सत्याग्रह नाटक : गेसो

काठमाडौं, २० मंसिर । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा सैनिकलाई बेलायती न्यायालय र सदनले समान अधिकार दिने पक्षमा फैसला भइसकेको अवस्थामा सत्याग्रहको नाममा भएको आन्दोलनको औचित्य नरहेको जनाएको छ ।

गेसोले बुधबार विज्ञप्तिमार्फत सत्याग्रहको नाममा ज्ञानराज राईलाई नाटकीय तरिकाले अनशन बसाएर सर्वदलयीय उच्चस्तरीय छानबिन समिति गठन गरी तोडाएको दाबी गरेको छ । न्यायालय र सदनले गोरखालाई समान अधिकार दिने पक्षमा फैसला गरेर उपलब्धि प्राप्त भएको उल्लेख गर्दै गेसोले सहमतिअनुसार बाँकी कार्यान्वयनको प्रक्रियामा रहेका बेला छानबिन समिति गठन गरिनु पूर्वसहमतिमाथि पनि गम्भीर षड्यन्त्र हुँदै गरेको निष्कर्ष निकालेको जनाएको छ । बेलायती रक्षा मन्त्रालय र गेसोबीच भएको पूर्वसहमति र समानताको नीतिलाई नै निस्तेज पार्न समिति गठन गरिएको गेसोको ठहर छ ।
‘२ सय वर्षदेखि अन्यायमा पारिएका गोरखा सैनिकको अधिकारका निम्ति बेलायती सरकारद्वारा समान अधिकार दिने नीति आइसकेको अवस्थामा ज्ञानराज राईलाई नाटकीय ढंगले जसरी अनशन बस्न लगाइयो,’ गेसो सभापति पदमबहादुर गुरुङ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो गोरखा ब्रिगेडका पूर्वजर्नेल काउन र मार्क डडलको योजनामा भएको हो भन्ने गेसोको ठहर छ ।’
बेलायती रक्षा मन्त्रालयले अप्रिलमा घोषणा गर्न लागेको सुविधा र समानताको नीतिलाई नै निस्तेज पार्न राईलाई अनशन बसाएर नाटकीय रुपमा तोडाएको गेसोले दाबी गरेको छ । यस षड्यन्त्रविरुद्ध उच्चस्तरीय छानबिनसमक्ष उजुरी दिने सभापति गुरुङले जनाएका छन् । बेलायतमा गोरखाहरूले बेलायती समकक्षी समानको अधिकार पाउनुपर्ने भन्दै गोरखा सत्याग्रह अभियान सुरु गरिएको थियो । उक्त अभियानमा पूर्वगोरखा सैनिक ज्ञानराज राई १५ दिनसम्म अनशन बसेका थिए ।

प्रतिक्रिया