बहुपहिचानसहितको संविधान बनाउन जनताको अभिमत

Rameshowar-Fuyalयतिबेला म आफ्ना मतदाता र शुभचिन्तकसँग भेटघाटमा व्यस्त छु । जनताले गरेको विश्वास र उनीहरूले दिएको मतको सधैँ कदर गर्नुपर्छ भन्ने मान्यता म कहिल्यै बिर्सदिनँ । निर्वाचनको बेला भोट माग्न गएका अधिकांश ठाउँमा जिते पछि गएँ । जनतामा मप्रति ठूलो आसा र भरोसा छ, म उनीहरूको भरोसा पूरा गर्न चाहन्छु । म जहाँ–जहाँ गए जनताको अपार स्वागत पाएँ । जनता यतिबेला मलाई आफ्नो वर्गको प्रतिनिधि पाएकोमा धेरै खुसी छन् । जनताले यो निर्वाचनको परिणामलाई ढुंगा फुटेर निस्केको सिलाजित जस्तै मानेका छन् । मप्रति भरोसा गरेका छन् । बल्ल आफ्नो ठाउँ र देशको गरिमामय जिम्मेवारी पूरा गर्ने प्रतिनिधि पायौँ भनेर जनतामा विश्वास छ । एमाले र तिनका नेता कार्यकर्ताले बोलेको कुरा पूरा गर्छन् भन्ने उनीहरूलाई लागेको छ । हामी जनताको त्यो विश्वास सधैँका लागि कायम राख्न चाहन्छौँ ।
मलाई यहाँका जनताले विश्वास गरेर जिताउनुमा धेरै कारणहरू छन् । मेरो राजनीति सुरुवात यहिँबाट भयो । यहिँ जन्मेका कारण जे गरेँ यहिँका जनताका लागि, जनताकै बीचमा रहेर गरेँ । सुरुदेखिको राजनीति काठमाडौंको केन्द्र भागमा रहेर गरेँ । ०३६ को विद्यार्थी आन्दोलनदेखि यता जति पनि आन्दोलन भए सबैमा मेरो सक्रिय सहभागिता छ । धेरै आन्दोलनमा आफूले अगुवाई गरेँ । हरेक आन्दोलनमा यहिँका जनताको साथमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेँ । स्थानीय निकाएको प्रतिनिधि हुँदा यहाँको जनताको हितमा धेरै काम गरेँ । जतिबेला गाविस अध्यक्ष थिएँ, मैले जनताको जीवनमा परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरेँ । जनता हाम्रा लागि भगवान् हुन् । उनीहरूलाई खुसी पार्नु हाम्रो दायित्व हो । उचित समयमा उनीहरूले कामको मूल्यांकन गर्छन् भन्नेमा म विश्वस्त छु । विगतदेखि वर्तमानसम्म मैले गरेको काम जनताले प्रत्यक्ष देखेका छन् । यतिबेला मलाई तिनै कामको आधारमा मूल्यांकन गरेर जिताएका हुन् भन्ने लाग्छ ।
कठिन अवस्थामा पनि सधँै जनताको बीचमा रहेर आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । यहाँको जनतालाई लागेको रहेछ सधैँ जनताको हितमा काम गर्ने व्यक्तिले पहिलो संविधानसभा निर्वाचन कसरी हार्‍यो भन्ने । त्यतिबेला मेरो हारमा यहाँको जनतालाई धेरै पीडा र कुरीकुरी भएको रहेछ । उनीहरूले जति बेला यो भावना व्यत्त: गरे त्यतिबेला मलाई खुसी लाग्यो जनताले मलाई माया गर्दा रहेछन् भनेर । त्यहि कुरीकुरी मेटाउनका लागि यो निर्वाचनमा जनताले मलाई जिताए । विगतमा यो क्षेत्रबाट जसलाई जिताए त्यसमा जनताले पछुतो मानेको पाएँ । जनता सधैँ आफ्ना प्रतिनिधिले गरेको बाचा पूरा गरुन् भन्ने चाहन्छन् त्यो उनीहरूको स्वभाविक चाहना हो । तर, गएको संविधानसभामा के भयो त्यतिबेला जितेका प्रतिनिधिले के गरे गरेनन् सबैको अगाडि घामजस्तै छर्लंग छ । मैले यतिबेला त्यो विषयमा धेरै भन्नु पर्दैन । जनताले कस्ता प्रतिनिधि चाहँदा रहेछन यो निर्वाचनमा प्रष्ट भएको छ । जनताले स्वतन्त्र र निर्भय भएर मत दिने हो भने निर्वाचनमा साँच्चै आफ्नै जनप्रतिनिधि छान्दा रहेछन् भन्ने यो निर्वाचनले सबैलाई देखाएको छ ।
पहिलो संविधानसभाको निर्वाचन र यो निर्वाचनको वातावरणमा धेरै फरक छ । पहिलो संविधानसभाको निर्वाचन विनातयारी राजनीतिक दहलको हतारोमा भएको थियो । संसारमा पूर्णप्रजातान्त्रिक ब्यवस्था भएको देशहरूको इतिहास हेर्ने हो भने प्रष्ट हुन्छ । निर्वाचमा जानुअगाडि सशस्त्र विद्रोहबाट आएको समूहलाई पूर्णरूपमा नि:शस्त्र पारिन्छ । तर, यहाँ त्यसो भएन । एउटा पार्टी हतियारसहित निर्वाचनमा भाग लिने अरु नि:शस्त्र रूपमा भाग लिँदाको परिणाम पहिलो संविधानसभाले भोग्यो । ०५९ यताका हरेक निर्वाचनमा सहरी क्षेत्रमा मतदाता परिचयपत्र लागू भएको थियो । तर, पहिलो संविधानसभाको निर्वाचनमा मतदाता परिचयपत्रविना नै निर्वाचन गरियो । मतदाता परिचयपत्र बेगर निर्वाचनमा जानु भनेको निष्पक्ष निर्वाचनका लागि नभइ धाँधलीका लागि राजनीतिक दलहरूको सहमति थियो भन्दा हुन्छ । निर्वाचनमा हुन सक्ने धाँधलीको नजरअन्दाज एमाले र नेपाली कांग्रेसको नेतृत्वले गर्‍यो । जसको कारण पहिलो संविधानसभाको निर्वाचन दलहरूको मन्जुरीमा धाँधलीसहितको निर्वाचन भएको थियो । त्यतिबेला संसारमा कतै नहुने निर्वाचन नेपालमा भएको थियो । लामो समय युद्ध लडेर आएको पार्टी जोसँग हतियार थियो, उनीहरूको हतियार टुंगोनै नलगाई निर्वाचन गराइयो । जसको परिणाम पछि देखियो ।
मैले पहिलो निर्वाचनको परिणामसँगै केही सार्वजनिक कार्यक्रममा भनेँ, यो संविधानसभाले संविधान लेख्दैन भनेर । कतिलाई लाग्यो यो हारेको अभिव्यक्ति हो भन्ने । तर मैले देखेको थिएँ, पहिलो संविधानसभामा आएका प्रतिनिधिले आफ्नो दायित्व पूरा गर्दैनन् भनेर । मलाई पूरै आशंका थियो नेपालमा दोस्रोपटक पनि संविधानसभाको निर्वाचन हुनेछ भन्ने । पहिलो निर्वाचनवाट आएका अनुहार हेर्दा प्रष्ट थियो त्यसबाट संविधान लेखिँदैन भन्ने । त्यतिबेला जनताले अनेकौँ भ्रममा भोट हालेका थिए । जनतामा युद्धको त्रास मेटिएको थिएन । अनेकौँ आस र त्रास बीच निर्वाचन भएको थियो । र, के कस्ता मान्छेको उपस्थिति संविधानसभामा भयो, मैले भनिरहनु पर्दैन । त्यतिबेला संविधान बनेको भए पनि माओवादी छापको संविधान बन्ने सम्भावना थियो । तर, माओवादी छापको संविधान कसैलाई स्वीकार्य नहुने प्रष्ट थियो । जनताले एउटा मात्र शक्तिलाई निर्वाचित गराएका थिएनन् । जनताको मत त्यहाँ प्रकट हुँदा संविधान बन्ने अवस्था थिएन । तिनै आशंका र दृश्यका कारण म विश्वस्त थिएँ । फेरि संविधानसभाको निर्वाचन हुनेछ भनेर । मैले त्यसको तयारी गर्नुपर्छ । त्यसैले निर्वाचन हारेको दिनदेखि निर्वाचनको तयारीमा लागेको थिएँ । फलस्वरूप यतिबेला जनताले आफ्नो प्रतिनिधिको रूपमा मलाई निर्वाचित गरेका छन् ।
दोस्रो संविधानसभाको निर्वाचन निष्पक्ष भएको छ । सबै राजनीतिक दलको सहमतिमा बनेको सरकारले गरेको निर्वाचन हो । जसको कारण सरकारलाई धन्यवाद पनि दिनुपर्छ निर्वाचनमा निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण गर्‍यो । आफ्नो मतदाता परिचयपत्रको आधारमा जनताले मत दिँदा धाँधली भन्नु हास्यस्पद कुरा हो । जहाँसम्म एमाओवादीको कुरा छ, उनीहरूको मतदानको सबै प्रक्रियामा सहमति र सहभागिता थियो ।
मतगणना सुरु भएपछि उनीहरूलाई निर्वाचन धाँधली लाग्यो । मतगणनाको प्ररम्भिक नतिजा आफ्नो पक्षमा नदेखेपछि मतगणना प्रतिनिधिले आफूहरू हार्ने अवस्था आएपछि धाँधली भयो भनेर बहिष्कारको नाटक गरेर हिँडनु गैरजिम्मेवार मात्र होइन, अराजनीतिक चरित्र हो । बरू वैद्य माओवादीले जसरी निर्वाचन बहिष्कार गर्‍यो, त्यो राजनैतिक निर्णय थियो । उनीहरूले सुरुदेखि नै निर्वाचनको प्रक्रियामा असहमति जनाउँदै आएका थिए । मतदानमा भाग लिइसकेपछि जनताले दिएको मतको कदर एमाओवादीले गर्नुपर्छ । उनीहरूलाई जनताले २६ स्थानमा विजयी गराएका छन् । त्यो चाहिँ निष्पक्ष जायज, अरुले जित्नु चाहिँ धाँधली कस्तो अराजनीतिक चरित्र र नौटंकी सोच हो ? जनताले जुन स्थानमा राख्छन् त्यहीँ बस्नु पर्छ । यो निर्वाचन निष्पक्ष र धाँधलिरहित भएको छ । पहिलाजस्तो एउटै व्यक्तिले दर्जनौँपटक यो निर्वाचनमा भोट हाल्न पाएनन्, जसको मतदाता परिचयपत्र थियो उसैले भोट हाल्यो । निर्वाचनको प्रक्रियामा कुनै बुथमा समस्या थियो भने त्यो बुथमा पुनर्विचार गर्न सकिएला । सम्पूर्ण प्रक्रियालाई धाँधली भन्नु लोकतान्त्रिक पद्धतिको हिस्सेदारले मिल्दैन ।
एमाले यतिबेला दोस्रो शक्तिका रूपमा आएको छ । हाम्रो प्रमुख दायित्त्व संविधान हो । नेपाली जनताको चाहनामा कसैले धुलो छ्याप्ने काम गर्नु हुँदैन । नेपाली जनताको लामो चाहना जनताको संविधान, जनताको प्रतिनिधिले बनाउन पाउनुपर्छ भन्ने हो । त्यो अवसर पुन: दोहोरिएको छ । हामी नेपाली जनताको बीचमा निर्वाचनको बेला गरेका वाचा पूरा गर्न चाहन्छौँ । यो संविधानसभाबाट संविधान बन्नेमा विश्वास गर्ने आधारहरू प्रशस्त छन् । यतिबेला जनताले लोकतान्त्रिक शक्तिलाई ठूलो जिम्मेवारी दिएका छन् । एमाले र नेपाली कांग्रेस समप्रकारका शक्ति हुन् भनेर जनताले फैसला गरिदिएका छन् । जनताको मतले प्रष्ट पार्छ बहुपहिचानसंहितको संघीयता नेपालका लागि आवाश्यक छ । यो निर्वाचनले के प्रष्ट पारेको छ भने एकल जातीय पहिचानको संघीयता जनता चाहँदैनन् । जनताले एकल जातीय पहिचानलाई अस्वीकार गरेर बहुपहिचानसहितको संघीयता बनाउन एमाले र कांग्रेसलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । निर्वाचनको परिणामले सबैले बुझेका छन् अब सामाजिक सद्भाव कायमा गर्नेगरी संघीयता बनाउनु पर्छ । जसले सवल र समृद्ध राष्ट्र निर्माण गर्नेछ । हामी जनताले दिएको यहि अभिभारा पूरा गर्नेछौँ ।
अहिले निर्वाचनले एकपटक इतिहासतिर फर्केर हेर्न बाध्य बनाएको छ । ००७ सालको परिवर्तनपछि राजनीतिक परिवर्तन भयो तर आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन भएन । कोइराला परिवारका दुई भाइ मात्रिका र बिपी दुईतिर लागे । दुवैलाई समातेर तत्कालीन शासकले टाउको ठोकाउने काम गरे । फाइदा जनतालाई होइन, तत्कालीन शासकलाई भयो । जसले नेपालको प्रजातान्त्रिक आन्दोलन पछि पार्‍यो र ०१७ सालमा आएर तुहियो । ०४६ मा स्वर्गीय मदन भण्डारीको विचार र गणेशमान सिंहको बाहिरी नेतृत्वको कारण वामप्रजातान्त्रिक शक्तिको एकतामा परिवर्तन भयो । जनमत परिचालनमा मदनको भूमिका र बाहिरी नेतृत्वमा गणेशमानको नेतृत्व प्रभावकारी थियो । मदन त्यतिबेला चाहन्थे, वामप्रजातान्त्रिक सहकार्य लामो समयसम्म रहोस् भन्ने । तर, त्यो सहकार्य लामो समय टिक्न सकेन । त्यतिबेला कांग्रेसमा दम्भ बढ्यो । कांग्रेसभित्रको अनुउदारवादी शक्तिका कारण कांग्रेसवाम एकता भाँडिएको थियो । जसले गर्दा सहकार्य टुट्यो । यदि त्यतिबेला वामप्रजातान्त्रिक आन्दोलन अझअगाडि बढेको भए मुलुकले धेरै प्रगति गर्ने थियो । अब फेरि त्यो गल्ती गर्नुहुँदैन । अब मुलुकको समग्र विकासमा लाग्नु पर्छ । राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिका लागि दलहरूको भूमिका प्रभावकारी हुनुपर्छ ।
संविधान निर्माणको साथै अब जनतालाई परिचानल गर्न र स्थानीय निकायलाई सक्रिय बनाउनका लागि अन्तरिम भए पनि स्थानीय निकायको निर्वाचन गराउनु आवश्यक छ । त्यसमा महिला सहभागीता बढाउनु पर्छ । पचास प्रतिशतभन्दा बढी संख्यामा रहेको महिलालाई स्थानीय निकायमा बढीभन्दा बढी उठाउनु पर्छ । त्यसका लागि एमाले आफ्नो तर्फबाट तयार छ । अरु दलहरू पनि तयार हुने हो भने महिला सहभागिता बढाउन सकिन्छ ।
संविधान संविधानसभाबाट नै आउने हो । संविधानसभामा निर्वाचित र जिम्मेवार पार्टीहरूको प्रमुख भूमिकामा संविधान बन्ने कुरामा कुनै शंका छैन । कांग्रेस र एमालेसहित प्रजातान्त्रिक शक्तिको सहभागितामा संविधान बन्छ । दलहरूको आ–आफ्नो मुद्दा होलान् । सबैका आ–आफ्ना मुद्दा पूरा हँुदैन । मिल्न सक्ने बुँदाहरूमा सहमति गरेर अगाडि बढ्नुपर्छ । मुल मुद्दामा प्रजातान्त्रिक दलहरूको एकमत छ । त्यसैले योपटक संविधान अवश्य बन्नेछ । पहिलो संविधानसभाबाट संविधान नबन्नुको कारण एमाओवादीले एकल जातीय आधारमा संघीयता बनाउन खोज्नु हो । बहुपहिचानको आधारमा संघीयता बन्नुपर्छ । राष्ट्र प्रमुख को बन्ने भन्ने सवालमा कांग्रेस र एमालेबीच फरक धारणा छ । त्यसमा पनि छलफल गर्नुपर्छ । एमाले आफू लचिलो हुँदै अरुलाई पनि लचकतामा ल्याएर अगाडि बढ्न तयार छ । सके सबैको सहमतिमा सर्वसम्वतले संविधान बन्ने छ । त्यसो हन सकेन भने दुईतिहाइको आधारमा संविधान बन्छ । जनताले दिएको मतको आधारमा जनतालाई संविधान दिनु सबैको साझा दायित्व हो । नेपाली जनताको फैसला मान्दिन भन्ने आँट कसैसँग छैन । निर्वाचित संविधानसभाले लोकतान्त्रिक संविधान बनाउने छ । यसमा जनताले शंका गर्नु पर्दैन ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया