाट मान्छे हुँदा
मेरो अफ्रिका
मैले तिमीलाई खुसी बाँड्दै हर्षाश्रु झारिदिएँ,
मेरा अफ्रिकन
मैले तिमीहरूसँगै हाँसी–हाँसी छमछम नाचिदिएँ ।

आँधीसँग जिस्किहिँड्ने
सूर्योदयलाई दुश्मन ठान्ने
ज्याक्सन दाइको करङहरूमा
अन्यायी संविधानको सुट टाई सुकाउने
जुलु दिदीको खप्परमा
कालाहरूको राता रगत भोड्का मानी घुट्क्याउने
बाघको छालामा
स्यालको रजाइँ, ढलीमली गर्ने
आज आँधीले उडाइदिँदा
रक्तिम सूर्य बिहान उदाइदिँदा
दशकौंमा नयाँ युगको सुरु हुँदा
हेल्लो बोथा
मैले तिम्रो निधारमा कालो कलंक देखें,
हेल्लो डे क्लार्क
मैले तिमीलाई जिउँदो लासझैं चिहानभित्र देखें ।

मेरो युगको महानायक
अश्वेत राजको सूत्रधार
बाइबल अब फिर्ता देऊ
आफ्नो हातमा आफ्नै जमिन फिर्ता लेऊ
मलाई पनि तिम्रो
अश्वेत निधारमा
गुराँसको रातो टीका जितमा लगाइदिन देऊ
मोलाइस र क्रिस हनीजस्ता
हजारौं अश्वेत सहिदहरूका
रक्तिम रगत कलमभित्र भरी
बधाई लेखी पठाएको छु, स्वीकारिदेऊ
मेरो धड्कन
मैले तिमीलाई जीवन मागें,
मेरो अग्रज
मैले तिमीलाई प्रेरणा मागें ।

थुम्काहरू सबै चढ्छन्
गमलामा ढुंगा फुल्छ
युगौं पुरानो करेन्टझैं डाम्ने
‘अपार्थेल्ड’को कालो पहाडमाथि
मानवताको रातो झन्डा शिखर पुगी गाड्ने,
मल, माटो, पानी नभए पनि
दानवताको चट्टाने पहरामाथि
काँडारहित गुराँस भई फुली छाड्ने,
मेरो नेल्सन
मैले तिमीलाई सगरमाथा दिएँ,
मेरो मन्डेला
मैले तिमीलाई लालीगुराँस दिएँ ।

२०५१ वैशाख २२ गते बिहीबार
कीर्तिपुर, काठमाडौं

प्रतिक्रिया