काठमाडौं, २२ मंसिर । निर्वाचनमा पराजित विभिन्न निर्वाचन क्षेत्रका पाँच निकटतम प्रतिद्वन्द्वीले शुक्रबार संविधानसभा अदालतमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् ।
मतदान केन्द्र कब्जामा लिएर निर्वाचनमा धाँधली गरेको आरोपसहित पुन: मतदान गराउन र मतगणना दोहोर्याउनुपर्ने माग गर्दै उनीहरूले उक्त उजुरी गरेका हुन् ।
यसरी उजुरी गर्नेहरूमा सप्तरी निर्वाचन क्षेत्र नं २ का सद्भावना पार्टीका नवलकिशोर साह, महोत्तरी निर्वाचन क्षेत्र नं ४ का सोही दलका सुरिताकुमारी साह, सद्भावना पार्टीकै महोत्तरी क्षेत्र नं २ का जानकीशरण साह, सिराहा–३ का एकीकृत नेकपा (माओवादी)का रामरिजन यादव र गोरखा निर्वाचन क्षेत्र नं २ का रविकला शर्मा न्यौपाने छन् ।
उनीहरूले ती क्षेत्रबाट जितेका एमाओवादीका अशोककुमार मण्डल, स्वतन्त्र उम्मेदवार चन्देश्वर झा, नेपाली कांग्रेसका किरण यादव, नेपाली कांग्रेसकै सीतादेवी यादव र एमाओवादीका हितराज पाण्डेबिरुद्ध उक्त उजुरी दिएका हुन् ।
उजुरीमा निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ ।
शुक्रबार सिराहा जिल्ला क्षेत्र नं ५ बाट जितेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतबिरुद्ध १० दिनभित्र संविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी भएको छ ।
उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अध्यक्ष दाहाल, निर्वाचन आयोग, सिरहा क्षेत्र नं ५ का निर्वाचन अधिकृत उद्धब भट्टराईलगायतलाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
निर्वाचनमा उक्ते क्षेत्रमा प्रतिस्पर्धी भएका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले अध्यक्ष दाहालका कार्यकर्ताबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउादै पुन: मतदान गर्न माग गरेका हुन् ।
प्रतिक्रिया